अटो

सवारीसाधन किन्न कुन बैंकको कति ब्याजदर ?

By खबरहब

September 01, 2024

काठमाडौं– नाडा अटो शो मंगलबारदेखि भृकुटीमण्डपमा जारी छ । अटो शोको आज अन्तिम दिन हो । अन्तिम दिन पनि अटो शोमा राखिएका चारपाङ्ग्रे र दुईपाङ्ग्रे सवारीसाधन अवलोकन र खरिद गर्न विशेषगरी मध्यम वर्गका मानिसहरू झुम्मिएका छन्‌ ।

यो शोमा चारपाङ्ग्रे सवारीका २४ ब्राण्ड, दुइपाङ्ग्रे सवारीका १९ वटा र हल्का सवारीका १२ वटा ब्रान्डहरू शोमा उपलब्ध छन् । बैंक तथा वित्तीय संस्थाहरूले पनि यो शोमा सहभागिता जनाएका छन् । विभिन्न सात बैंक तथा वित्तीय संस्थाले शोमा स्टल नै राखेका छन् ।

यतिखेर बैंकहरूमा तरलता थुप्रिएको छ । कर्जा प्रवाह चलायमान हुन सकेको छैन । ब्याजदर घटाउँदा पनि सोचेजस्तो कर्जा प्रवाह नभएपछि बैंकहरूले विभिन्न क्षेत्रहरूलाई प्राथमिकतामा राखेका छन् ।

कर्जा प्रवाह बढाउन अटो क्षेत्रमा पनि बैंकहरूले विशेष सुविधा सहितका स्कीम ल्याएका छन्‌ । बैंकहरूले विशेषगरी विद्युतीय सवारीसाधन (इलेक्ट्रिक भेहीकल-ईभी) खरिदमा कर्जाका विषेश योजनाहरू सार्वजनिक गरेका छन् ।

ग्लोबल आइएमई बैंक

ग्लोबल आइएमई बैंकले इलेक्ट्रिक गाडी किन्नेहरूका लागि विशेष लोन (कर्जा) उपलब्ध गराउने भएको छ । बैंकले ईभी किन्नेहरूका लागि ७.९९ प्रतिशतमा कर्जा उपलब्ध गराउने भएकोे हो ।

यो भन्दा अघि बैंकले जुनसुकै सवारी खरिदमा पनि १२.४१ प्रतिशतसम्मको ब्याजदरमा कर्जा उपलब्ध गराएका थियो । बैंकका अनुसार ईभी खरिद गर्न लिएको कर्जाको साँवाब्याज पाँच वर्षभित्र तिर्नेका हकमा स्थायी ब्याजदर ७.९९ प्रतिशत तोकिएको हो । यसैगरी पाँच वर्ष भन्दा बढी अवधिमा ऋण तिर्ने गरी ईभी किन्न ग्राहकलाई ८.४९ प्रतिशतमा कर्जा उपलब्ध हुने बैंकले जानकारी दिएको छ ।

बैंकले ग्रीन ड्राइभ ईभीमा एक्सक्लुसिभ अटो लोनको ब्याजदर कम तोकेको हो । यसैगरी इन्धनबाट चल्ने गाडी किन्न चाहने ग्राहकलाई बैंकले सुरुवाती ८.४९ प्रतिशत ब्याजदरमा कर्जा उपलब्ध गराउनेछ । यो कर्जाको अवधि पाँच वर्षभन्दा कम हुनेछ । पाँच वर्षभन्दा बढी अवधिका लागि पेट्रोलियम कार किन्न ऋण लिने ग्राहकलाई बैंकले ९.४९ प्रतिशत ब्याजदर तोकेको छ ।

नबिल बैंक

नबिल बैंक लिमिटेडले पनि न्यूनतम ८.२५ प्रतिशत ब्याजदरमा अटो लोन उपलब्ध गराउने भएको छ । बैंकले नाडा अटो शो २०२४ लाइ लक्षित गरी यो विशेष योजना सार्वजनिक गरेको हो ।

यसअघिसम्म बैंकले न्यूनतम ८.२५ प्रतिशतदेखि १०.६३ प्रतिशतसम्म ब्याजदरमा सवारी कर्जा प्रवाह गरिरहेको थियो । यस योजना अन्तर्गत पाँच वर्षका लागि ८.२५ प्रतिशत र सात वर्षका लागि ८.४९ प्रतिशत स्थिर ब्याजदर योजना ल्याइएको बैंकले जनाएको छ ।

सानिमा बैंक

सानिमा बैंकले सात वर्षका लागि ८.४९ प्रतिशतदेखि ब्याजदरमा नै अटो लोन उपलब्ध गराउने भएको छ । बैंकले १०.५५ प्रतिशत ब्याजदरमै सवारी कर्जा उपलब्ध गराउने घोषणा गरेको हो ।

यसअघिसम्म बैंकले न्यूतनतम ९.३३ प्रतिशतदेखि ११.३३ प्रतिशतसम्मको ब्याजदरमा सवारी कर्जा प्रवाह गरिरहेको थियो । बैंकले सात वर्षका लागि स्थिर ब्याजदरमा ८.४९ प्रतिशत ब्याजदमा कर्जा दिने जनाएको छ ।

बैंकले परिवर्तित ब्याजदरमा भने ८.५५ प्रतिशतको आधार दरमा २ प्रतिशत प्रिमियम जोडेर १०.५५ प्रतिशत ब्याजमा कर्जा उपलब्ध गराउनेछ ।

लक्ष्मी सनराइज बैंक

लक्ष्मी सनराइज बैंकले ईभी खरिदकर्तालाई सात वर्षसम्मका लागि ८.९९ प्रतिशत स्थित ब्याजदरमै कर्जा दिने जनाएको छ । यसअघि सवारीसाधन कर्जामा बैंकले न्यूनतम ८.९९ प्रतिशतदेखि अधिकतम ११.७० प्रतिशतसम्म ब्याजदर लिइरहेको थियो ।

बैंकले ०.५ प्रतिशत सेवा शुल्क लिने जनाएको छ । त्यस्तै; इन्धन सवारीमा ८.२५ प्रतिशतको आधार दरमा एक प्रतिशत प्रिमियम थप गरेर ९.२५ प्रतिशत ब्याजमा कर्जा दिने बैंकले जनाएको छ ।

माछापुच्छ्र्रे बैंक

माछापुच्छ्र्रे बैंकले नाडा अटो शो लक्षित चारपाङ्ग्रे सवारीसाधन खरिद गर्न नौ प्रतिशत ब्याज अफर गरेको छ । हालसम्म सवारी कर्जामा यस बैंकले न्यूनतम ८.५० प्रतिशतदेखि अधिकतम ११ प्रतिशत ब्याजदर लिइरहेको थियो ।

बैंकले आफ्नो बेसरेटमा १ प्रतिशत मात्रै प्रिमियम थप गरेर ब्याजदर निर्धारण गरेको हो । हाल बैंकको बेसरेट ८ प्रतिशत छ ।

हिमालयन बैंक

हाल भइरहेको नाडा अटो शो–मा हिमालयन बैंकले ९.५१ प्रतिशतसम्म कर्जा उपलब्ध गराउने बताएको छ ।

बैंकले विद्युतीय सवारीका लागि ८.८३ प्रतिशतको आधारदरमा ०.५३ प्रतिशत प्रिमियम जोडेर ९.३६ प्रतिशतमा र इन्धन सवारीका लागि ०.६५ प्रतिशत प्रिमियम जोडेर ९.५१ प्रतिशत ब्याजदरमा कर्जा दिने जनाएको छ ।

बैंकले ०.५ प्रतिशत सेवा शुल्क लिने जनाएको छ । नेपाल इन्भेस्टमेन्ट मेगा बैंक नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले ईभीमा आधार दरमा १ प्रतिशत प्रिमियम थप गरी कर्जा दिने योजना ल्याएको छ । सात वर्षको अधिकतम अवधि रहेको कर्जामा ०.५ प्रतिशत सेवा शुल्क रहेको छ ।

५० लाखभन्दा सानो कर्जामा भने कर्जा अवधि पाँच वर्षसम्म मात्रै रहेको छ । इन्धनबाट चल्ने गाडीमा भने आधार दरमा दुई प्रतिशत प्रिमियम रहेको बैंकले जनाएको छ । यसमा पनि सेवा शुल्क भने ०.५ प्रतिशत छ ।

कृषि विकास बैंक

कृषि विकास बैंकले ब्याजदर प्रिमियममा ८२ प्रतिशत र सेवा शुल्कमा ३३ प्रतिशतको छुट योजना ल्याएको छ । सवारी खरिदमा बैंकले ८० प्रतिशतसम्म लगानी गर्नेछ ।

बैंकले नाडा अटो शोमा प्रिमियममा ८२ प्रतिशत छुटसहित ७.९९ प्रतिशत ब्याजदरमा कर्जा योजना ल्याएको जानकारी दिएको हो । स्थिर र अस्थिर दुवै किसिमबाट कर्जा लिन सकिने सुविधा घोषणा गरेको बैंकले कर्जा चुक्ता अवधि सात वर्ष तोकेको छ ।

महालक्ष्मी विकास बैंक

अटो शोमा महालक्ष्मी विकास बैंकले एक मात्र विकास बैंकको रूपमा सहभागिता जनाएको छ ।

यस बैंकले अटो कर्जामा वार्षिक ९.९९ प्रतिशत ब्याजदर घोषणा गरेको छ ।