अन्तर्राष्ट्रिय

लोकसभाको सातौं चरणको निर्वाचनमा ५८.३४ प्रतिशत मतदान

By खबरहब

June 01, 2024

नयाँदिल्ली – लोकसभा चुनावको सातौं र अन्तिम चरणको मतदान जुन १ मा सात राज्य र केन्द्र शासित प्रदेश चण्डीगढ़मा बेलुका छ बजे सम्म ५८.३४ प्रतिशत मतदान भएको निर्वाचन आयोगले शनिबार जनाएको छ ।

पश्चिम बङ्गालमा सबैभन्दा बढी ६९.८९ प्रतिशत, बिहारमा ४८.८६ प्रतिशत, चण्डीगढ़मा ६२.८० प्रतिशत, ओडिशामा ६२.४६ प्रतिशत, पञ्जाबमा ५५.२० प्रतिशत , उत्तर प्रदेशमा ५४ प्रतिशत र हिमाचल प्रदेशमा ६६.५६ प्रतिशत मतदाताले मतदान गरेको आयोगले जनाएको छ ।

सात राज्य र केन्द्र शासित प्रदेश चण्डीगढका ५७ संसदीय निर्वाचन क्षेत्रका लागि शनिबार बिहान ७ बजे अन्तिम चरणको मतदान सुरु भएको थियो ।

आयोगका अनुसार करिब पाँच करोड २४ लाख पुरुष, चार करोड ८२ करोड महिला र तीन हजार ५७४ जना तेस्रो लिङ्गी मतदाता सहित १० करोड छ लाखभन्दा बढी मतदाताहरू लोकसभा चुनावको सातौं चरणमा आफ्नो मताधिकार प्रयोग गर्न योग्य रहेका थिए ।

पञ्जाबका १३ तथा हिमाचल प्रदेशका छ वटा सीटमा सबै संसदीय क्षेत्रहरूमा शनिबार अन्तिम चरणमा मतदान भएको छ, साथै, ओडिशा राज्य विधान सभाको बाँकी ४२ विधानसभा निर्वाचन क्षेत्रहरूको लागि पनि मतदान भएको छ ।

सात चरणको लोकसभा चुनावको लामो प्रचारको क्रममा प्रधानमन्त्री नरेन्द्र मोदीले ७५ दिनमा २०० भन्दा बढी प्रचार कार्यक्रमहरूमा सहभागिता जनाएका थिए । यसमा प्रदर्शन र चुनावी सभाहरू पनि समावेश गरिएको छ ।

त्यसैगरी, कांग्रेस नेता राहुल गान्धीले लोकसभा चुनावमा न्याय सम्मेलन र न्याय मञ्चजस्ता १०० भन्दा बढी चुनावी सभा र सार्वजनिक अन्तरक्रियामा सहभागिता जनाए ।

लोकसभा चुनावको अघिल्लो छ चरणहरूको लागि मतदान अप्रिल १९, अप्रिल २६, मे ७ , मे १३, मे २० र मे २५ मा भएको थियो । आन्ध्र प्रदेश, सिक्किम र अरुणाचल प्रदेशमा पनि विधानसभा चुनावहरू भएका छन् । ओडिशामा पनि पछिल्लो चार चरणमा लोकसभा र विधानसभाको चुनाव एकैसाथ भएको छ ।