पेरिस ओलम्पिकको पदक तालिकामा चीनले अग्रता लिएको छ। एकै दिन तीन स्वर्ण पदक सहित चीनले तालिकामा पहिलो स्थानमा कब्जा जमाएको हो। चीनका लागि उर्वर बनेको बुधबारको दिन फ्रान्सले पनि त्यत्ति नै सफलता पायो। चीन ९ स्वर्ण पदकसहित पहिलो स्थानमा रहँदा फ्रान्स ८ स्वर्ण पदक सहित दोस्रो स्थानमा छ।
यो तालिकाको गणित भन्दा पनि बढी बुधवार तीन फरक सफलताका कथा पेरिस ओलम्पिकको अक्वेरियम पुलमा देखियो। बुधबार पौडीका ४ स्वर्ण पदकको टुङ्गो लागेको थियो। ती चार वटै स्वर्ण पदकको कथा भने फरक थियो।
महिला १०० मिटर फ्रिस्टाइलमा स्विडेनकी सहरा जोसर्टटमले स्वर्ण पदक जितिन्। सो स्पर्धामा अमेरिकाकी टोरी हस्कले रजत तथा हङकङकी सिमोना हाउजीले कास्य पदक जिते। जोर्सटमले यस ओलम्पिकको अन्तिम समयसम्म यस स्पर्धामा सहभागिता नजनाउने जनाएकी थिइन्। उनले अन्तिम समयमा नाम लेखाएकी हुन्। पौडी इतिहासकै सर्वकालीन उत्कृष्ट महिला स्प्रिन्टर जोर्सटमले १५ वर्षको अन्तर्राष्ट्रिय खेल जीवनको दोस्रो पटक ओलम्पिक स्वर्ण जितेकी हुन्। सन् २०१६ को रियो ओलम्पिकमा उनले १०० मिटर बटरफ्लाइमा विश्व कीर्तिसहित स्वर्ण पदक जितेकी हुन्। सो कीर्तिमान यसै वर्ष भएको अमेरिकी ओलम्पिक छनोटमा ग्लेटचन वाल्सले भङ्ग गरेकी थिइन् ।
सन् २०१७ को विश्व च्याम्पियनसिपको महिला रिलेको लिडअफमा उनले ५१.७१ सेकेन्डको विश्व कीर्तिमान कायम गरेकी थिइन्। सो कीर्तिमान अझै कायम छ। सो च्याम्पियनसिपको फाइनलमा भने उनी अमेरिकाकी सिमोन मानुएल भन्दा पछि रहिन्। उनले बुधबारसम्म सो स्पर्धामा ओलम्पिक र विश्व च्याम्पियनसिपमा स्वर्ण पदक जित्न भने सफलता पाउन सकेकी थिइनन्।
बुधबार फ्रान्सका लियो मर्चान्डले दुई स्वर्ण पदक जिते। ती दुई स्वर्ण पदक २०० मिटर बटरफुलाई र २०० मिटर ब्रेस्ट स्ट्रोकमा थियो। २०० मिटर बटरफुलाईमा एक मिनेट ५१.२१ सेकेन्ड समयको ओलम्पिक कीर्तिमानसहित थियो। विश्व कीर्तिमान धारी हंगेरीका क्रिस्टोफर मिलाकले सो स्पर्धामा रजत पदक जिते। क्यानडाका इलिया खारुनले कास्य पदक जिते। सो स्पर्धाको स्वर्ण जितेको केही समयपछि नै आफ्नो घरेलु पुलमा पौडी रहेका मर्चान्डले दुई मिनेट ८.८५ को ओलम्पिक कीर्तिमानसहित स्वर्ण पदक जिते। सो स्पर्धामा अस्ट्रेलियाका ज्याक सेबटर कुकले रजत तथा नेदरल्यान्ड्सका कास्टर कोरेबाउसले कास्य पदक जिते।
सो पदक यस ओलम्पिकमा मर्चान्डको तेस्रो स्वर्ण पदक हो। उनले चौथो स्वर्ण पदक जित्ने सम्भावना प्रबल बनेको छ। यस बिचमा अमेरिकी केटी लेडेकीले १५ सय मिटर फ्रिस्टाइलमा स्वर्ण पदक जितिन्। सो पदक लेडेकीको ओलम्पिकमा नवौँ स्वर्ण पदक हो। उनले चार संस्करणमा ओलम्पिक स्वर्ण पदक जितेकी छिन्। लेडेकीको ओलम्पिकमा त्यो १२ औं पदक समेत हो। सो स्पर्धामा फ्रान्सकी अनास्टासिया किरपिच्कीनोभाले रजत तथा जर्मनकी इसाबेल गोसले कास्य पदक जिते। मर्चान्डको दुई स्वर्ण पदकले फ्रान्सलाई केही मिनेट तालिकाको शीर्ष स्थानमा राखे पनि पुरुष १०० मिटर फ्रिस्टाइलले ओलम्पिकमा अर्कै कथा लेखियो।
चिनियाँ पान झीले स्वर्ण पदक मात्रै जितेनन्। ओलम्पिकमा १०० मिटर फ्रिस्टाइलमा विपक्षीलाई एक सेकेन्ड भन्दा बढी समयले पछि पारेर संसारलाई अचम्ममा पारे। उनले ४६.४० सेकेन्डको नयाँ विश्व कीर्तिमान कायम गरे। दोस्रो भएका अस्ट्रेलियाका केल चाल्मर्सले ४७.४८ तथा डेभिड पोपोस्कीले ४७.४९ मा पौडिएर कास्य पदक जिते। चीनको पौडीमा त्यो नै पहिलो स्वर्ण पदक थियो। यसले चीनलाई मिश्रित मेड्ली रिले तथा पुरुष मेड्ली रिलेमा स्वर्ण पदकको दाबेदारको रूपमा प्रस्तुत गरेको छ।
पौडी भन्दा अघि सनसनी जिम्न्यास्टिकको अलराउण्डमा पनि भएको थियो। जापानका स्वर्ण पदक दाबेदार हासाकी दकाई सुरुवात देखि नै कमजोर देखिए। जापानका ओका सिनोसुनले स्वर्ण पदक जिते पछि दकाइमा अनौठो खुसी देखिएको थियो। सिनोसिले चीनका झाङ बोएङ र जाओ रोएटिङलाई पछि पारे।
बुधबार भएको फेन्सिङको पुरुष टिम साब्रेमा दक्षिण कोरियाले स्वर्ण, हंगेरीले रजत तथा फ्रान्सले कास्य पदक जिते। क्यानोइ सालोमको महिला क्यानोइ एकलमा अस्ट्रेलियाका जेसिका फक्सले स्वर्ण, जर्मनीकी एलेना लिलिकले रजत तथा अमेरिकाकी एली लिजबर्थले कास्य पदक जिते।
जुडोको महिला ७० किलोमा क्रोएसियाकी बारबरा माटिकले स्वर्ण पदक जितिन्। उनले फाइनलमा जर्मनीकी मियाम बुटकेरिटलाई हराइन्। अस्ट्रियाकी मिचेला पोलरेस र बेल्जियमकी गाब्रयिला विल्सले कास्य पदक जिते। पुरुष ९० किलोमा जर्जियाकी लक्ष बेकाउरीले स्वर्ण, जापानका मुराउओ सानसिरोले स्वर्ण तथा फ्रान्सका माक्सिम गइर र जर्जीयाका थियोडर सेलिडिसले कास्य पदक जिते।
सुटिङको महिला ट्र्यापमा ग्वाटेमालाले स्वर्ण, इटालीले रजत तथा अस्ट्रेलियाले कास्य पदक जिते। सेन नदीको पानीको गुणस्तर कम भएका कारण स्थगित ट्राउयथलनको महिला स्पर्धामा फ्रान्सकी कासान्ड्रे कासान्डेले स्वर्ण तथा स्विट्जरल्यान्डकी जुलिया डेरोनले रजत पदक जिते। सो स्पर्धामा बेलायतकी गेथ पोटरले कास्य पदक जितिन्।
पुरुषतर्फ बेलायतका एलेक्स इले स्वर्ण, न्युजिल्यान्डका हाइडनले रजत तथा फ्रान्सका लियो बर्गरले कास्य पदक जिते। डाइभिङको महिला सिन्क्रोफाइज्ड १० मिटर प्लेटफर्ममा चीनले स्वर्ण, उत्तर कोरियाले रजत तथा बेलायतले कास्य पदक जिते। रोइङको महिला क्वाड्रपल स्कल्समा नेदरल्यान्ड्सले स्वर्ण, इटालीले रजत तथा पोल्यान्डले कास्य पदक जिते। महिला क्वाड स्क्रल्समा बेलायतले स्वर्ण, नेदरल्यान्ड्सले रजत तथा जर्मनीले कास्य पदक जिते।
साइक्लिङको बिएमएक्स फ्रिस्टाइलको महिला पार्कमा चीनकी डेङ येवेनले स्वर्ण, अमेरिकाकी पेरिस बेनेगासले रजत तथा अस्ट्रेलियाकी नाटाली डेम्सले कास्य पदक जिते। पुरुषतर्फ अर्जेन्टिनाका जोसे टोरेसले स्वर्ण, बेलायतका किरियन डारेनले रजत तथा फ्रान्सका एन्थोनी जिमले कास्य पदक जिते।
पेरिस ओलम्पिकमा लिजेन्डका सुख मात्र होइन। दुःखका कथा पनि लेखिएका छन्। ३८ वर्षीय ब्राजिलियन स्टार मार्टाले स्पेनसँगको खेलमा रातो कार्डको सामना गरिन्। विश्व फुटबलमै एक आदर्श खेलाडी मार्टा सन् २००४ र २००८ मा उपविजेता हुन्। यस पटक ब्राजिललाई स्वर्ण दिलाएर बिदा हुने उनको चाहना थियो। अहिले ब्राजिलको टोली सङ्घर्ष गरिरहेको छ।
उनी विश्वकपमा सबै भन्दा गोल गर्ने फुटबलर हुन्। उनले ६ पटकको सहभागितामा २३ खेल खेलेर १७ गोल गरेकी छिन्।
अन्य खेलमा कमजोर साबित अमेरिका महिला फुटबलमा भने पहिलो चरणमा शतप्रतिशत सफलतासहित पहिलो चरण पार गर्न सफल भएको छ। अमेरिकाले बुधवारको खेलमा अस्ट्रेलियालाई २-१ ले हराएको हो। अमेरिकाले क्वार्टरफाइनलमा जापानको सामना गर्नेछ। स्पेनले कोलम्बिया, क्यानडाले जर्मनी तथा फ्रान्सले ब्राजिलको सामना गर्ने छन्।
पहिलो चरणमा शतप्रतिशत जित हात पारे पनि क्यानडाले ड्रोनबाट विपक्षीको प्रशिक्षण हेरेको कारण ६ अङ्क घटाइएको थियो। त्यसका बाबजुद समूहमा उपविजेता हुन क्यानडा सफल भएको हो। क्यानडा साबिक विजेता पनि हो।
भर्खर विश्व खेलकुदमा प्रवेश पाएको दक्षिणी सुडानलाई १०३–८६ ले हराएको हो। यसै महिनाको सुरुवातमा भएको नाटकीय खेलमा १६ अङ्कले पछि परेको अमेरिकाले खेललाई उल्ट्याएर १०१–१०० को जित हात पारेको थियो। दक्षिणी सुडानका लागि अर्को चरण प्रवेश गर्न सर्बियालाई हराउन जरुरी छ।
स्रोतः ओलम्पिक बिबिसी