काठमाडौं– नेकपा एमाले का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटप्रति असन्तुष्टि जनाएका छन् ।
सत्तारुढ प्रमुख घटक दल एमाले अध्यक्ष ओलीले सत्तारूढ दलहरूसँग परामर्श नगरी बजेट ल्याइएको भन्दै असन्तुष्टि जनाए ।
शनिबार संसद् भवनको ल्होत्से हलमा आयोजित पार्टी संसदीय दलको बैठकलाई सम्बोधन गर्दै ओलीले छलफल नहुँदा यो अर्थमन्त्रीको बजेट हो कि, अर्थमन्त्री भएको पार्टीको बजेट हो थाहा नभएको बताए ।
उनले भने, ‘दलहरूसँग छलफल नहुँदा यो अर्थमन्त्रीको बजेट हो कि, अर्थमन्त्री भएको पार्टीको बजेट हो की ? जस्तो अलि बढ्ता देखिन गएको छ। र रकमको बाँडफाँड पनि त्यस्तै गरेर अलि बढी एकातिर ढल्किएको खालको जस्तो देखिन्छ।’
उनले सरकारमा सहभागी दलहरूसँग परामर्श गरेर छलफल गरेर बजेट आएको भए धेरै राम्रो हुने समेत बताए ।
उनले अर्थमन्त्री वर्षमान पुनले माओवादी केन्द्रप्रति ढल्किएको बजेट ल्याएको समेत दाबी गरे । संसद्मा आइतबार देखि आगामी आर्थिक वर्षको बजेटमाथि छलफल हुँदैछ। तर ओलीले आफ्नो पार्टीले यो बजेटलाई समर्थन गरेर पारित गर्ने समेत बताए ।
ओलीले भने, ‘एउटा चाहिँ हामीमा कुनै दुबिधा हुनुहुँदैन– यस बजेटलाई हामी समर्थन गर्छौँ । र पारित गर्छौँ। यसको मतलब बजेटमा रहेका कुनै कमी पनि औँल्याउन हुँदैन भन्ने होइन।’