मुख हाम्रो शरीरको महत्वपूर्ण भाग हो । मुखको भाग सधैँ खुला हुन्छ । मीठो-नमिठो खाने, बोल्ने र सुन्दर देखिनेदेखि हरेक कुराहरूमा महत्वपूर्ण भूमिका हुने भएकाले मुखको स्वास्थ्यमा सजगता अपनाउनुपर्ने चिकित्सक बताउँछन् । कुनै दुर्घटनाका कारण होस् या जन्मजातै अनुहार तथा मुखमा आउने धेरैजसो समस्याको समाधान यस म्याग्जिलो फेशियल सर्जरीबाट गरिन्छ । यद्यपि, धेरैलाई भने यो शल्यक्रियाबारे जानकारी नहुँदा समस्या भोग्दै बसिरहेका हुन्छन् । म्याग्जिलो फेशियल सर्जरीबारे सर्जन डा. सुवास घिमिरेसँग गरिएको कुराकानी:
म्याग्जिलो फेशियल सर्जरी कस्तो उपचार पद्धति हो ? मुख तथा अनुहारको बाहिरी भाग जस्तै- आँखाको नानी बाहेक, नाकको प्वाल भन्दा बाहिरको भाग, कानको बहिरी भाग र घाँटीको बाहिरी भागको उपचार गर्ने पद्धति नैए म्याग्जिलो फेशियल सर्जरी हो ।
अनुहारका कस्ता-कस्ता समस्यामा यो सर्जरीको आवश्यकता पर्ने हो ?
म्याग्जिलो फेशियल सर्जरी उपचारलाई हामीले तिन भागमा बाँडेका छौं । १. जन्मिँदै देखिने समस्याहरू– ओठ काटिएको, तालुखुँडे, आँखीभौँ एक भागमा नहुनु, नाकको एउटा प्वाल नहुनु, गालाको हड्डी धस्केको हुनु, मुखको भाग सामान्य नहुनु लगायत जन्मिँदै लिएर आएका समस्याहरूको उपचार यस विधिबाट हुन्छ । २. जन्मिसकेपछि देखिसकेपछि हुने समस्या- जन्मिसकेपछि फोर्सेप डेलिभरी गर्दा देखिने समस्या र खेल्दाखेल्दै चोटपटक लागेर देखिने समस्याहरूमा यो विधि प्रयोग हुन्छ । ३. कुनै रोगका कारण आउने समस्या- मुखमा घाउ हुन, पानीका फोकाहरू आउनु, क्यान्सर हनु लगायत मुखमा हुने विभिन्न समस्यामा अप्रेशन गर्नुपर्ने अवस्थामा म्याग्जिलो फेशियल सर्जरी आवश्यक पर्छ ।
यो प्रविधि नेपालमा नयाँ हो ?
झण्डै ३०/४० वर्ष अघिदेखि नै नेपालमा विभिन्न चरणमा यसका अभ्यासहरू भएका हुन् । तर, जनरल सर्जन र ईएनटी सर्जनले गर्ने गर्थे । अनुहारकै लागि भनेर छुट्टै सर्जनहरू थिएनन् ।
छुट्टै म्याग्जिलो फेशियल सर्जरी शुरूवात भने सन् २००४ देखि भएको हो । यस विषयमा अझै पनि धेरै मानिसहरू जानकार छैनन् ।
दुर्घटना भएर नाक अथवा अनुहारको हड्डी भाँचियो भने अर्थोपेडिक कहाँ जाने गर्छन् । तर, अनुहारको उपचार चाहिँ म्याग्जिलो फेसियल सर्जनसँगै गराउनुपर्छ । अनुहार भनेको अङ्ग हो । अरू शरीर छोपेर राख्दा पनि मुख खुला छोड्नुपर्ने हुन्छ ।
त्यसैले यसको उपचारमा पनि संवेदनशील हुनुपर्छ । अब बिस्तारै सबै अस्पतालहरूमा म्याग्जिलो फेशियल सर्जन हुनुपर्छ भन्ने कुराहरू आइरहेको छ । यो उपचापद्धति विकास हुने क्रममा रहेकाले सकेसम्म अनुहारको सर्जरी गनुपर्ने अवस्था आयो म्याग्जिलो फेशियल सर्जनसँग नै गराउनु राम्रो हुन्छ ।
मुखको सर्जरी गराउनुपर्ने अवस्थाका बिरामीहरू कत्तिको आउने गरेका छन् ?
यो समस्या बढ्दो छ । अहिलेको हाम्रो दिनचर्या र खानपिनले मुखकै समस्या ल्याइरहेको छ । जस्तै धुम्रपान, मध्यपान, गुट्खा, पानमसालाको प्रयोग र उत्पादन बढिरहेको अवस्था छ । त्यस्तै शारीरिक रूपमा मान्छेले आफूलाई आलस्यतिर लगिरहेका छन् । खानपान पनि उस्तै भएका कारण म्याग्जिलो फेशियलका बिरामीहरू बढ्दो क्रममा नै छन् ।
कुनै दुर्घटनाका कारण हुने समस्या त छँदैछ, अस्वस्थकर खानपिनले मुखको क्यान्सरका बिरामीहरू बढिरहेका छन् । पहिले सवारी दुर्घटनाका कारण मुखको चोटहरू लिएर धेरै बिरामी आउने गरेका थिए । अहिले रोगका कारण यो समस्या बढिरहेको पाइएको छ ।
मुखको स्वास्थ्यप्रति आम नागरिकमा सचेतना अवस्था के छ ?
आम नागरिक मुखको स्वाथ्यप्रति सचेत हुन थालेका छन् । धेरै नेपालीहरू विदेशिने क्रम बढिरहेकाले बहिरी देशहरूको चेतनाको प्रभाव नेपालमा पनि परेको छ । तर, सरकारले त्यति ध्यान दिएको छैन ।
विदेश जानेहरू दाँत तथा मुखको चेकजाँच गराएर मात्रै जान्छन् । तर, नेपाल सरकारले भने यसमा कुनै चेतना फैलाउने काम गरेको छैन । निजी अस्पतालहरूले नै यसबारे चेतना फैलाउने काम गरिरहेका छन् । जसकारण विगतको तुलनामा सचेतना बढिरहेको छ ।
सरकारले त्यति प्राथमिकतामा नराखेकोले सन्तोषजनक छैन । रोग लाग्न नदिनु भन्दा पनि रोग लागिसकेपछि उपचार गर्ने कुरामा मात्रै सरकारको ध्यान केन्द्रित छ । जस्तै किड्नी फेल हुँदा र क्यान्सर हुँदा यति उपचार खर्च दिने भनेर तोकेको छ । मुखको स्वास्थप्रति ध्यान दिँदा र समयमै उपचार गर्दा ९० प्रतिशत रोग लाग्नबाट बच्न सकिन्छ भन्नेतर्फ सरकार गएको छैन ।
यदि सरकारले अन्य उपचारमा खर्च गर्ने पैसा मुखको स्वास्थ्यबारे चेतना फैलाउनेतर्फ खर्च गरिदियो भने विभिन्न दिर्घरोगीका बिरामी बढ्ने थिएनन् ।
मुखको स्वास्थ्यका लागि के-के कुरामा ध्यान दिने ?
मुख्यतः ४ वटा कुरामा ध्यान दिन आवश्यक छ । पहिलो खानपान हो ।
१. खानपान– राम्रो या नराम्रो दुबै खाने मुखले नै हो । हामीले खानेकुरामा ध्यान दिएनौं भने जति ब्रस गरे पनि मुख सफा हुँदैन । स्वस्थ खानाले मुख र शरीर दुबैलाई फाइदा गर्छ । प्रतिरोधात्मक क्षमताका लागि शरीरमै औषधी हुन्छ । हामीले खानपानमा लापरवाही गर्यौं भनेमात्र शरीरको प्रतिरोधात्मक क्षमताले काम नगर्दा दबाई खानुपर्ने हो ।
दबाईले केही समयका लागि रोग दबाउने काममात्रै गर्ने हो, निको पार्ने होइन । मुख लगायत शरीरका विभिन्न अङ्गमा हुने क्यान्सर, सुगर लगायतका विभिन्न रोगहरू खानाकै कारणले हुने गर्छ । त्यसैले पत्रुखाना (जङ्कफूड), सुर्तीजन्य पदार्थ, मदिरा लगायत शरीरलाई हानी गर्ने खालका खानेकुराहरू खानु हुँदैन ।
२. मनोवैज्ञानिक फिटनेस– राम्रो र नराम्रो दुबै बोल्ने मुखले नै हो । हामीले मीठासपूर्ण भाषामा बोल्यौं भने धेरै कुराहरू समाधान हुन्छन् ।
घरभित्र होस् या बाहिर- जतिसक्दो मीठो बोल्नुपर्छ । कतिपय अवस्थामा बोलीले गर्दा चिन्ता र तनावजस्ता मानसिक समस्या निम्तिन्छ । हाम्रो मानसिक स्वास्थ्य नै ठीक भएन भने मुखको स्वास्थ्य राम्रो हुँदैन । त्यसैले मुखको स्वास्थ्यका लागि मनोवैज्ञानिक फिटनेस पनि आवश्यक छ ।
३. शारीरिक अभ्यास– शारीरिक अभ्यास र योगा पनि मुख लगायत अन्य स्वास्थ्यका लागि आवश्यक छ ।
४. सही तरीकाले ब्रस गर्ने- दैनिक कम्तिमा २ पटक बिहान उठ्नेबित्तिकै र राती सुत्नुभन्दा अगाडी ब्रस गर्नुपर्छ । हामी दाँतको तीनवटा भाग गालाको भाग, टोक्ने भाग र जिब्रोको भाग मात्रै सफा गर्ने गर्दछौं । २ वटा दाँतको बीचमा पनि पाँचवटै भाग सफा हुनेगरी ब्रस गर्नुपर्छ । तीनदेखि ६ महिनाभित्र दाँतको नियमित परीक्षण गराउनुपर्छ ।
यी चार कुराहरू हामीले दैनिक जीवनमा लागू गर्यौं भने मुखको लगायत समग्र शरीरलाई फाइदा पुग्छ ।