देश/प्रदेश

रोल्पा जीप दुर्घटना : सात जनाको मृत्यु, सात घाइते (अपडेट)

By खबरहब

July 01, 2024

रोल्पा – रोल्पाको माडी गाउँपालिका–४ परेवाछहरामा जीप दुर्घटना हुँदा ज्यान गुमाउनेको संख्या सात पुगेको छ ।

रोल्पाको घर्तीगाउँबाट तालावाङतर्फ जाँदै गरेको लु १ ज ३२५२ नम्बरको जीप माडी गाउँपालिका वडा नं ४ स्थित परेवा छहरामा दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार अन्य सात जना घाइते भएका छन् । मृतकको सनाखत भइसकेको छैन । जीप सडकबाट करीब चार सय मिटर तल खसेको छ ।

घाइतेहरूलाई स्थानीय स्वास्थ्य चौकी घर्तीगाउँ पुर्याइएको छ । घटनापछि निरन्तर पानी परिरहेकाले उद्दारमा असहज भएको प्रहरीले बताएको छ ।