राजनीति

च्यासलको कार्यालयमा बाढी पसेपछि होटल बसेरामा एमालेको बैठक

By खबरहब

August 01, 2024

काठमाडौं – नेकपा (एमाले)को सचिवालय बैठक बिहीबार मध्यान्ह काठमाडौंको हनुमानथानस्थित बसेर होटलमा सुरु भएको छ ।

प्रधानमन्त्री एवम् नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीको निजी सचिवालयका अनुसार बैठक सिंहदरबार अगाडि अवस्थित बसेर होटलमा केही बेरअघि सुरु भएको हो ।

च्यासलमा रहेको पार्टी कार्यालको भुइँ तलामा मंगलबार राति मनोहरा खोलामा आएको बाढी पसेपछि बैठक होटलमा राखिएको हो ।

सचिवालय बैठकमा समयसामयिक राजनीतिक विषय, पार्टीको आन्तरिक रणनीति र नेताहरूको कार्यविभाजनको विषयमा छलफल हुँदैछ ।

यसअघि एमाले अध्यक्षसमेत रहेका ओलीले स्वास्थ्यले साथ दिएसम्म पार्टी बैठक सरकारी निवास बालुवाटारमा नराख्ने बताएका थिए। सामाजिक सञ्जालमार्फत् उनले यस्तो जानकारी गराएका थिए ।

‘सामाजिक सञ्जालमार्फत तपाईंहरूले दिनुभएको सुझावअनुसार मेरो स्वास्थ्य अवस्थाले साथ दिएसम्म सरकारी निवास बालुवाटारमा पार्टीको बैठक नराख्ने जानकारी गराउँछु’, उनले भनेका थिए ।