स्वास्थ्य

कसरी हुन्छ पित्तथैलीमा पत्थरी ?

By पवन मुडभरी

July 01, 2024

पछिल्लो समय नेपालमा पित्तथैलीमा पत्थरी हुने बिरामीको संख्या बढ्दो छ। प्रायः ४० वर्ष पुगेपछि यो समस्या धेरै देखिने गरेको छ। कतिपय सानो उमेरका मानिस पनि यो समस्या लिएर अस्पताल धाउने गर्छन्। मोटोपन भएका र महिलामा यो समस्या धेरै देखिने गरेको छ। वंशानुगत कारणले पनि यस्तो समस्या देखिने गरेको चिकित्सक बताउँछन्। नेपाल, भारतको, बिहार, उत्तरप्रदेश, पाकिस्तान, बंगलादेश लगायतका भेगमा पित्तको पत्थरी आम समस्या भएको विभिन्न अनुसन्धानमा उल्लेख छ। यी भेगको हावापानी, खानपान, मसला लगायत कारणले पित्तको पत्थरीको समस्या धेरै रहेको विज्ञ बताउँछन्। पित्तमा पत्थरी के कारणले हुन्छ ? यसका लक्षण के के हुन् ? यसको उपचार विधि के छ ? यिनै विषयमा केन्द्रित भएर ओम अस्पतालमा कार्यरत जनरल सर्जन डा. रामचन्द्र भण्डारीसँग गरिएको कुराकानी :

पित्तमा पत्थरी के कारणले हुने हो ? यसको मुख्य कारण हाम्रो खानपान र शारीरिक व्यायामको कमी नै हो। चिल्लो खानेकुरा धेरै खानाले मोटोपनको समस्या बढ्दो छ। यसले पनि पित्तमा पत्थरी हुने सम्भावना रहन्छ। त्यस्तै थोरै वंशाणुगत कारणले पनि पित्तमा पत्थरी हुने गर्दछ। त्यस्तै मधुमेह, धैरै तौल घट्नु या बढ्नु, निरन्तर व्रत बस्नु पनि जोखिम हुन्छ। गर्भनिरोधक चक्कीको बढी सेवन गर्ने महिलामा पनि यसको जोखिम उत्तिकै हुन्छ।

पित्तमा पत्थरी भएको कसरी थाहा पाउने ? कस्ता लक्षण देखिन्छन् ? पेटको माथिल्लो भागको दायाँतर्फ निरन्तर दुख्यो भने शंका गर्न सकिन्छ। एउटा खानासँग सम्बन्धित हुन्छ। जस्तै चिल्लो खाना खाँदा दुख्ने, पोल्ने, घोचेको जस्तो अनुभव हुने हुन्छ। यसको अर्को लक्षण भनेको ग्यास्ट्रिकसँग मिल्दोजुल्दो हुन्छ। जस्तै मुखबाट अमिलो पानी आउने, मुटुको भागभन्दा मुनी दुखाइ हुने हुन्छ। दायाँतर्फको कोखामा दुखाइ महसुस हुन्छ। कसैलाई देब्रे कोखामा पनि दुखाइ हुन्छ। पेट फुलेजस्तो महसुस हुन्छ। खाना खाएपछि धेरै पेट दुखाइ हुन्छ। खानापछि धेरै दुखाइ भयो भने पत्थरी नै सम्झिँदा हुन्छ। चिल्लो खानेकुरा खाँदा पेट ढुस्स हुन्छ। खाना खाएपछि पखाला पनि लाग्नसक्छ ।

 

नेपालमा अहिले पित्तको पत्थरीको अवस्था के छ ? डेटाको हिसाबमा हेर्ने हो भने पछिल्लो समय अप्रेशन हुने मध्येमा सबैभन्दा धेरै पित्तको पत्थरी हो। पेट दुख्ने समस्या लिएर आउने अधिकांश बिरामीमा पित्तमा पत्थरी देखिने गरेको छ।

पित्तको पत्थरी तथा मिर्गौला र पिसाब नलीको पत्थरीमा के फरक छ ? मिर्गौलामा हुने पत्थरी एक पटक भयो भने जती उपचार गर्दा पनि फेरि बल्झिरहने सम्भावना धेरै हुन्छ। पानी धेरै खाँदा कुनैकुनै पिसाबबाटै जाने पनि गर्दछ। तर पित्तमा बनेको पत्थरी भने जाँदैन। यसको उपचारका लागि अप्रेशन नै गर्नुपर्ने हुन्छ। पित्तको पत्थरी तल नलीमा झर्दा झनै समस्या निम्त्याउँछ। त्यसैले पत्थरी बन्ने कारण र उपचार पनि फरक हुन्छ।

मिर्गौलामा हुने पत्थरी एक पटक भयो भने जती उपचार गर्दा पनि फेरि बल्झिरहने सम्भावना धेरै हुन्छ।

जोखिम धेरै कुन पत्थरीमा हुन्छ ? जोखिम त उस्तै हो। मिर्गौलामा ठुलो ढुङ्गा छ तल झर्यो भने अप्रेशन गरेर निकाल्नुपर्ने हुन्छ भने सानो छ भने आफै पनि जानसक्छ। तर पित्तको पत्थरी आफै पनि जाँदैन र तल नलीमा झर्दा धेरै दुःख दिन्छ। त्यसैले पित्तको पत्थरीमा अलि बढी जोखिम रहेको छ।

पत्थरीकै कारण पित्तको क्यान्सर हुने सम्भावना कति हुन्छ ? पित्तको पत्थरी नेपालमा आम समस्या भएका कारण एउटा जोखिम बढ्दै गएको हो। तर पत्थरीकै कारण क्यान्सर भने हुँदैन।

महिलामा बढी नै देखिन्छ भनिन्छ , यसको कारण के हो ? ४० वर्ष कटेका विवाहित महिला जसको बच्चा भइसकेका हुन्छन्। उनीहरुमा पोटोपन बढ्दै जान्छ र एस्ट्रोजेन हर्मोनको कारणले गर्दा पनि महिलामा बढी देखिने गरेको छ।

यसबाट बच्न के गर्ने ? खानपान र जीवनशैली परिवर्तन गरेर पित्तथैलीको पत्थरीबाट बच्ने सम्भावना धेरै हुन्छ। बढी चिल्लो र क्यालोरी भएका खाना धेरै खानु हुँदैन। खाने नै भए कम खाने अनि नियमित व्यायाम गर्ने गर्दा धेरै फाइदा हुन्छ। जंक फुड पनि सकेसम्म नखानु नै लाभदायक हुन्छ। त्यस्तै धेरै व्रत नबस्ने र पानी धेरै खाने गर्नुपर्छ। यस्ता कुरामा ध्यान दियौं भने केही हदसम्म पित्तमा हुने पत्थरीबाट बच्न सकिन्छ। त्यस्तै यसमा थोरै वंशाणुगत कारणले पनि असर गर्ने भएकाले त्यसको उपाय भने केही छैन।

खानपान र जीवनशैली परिवर्तन गरेर पित्तथैलीको पत्थरीबाट बच्न सकिन्छ । बढी चिल्लो र क्यालोरी भएका खाना धेरै खानु हुँदैन।

यसको उपचार विधि के छ ? पहिले पहिले औषधी दिएर पनि हटाउने प्रयास गरिएको थियो। तर त्यो त्यति प्रभावकारी भएन। औषधी लामो समय खानुपर्ने र फेरि पनि पत्थरी बल्झिने समस्या भयो। त्यसैले यसको प्रभावकारी उपचार भनेको अप्रेशन नै हो। एउटा हो चिरेर गर्ने अप्रेशन र अर्को ल्याप्रोष्कोपी विधिबाट गर्ने अप्रेशन। पछिल्लो भनेको दुर्बिनबाट सानो सानो प्वाल बनाएर अप्रेशन गर्ने विधि हो। अहिले पित्तको पत्थरी लगायत धेरै अप्रेशनमा प्रभावकारी मानिएको छ।