समाचार

सुनकोशीका  दुई सय १० कृषकलाई मिनिटिलर वितरण

By खबरहब

June 01, 2024

चौतारा– सुनकोशी गाउँपालिकाले ५० प्रतिशत अनुदानमा गाउँपालिकाका दुई सय १० कृषकलाई मिनिटिलर वितरण गरेको छ । 

कूल २८ हजार आठ सयमध्ये पालिकाले उक्त रकमको ५० प्रतिशत १४ हजार चार सय उपलब्ध गराएको हो । 

कृषकले १४ हजार चार सय पालिकाको खातामा जम्मा गराएपछि कृषकलाई मिनिटिलर उपलब्ध गराइएको गाउँपालिकाका अध्यक्ष टपिन्द्र तिमिल्सिनाले जानकारी दिए। उनका अनुसार गाउँपालिकाले मिनिटिलर खरिद गर्न विद्युतीय प्रणालीमार्फत ‘इ-बिडिङ’ (बोलपत्र आह्वान) गरेको थियो । सबैभन्दा कम रकममा उपलब्ध गराउने स्मार्ट एग्रो सेलुसन प्रालिलाई मिनिटिलर खरिद गर्न दिने पालिकाले निर्णय गरेको थियो ।

बजारमा न्यूनतम  ४० देखि ५० हजारसम्म पर्ने मिनिटिलर पालिकासँगको सहकार्यमा १४ हजार दुई सयमा पाउँदा उत्साहित भएको सुनकोशी–१ का कृषक प्रेमप्रसाद न्यौपानेले बताए।  

यस वर्ष पालिकाले समूहलाई पहिलो प्राथमिकतामा राखेर मिनिटिलर अनुदानमा दिने भनेकामा समूह बाहिरबाट पनि माग आएकाले आवेदन दिने सबैलाई उपलब्ध गराइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहनकुमार श्रेष्ठले बताए।