जीवनशैली

सानै उमेरमा फुल्ने कारण र घरेलु उपचार विधि

By खबरहब

July 01, 2024

काठमाडौं– स्त्री तथा पुरुष दुवैका लागि कपाल सुन्दर हुनु राम्रो मानिन्छ । बदलिँदो जीवनशैली र बदलिँदो मौसमका कारण अधिकांश मानिस कपाल झर्ने र फुल्ने समस्याबाट ग्रसित छन् ।

सामान्य अर्थमा कपाल फुले बुढ्यौली लाग्यो भनेर बुझिन्छ । तर आजकल कपाल सेतो हुदैमा मानिस बुढो हुदैन । आजभोलि कम उमेरमै कपाल फुल्नु धेरैको साझा समस्या हो ।

पुरुषमा पहिला देखिने सेतो कपाल कन्चट र महिलाहरुमा टाउकोको दायाबायाँ हुन्छ ।

कपाल झर्नबाट जोगाउन र उमेरमा नै फुलेको कपाल कालो बनाउन मानिस विभिन्न उत्पादन प्रयोग गर्छन् । तर यी उत्पादनमा केमिकल हुन्छन् । जसले कपाललाई हानी पुर्‍याउन सक्छ ।

वर्तमान समयमा कपालमा विभिन्न प्रकारका समस्याहरूले जन्म लिइरहेका छन् । कुनै प्रकारका सङ्क्रमण बढी रसायनयुक्त खानाको प्रयोग, अप्रमाणित स्याम्पुको प्रयोग आदि जस्ता विभिन्न कारणहरूले कपालमा अनेक रोगहरू उत्पन्न हुन्छन् ।

कपाल सानै उमेरमा फुल्ने कारणहरु हुनसक्छ :

१. सानै उमेरमा कपाल फुल्नुमा पोषणको कमी हुन सक्छ । २. भिटामिन डी, बी १२, जिङ्क, आइरन, क्याल्सियमको कमीले पनि कपाल फुल्न सक्छ । ३. शरीरमा कुनै दीर्घरोग भएमा पनि उमेर अगावै कपाल फुल्न सक्छ । ४. अत्यधिक वा नियमित औषधीको सेवनले पनि कपाल फुल्न सक्छ । ५. रक्त अल्पता, थाइराइड तथा हर्मोनमा परिवर्तनले पनि चाडैँ कपाल फुल्दछ । ६. पेटको गडबडी वा पेटको रोगका कारणले पनि सानै उमेरमा कपाल फुल्दछ । ७. मदिरा, धुमपान, जंक फूड आदिको लामो सेवनले पनि सानै उमेरमा कपाल फुल्दछ । ८. जथाभावी रासायनिक पदार्थ, प्रदूषणले पनि उमेर अगावै कपाल फुल्दछ । ९. मानसिक तनाव अर्थात डिप्रेसनका कारणले पनि चाडैँ कपाल सेतो हुन सक्छ ।

कपाल फुल्ने समस्याबाट छुटकारा पाउन निम्नानुसारको उपचार पद्धति अपनाउनु जरुरी हुन्छ ।

घरेलु उपचार विधि

– समुद्रफललाई पानीमा पिसेर तीन महिनासम्म कपालमा लगाउनाले कपाल कालो हुन्छ ।

– इन्द्रायणको बिउको वेल सेतो कपालमा लगाउनाले कपाल कालो हुन्छ ।

– हर्रो, बर्रो, अमला निमको पात, मृगराज आदि सबैलाई बराबर मात्रामा लिई कालो गाईको पिसाबमा मिलाई पिसेर केही समयसम्म निरन्तर टाउकोमा लगाउनाले कपाल कालो हुन्छ ।

– शरदऋतुको समयमा छ भने हरियो अमला टिपेर १०/१२ वटा अमलाको भित्री माग फाली पिस्नुहोस् । पिसिसकेपछि उक्त धुलो टाउकोमा लगाउनाले कपाल कालो हुन्छ । यसलाई २/३ घण्टासम्म टाउकोमा लगाई साबुन प्रयोग नगरी नुहाउनुहोस् ।

– ताजा ओखरलाई दूधमा पकाई उक्त दूधबाट मथेर घ्यू निकाल्नुहोस् उक्त घ्यूलाई कपालमा लगाउनाले कपाल कालो हुन्छ ।

कपाल फुलेको खासै कुनै उपचार हुँदैन । तर कारण जानेर उपचार गरेमा यो समस्या केहि हदसम्म कम हुनसक्छ । साथै कपालमा केमिकलयुक्त हेयर कलरको प्रयोग गर्नु हुदैन ।

त्यस्तै भिटामिन डी, भिटामिन बी १२, जिङ्क, आइरन, क्याल्सियम आदिको कमी हुन दिनु हुदैन । साथै सन्तुलित आहार तथा एन्टिअक्सिडेन्टयुक्त खानेकुरा खाने, गुणस्तरयुक्त सावुन तथा स्याम्पुको प्रयोग गरेमा कपाल फुल्नबाट बच्न सकिन्छ ।

साभार : ‘घरेलु आयुर्वेदिक उपचार’ पुस्तक