ब्रेकिङ स्टोरी

प्रधानमन्त्री ओलीका १८ दिन

By खबरहब

August 01, 2024

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीका रुपमा कार्यभार सम्हालेको विहीबार १८ दिन पुगेको छ । उनले गत असार ३१ गते राष्ट्रपति भवन शीतलनिवासमा शपथग्रहण गरेपछि सिंहदरबार पुगेर कार्यभार सम्हालेका थिए ।

ओलीलाई राष्ट्रपति रामचन्द्र पौडेलले असार ३१ गते संविधानको धारा ७६ (२) बमोजिम प्रधानमन्त्रीमा नियुक्त गरेका थिए ।

नियुक्तिलगतै ओलीले २२ सदस्यीय मन्त्रिपरिषद्लाई पूर्णता दिए । एमालेसहित नेपाली कांग्रेस, जनता समाजवादी पार्टी (जसपा) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सरकारमा सहभागी छन् । संविधानतः अब तीन जना राज्यमन्त्रीको मात्र कोटा खाली छ ।

प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्न विफल भएपछि तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वतः पदमुक्त भएका थिए । एमाले अध्यक्ष ओली नयाँ प्रधानमन्त्रीका रुपमा नियुक्त नहुँदासम्म उनी कामचलाउ हैसियतमा रहेका थिए ।

प्रचण्डले विश्वासको मत प्राप्त गर्न नसकेपछि राष्ट्रपति पौडेलले प्रधानमन्त्रीमा दाबी पेस गर्ने समय दिएका थिए । नेपाली कांग्रेस र नेकपा एमालेले ओलीलाई प्रधानमन्त्री बनाउन असार २८ गते राष्ट्रपतिसमक्ष दाबी पेस गरेका थिए ।

प्रचण्ड नेतृत्वको सरकारले प्रभावकारी काम गर्न नसकेको भन्दै एमाले र कांग्रेस मिलेर नयाँ सरकार बनाएका हुन् । संविधान संशोधन, विकास, सुशासन, अर्थतन्त्रमा सुधार र आलोपालो प्रधानमन्त्री बन्ने लगायतका कार्ययोजनासहित दुई ठूला दलले ७ बुँदे सहमति गरेर त्यसैका आधारमा सरकार बनाएका हुन् ।

मन्त्रिपरिषद् बैठक

कसरी बित्दैछ ओलीको दिनचर्या ?

नवनियुक्त प्रधानमन्त्री ओलीले पदभार ग्रहण गर्दै (असार ३१ गते) कीर्तिपुर क्रिकेट मैदानलाई सुविधा सम्पन्न रंगशाला बनाउने पहिलो निर्णयमा हस्ताक्षर गरेका थिए । दर्शक बस्नका लागि प्याराफिट, रात्रिकालीन खेलका लागि फ्लडलाइट निर्माण गर्नेलगायत आवश्यक संरचना बनाउने उनको पहिलो निर्णयमा समेटिएको थियो ।

क्रिकेट रंगशालासम्बन्धी पहिलो निर्णयबारे जानकारी दिँदै प्रधानमन्त्री ओलीले पदभार ग्रहण गरेकै दिन बेलुकी पौने ७ बजे फेसबुकमा लेखेका थिए, ‘कीर्तिपुर क्रिकेट मैदानलाई सुविधासम्पन्न रंगशाला बनाउने, दर्शकका लागि प्याराफिट बनाउने र रात्रिकालीन खेलका लागि फ्लडलाइट निर्माण गर्नेलगायत आवश्यक संरचना बनाउने निर्णय भएको छ । यस कामका लागि तीन सय दिनको समयसीमा तोकिएको छ ।’

प्रधानमन्त्रीको कार्यभार सम्हालेको दुईदिनसम्म ओलीको दिनचर्या बधाई र शुभकामना ग्रहण गर्दैमा बित्यो । प्रधानमन्त्री बनेको तेस्रो दिन ओलीले आफूलाई बधाई तथा शुभाकामना दिन आउने शुभचिन्तकहरुलाई खादा–मालाको प्रयोग नगर्न सार्वजनिक आह्वान गरे ।

प्रत्यक्ष भेटेरभन्दा डिजिटल माध्यमबाट शुभकामना, बधाई दिँदा समयको बचत हुने भन्दै उनले शुभेच्छुक सबैलाई सकेसम्म म्यासेन्जरबाट सन्देश पठाउन र भेटमा पनि खादा–माला प्रयोग नगर्न अनुरोध गरे । सोही दिन उनी गीतकार रमोलादेवी शाह ‘छिन्नलता’ को १०२ औँ जन्मजयन्तीका अवसरमा आयोजित ‘छिन्नलता पुरस्कार वितरण समारोह’मा सहभागी भए ।

समारोहलाई सम्बोधन गर्दै उनले नेपाली भाषा, साहित्य कला र ज्ञानको उद्गम स्थल नेपाल भएको बताए । नेपालबाटै ऋषिमुनिहरुले सबैलाई ज्ञान दिएको र गीत संगीतको सुरुवात पनि नेपालबाट भएको ओलीको तर्क थियो ।

चौथो दिन अर्थात साउन ३ गते प्रधानमन्त्री ओली नेपाल इन्जिनियर्स एसोसियसनको ६२ औं स्थापना दिवस समारोहमा सहभागी भए । काठमाडौंको प्रज्ञा भवनमा आयोजित समारोह उनले नै उद्घाटन गरेका थिए ।

कार्यक्रममा सहभागी भएपछि राति झण्डै ९ बजे ओलीले फेसबुकमा तस्बिर पोस्ट गर्दै लेखेका थिए, ‘६२ औँ इन्जिनियर दिवसमा आज ।’

त्यसको भोलिपल्ट अर्थात पाँचौं दिन प्रधानमन्त्री ओलीले बिजुली काटिएका उद्योगहरूमा तत्काल लाइन जोड्न नेपाल विद्युत प्राधिकरणलाई निर्देशन दिए । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसहितलाई बोलाएर उनले लाइन काटिएका उद्योगमा तत्काल जोडिदिन निर्देशन दिए । प्राधिकरणले डेडिकेटेड र ट्रंक लाइनको बक्यौता नतिरेको भन्दै केही उद्योगमा लाइन काटेको थियो ।

छैठौं दिन प्रधानमन्त्री ओलीले बंगलादेशमा मेडिकल शिक्षा अध्ययनरत नेपाली विद्यार्थीका परिवारलाई सरकारी निवास बालुवाटारमा भेटे । उनीहरुले प्रधानमन्त्रीसमक्ष बंगलादेशमा सरकारी सेवामा रहेको कोटा प्रणाली खारेजीको माग गर्दै भएको आन्दोलनका कारण मेडिकल शिक्षा पढ्दै आएका नेपाली विद्यार्थीहरु असुरक्षित भएको गुनासो गरेका थिए ।

बिहीबार बसेरा होटलमा भएको एमाले सचिवालय बैठकमा सहभागी हुँदै

सातौं दिन प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको ४२ औँ स्मृति दिवसको अवसरमा आयोजित ‘बीपी कोइराला राष्ट्रिय पुरस्कार–२०८०’ वितरण समारोहमा सहभागी भएका ओलीले सोही दिन संसदबाट विश्वासको मत लिए ।

प्रधानमन्त्री ओलीले २७५ सदस्यीय प्रतिनिधिसभामा दुईतिहाइ बहुमत प्राप्त गर्न सफल भए । प्रतिनिधिसभाको साउन ६ मा बसेको बैठकमा उनले १८८ जना सांसदहरुको विश्वासको मत प्राप्त गरे ।

प्रधानमन्त्री ओलीले विश्वासको मत माग्ने प्रयोजनका लागि बोलाइएको संसद बैठकमा २६३ सांसदहरु उपस्थित थिए । जसमध्ये ७४ जनाले प्रधानमन्त्री ओलीको विपक्षमा मत जाहेर गरे भने १ जना तटस्थ बसे ।

प्रधानमन्त्री ओलीले साउन ८ गते रूसका भलिबल खेलाडीसँग बालुवाटारमै भेटे । पदभार सम्हालेको नवौं दिनमा भएको भेटको तस्बिर उनले आफ्नो फेसबुक अकाउन्टमार्फत् सार्वजनिक गरे । जहाँ लेखिएको थियो, ‘खेलाडीसँग खेलका कुरा । आज रूसी भलिबल खेलाडीसँग भेट भयो । उनीहरूले भने– खेलमा नेपाल पनि कमजोर छैन । खेलमा राम्रो इतिहास भएको रुसका खेलाडीको कुराले खुसी लाग्यो । मैले पनि दोस्रो पटक आफ्नो मिर्गौला प्रत्यारोपण रुसमा पढेर आएका रुसका ज्वाइँ नेपाली डाक्टरले गरेको कुरा सुनाएँ ।’

एमाले अध्यक्ष ओली प्रधानमन्त्री बनेको १० औँ (साउन ९) दिन १८ जनाको ज्यान जाने गरी त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सौर्य एयरको विमान दुर्घटनामा पर्‍यो । विमान दुर्घटनाको खबर पाएलगत्तै उनी दुर्घटनास्थल पुगे । ओली नागरिक उड्ययन प्राधिकरणका अधिकारीलाई भेटेर दुर्घटनाका कारण बुझ्न घटनास्थल पुगेका थिए । उनले सामाजिक सञ्जालमार्फत् भने, ‘यो दुःखद घडीमा सबैलाई धैर्य रहन अनुरोध गर्दछु ।’

सोही दिन मन्त्रिपरिषद्को आकस्मिक बैठक डाकेर प्रधानमन्त्री ओलीले विमान दुर्घटनाको छानबिनका लागि समिति गठन गरे भने शोकमा भोलिपल्ट (साउन १० मा) राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरे । त्रिशुलीमा बस दुर्घटनामा परेकाहरुलाई राज्यले ध्यान नदिएको भन्दै आधार झण्डा झुकाउने सरकारी निर्णयको सामाजिक सञ्जालमा आलोचना भयो । त्यही दिन प्रधानमन्त्री विमान दुर्घटनामा परी घाइते भएका क्याप्टेन मनिषरत्न शाक्यको स्थिति बुझ्न केएमसी अस्पताल पनि पुगेका थिए ।

साउन १० गते बसेको मन्त्रिपरिषद् बैठकबाट प्रधानमन्त्री ओलीले देशलाई पहिलो महिला मुख्यसचिव दिने निर्णय गरे । उनले कायममुकायम मुख्यसचिव लीलादेवी गड्तौलालाई मुख्यसचिवमा नियुक्त गर्ने निर्णय मन्त्रिपरिषद् बैठकबाट गरे ।

यस अवधिमा प्रधानमन्त्री ओलीले केही नियुक्तिहरु र सरकारी कर्मचारीहरुको सरुवा बढुवामा पनि हात हालेका छन् । प्रधानमन्त्रीले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. शिवराज अधिकारीलाई नियुक्त गरे भने आयोगका सदस्यहरुमा डा. आरती बिछार, डा. रमेशप्रसाद सिंह, डा. प्रकाशकुमार श्रेष्ठ, गीताकुमारी पौडेल अधिकारी, डा. जयबहादुर टण्डन र गंगादत्त अवस्थीलाई नियुक्त गरियो ।

त्यहीदिन प्रधानमन्त्री ओलीले त्रिभुवन विश्वविद्यालयका उपकुलपति, रेक्टर र रजिष्ट्रारसँग कीर्तिपुरस्थित क्रिकेट मैदानमा रंगशाला निर्माणका लागि लिजमा जग्गा उपलब्ध गराउने विषयमा छलफल पनि गरे छन् । छलफलमा सिनेट बैठक र ग्रेसलिष्टको विषयमा पनि कुराकानी भएको थियो ।

साउन १० मै प्रधानमन्त्री ओलीले आँखासम्बन्धी वरिष्ठ चिकित्सक डा. सन्दुक रुइतसँग पनि भेटघाट गरे । भेटघाटका क्रममा उनीहरुबीच आँखालगायत समग्र स्वास्थ्य क्षेत्रमा गर्न सकिने कामबारे छलफल भएको थियो ।

प्रसिद्ध रमन म्यागासासे पुरस्कारप्राप्त डा. रुइतसँगको भेटबारे प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत भनेका थिए, ‘बाहिर झमझम पानी परिरहेको थियो । भेटको मेरो प्राथमिकतामा रहनुभएका डा. सन्दुक रुइतसँग आज धेरैबेर कुरा भयो । आँखा लगायत समग्र स्वास्थ्य क्षेत्रमा के–के गर्न सकिन्छ भन्ने विषयमा उहाँका योजना सुनेँ । आँखा नभएका मानिसलाई संसार देखाउन पाउँदाको उहाँको प्रेरणादायी अनुभवले ताजा भएको महसुस भयो ।’

वरिष्ठ नेत्ररोग विशेषज्ञ डा. सन्दुक रुइतसँग

प्रधानमन्त्री ओली साउन १२ गते अन्तर्राष्ट्रिय चेन होटल ‘हिल्टन काठमाडौं’ उद्घाटन गर्न नक्साल पुगे । हिल्टन अमेरिकी चेन होटल हो । होटल उद्घाटन गरेको तस्बिर फेसबुकमा पोस्ट गर्दै उनले लेखेका छन्, ‘समय सापेक्ष मौद्रिक नीति सार्वजनिक भएसँगै आज मैले प्रशिद्ध अन्तर्राष्ट्रिय ब्राण्ड हिल्टन होटल काठमाडौं उद्घाटन गर्ने अवसर पाएँ । मेरो विश्वास छ– नयाँ मौद्रिक नीतिले अन्य व्यवसायीहरुलाई पनि अब लगानी गर्न उत्साही बनाउने छ । हामीलाई पर्यटक भित्र्याउनु छ, रोजगारी सिर्जना गर्नु छ र जनशक्ति पलायन रोक्नु छ ।’

प्रधानमन्त्री ओलीले गत सोमबार मन्त्रिपरिषद् बैठकबाट २२ जना सचिवहरुको एकैपटक सरुवा गरे । त्यसअघि उनले आइतबार सबै मन्त्रालयका सचिवहरुसँग ६ घण्टासम्म लगातार छलफल गरेका थिए ।

आइतबार बिहान करिव साढे ११ बजेदेखि बेलुकी साढे ५ बजेसम्म ६ घन्टा उनले सबै मन्त्रालयका सचिवहरुको ‘ब्रिफिङ’ सुनेका थिए । नागरिकलाई छिटो सेवा प्रवाह र विकासका कामलाई अगाडि बढाउन देखा परेका समस्या, काम गर्ने तरिकाआदिका विषयमा सचिवहरुले आ–आफ्ना मन्त्रालयको स्थितिबारे प्रधानमन्त्रीलाई ‘ब्रिफ’ गरेका थिए ।

सोमबारकै मन्त्रिपरिषद् बैठकबाट ओलीले विभिन्न १८ देशका लागि नयाँ राजदूतहरुको नाम सिफारिस र ५ वटा देशहरुबाट राजदूत फिर्ता बोलाउने निर्णय पनि गरे ।

उनले बैठकबाट भारत र चीनसहित संयुक्त राज्य अमेरिका, रुस, संयुक्त अधिराज्य बेलायत, अस्ट्रेलिया, पाकिस्तान, दक्षिण कोरिया, कतार, दक्षिण अफ्रिका, डेनमार्क, साउदी अरब, मलेसिया, इजरायल, जर्मनी, पोर्चुगलका लागि नेपाली राजदूत नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेका हुन् । यस्तै अस्ट्रेलिया, चीन, श्रीलंका, दक्षिण अफ्रिका, रसियाका नेपाली राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेका थिए ।

सोही बैठकबाट प्रधानमन्त्री ओलीले कर्णाली, लुम्बिनी र वागमती प्रदेशका बहालवाला प्रमुख बर्खास्त गरेर नयाँ प्रदेश प्रमुखहरु नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेका थिए ।

मन्त्रिपरिषद्ले गरेको निर्णय र सिफारिसका आधारमा राष्ट्रपति पौडेलले बुधबार अब तीनवटै प्रदेशका लागि नयाँ प्रदेश प्रमुखहरु नियुक्त गरिसकेका छन् । सरकारले कर्णालीमा यज्ञराज जोशी, लुम्बिनीमा कृष्णबहादुर घर्तीमगर र वागमतीमा दीपकप्रसाद देवकोटालाई नियुक्तिको सिफारिस गरेको थियो ।

प्रधानमन्त्री ओलीले गत मंगलबार प्रधानमन्त्री नेपाल सरकार संघीय मन्त्रालयका सचिवको बैठक सम्बोधन गर्दै सरकारलाई असफल हुने छुट नभएको बताए । ‘यसलाई सफल हुने छुट छैन भन्ने मात्र होइन, यो कुनै हालतमा असफल हुँदैन, यो असफल हुन बनेको हुँदैन, सफल हुन्छ,’ उनको भनाइ थियो ।

प्रधानमन्त्री ओलीले सचिवहरुका अगाडि दुई वर्ष पुग्न एक साताअघि नै राजीनामा दिने उद्घोषसमेत गरे । ‘मेरो नेतृत्वमा मेरो सरकार दुई वर्ष चल्ने हो, दुई वर्ष पुग्न एक हप्ताअघि नै मैले राजीनामा गरिसकेको हुन्छु, गर्छ कि गर्दैन भन्ने द्विविधा हुँदैन, त्यसपछि शेरबहादुर देउवाजीको नेतृत्वमा चुनावसम्म जाने हो, यसमा ढुक्क भए हुन्छ,’ उनको भनाइ थियो ।

प्रधानमन्त्री ओलीले जनतालाई सकेसम्म उपयुक्त ढंगले सेवा दिन, विकास, समृद्धि र सुशासनका लागि काम गर्न सरकार बनेको पनि प्रष्ट्याए । उनले ढुक्क भएर काम गर्न पनि सचिवहरूलाई आग्रह गरे ।

देशका लागि केही गरौँ भन्ने प्रतिवद्धताका साथ सरकार बनेकाले आफू कसैप्रति पूर्वाग्रही नहुने सचिवहरूलाई ओलीको आश्वासन थियो । कामका आधारमा सरकारले सचिवहरूको मूल्यांकन गर्ने उनले प्रष्टीकरण दिए । ‘हस्ताक्षर गर्नेबित्तिकै फसिन्छ कि भन्ने चिन्तामा नपरी काम गर्नुस्,’ प्रधानमन्त्रीले सचिवहरूलाई आग्रहसहित भने, ‘राम्रो काम गर्दा कुनै प्रकारको समस्या आएमा त्यसको जिम्मेवारी सरकारले लिने छ ।’

प्रधानमन्त्री ओलीले बिहीबारमात्रै आफ्नो स्वास्थ्यले साथ दिँदासम्म पार्टी बैठक सरकारी निवासमा नराख्ने बताएका छन् । फेसबुक पोस्टमा उनले लेखेका छन्, ‘सामाजिक सञ्जालमार्फत् तपाईंहरूले दिनुभएको सुझावअनुसार मेरो स्वास्थ्य अवस्थाले साथ दिएसम्म सरकारी निवास बालुवाटारमा पार्टीको बैठक नराख्ने जानकारी गराउँछु ।’

एमालेका अध्यक्षसमेत रहेका ओलीले पार्टीको सचिवालय बैठक सिंहदरबार अगाडि रहेको एक होटलमा बोलाएका छन् । मनोहरा खोलामा आएको बाढीले पार्टी कार्यालय डुबानमा परेकाले उनले बैठक होटलमा बोलाएका हुन् ।

‘आज हाम्रो पार्टीको सचिवालय बैठक छ । मनोहरा खोलामा आएको बाढीको डुबानले बैठक पार्टी कार्यालयमा बस्न नसक्ने भएका कारण यसपटक बैठक अन्यत्र राखिएको छ,’ प्रधानमन्त्री ओलीले भनेका छन् ।

सौर्यको जहाज दुर्घटनाका घाइते पाइलट मनिषरत्न शाक्यको अवस्था बुझ्न काठमाडौं मेडिकल कलेजमा

फेसबुकमा ओली

समकालीन राजतीतिज्ञहरुमध्ये प्रधानमन्त्री ओलीको सामाजिक सञ्जालमा बढी नै सक्रियता देखिन्छ । उनी प्रायःजसो तस्बिरहरु राख्ने, विभिन्न स्टाटसहरु लेख्ने गरेर फेसबुक प्रयोगकर्ताहरुको ध्यान आफूतिर आकर्षित गरिरहेका हुन्छन् ।

पछिल्लो समय प्रधानमन्त्रीका रुपमा मुलुकको जिम्मेवारी बहन गर्ने क्रममा उनले फेसबुकलाई आफ्नो ‘ब्रान्डिङ टुल्स’ का रुपमा उपयोग गरिरहेका छन् । ओली नेतृत्वको सरकारले मुख्यसचिवमा लीलादेवी गड्तौलालाई नियुक्त गरेपछि उनका समर्थकहरु सामाजिक सञ्जालमा चारजना महिलाको तस्बिर एकसाथ राखेर प्रचार गरिरहेका थिए ।

‘पहिलो महिला’ लेखेर पूर्वराष्ट्रपति विद्या भण्डारी, पूर्वप्रधानन्यायाधीश सुशीला कार्की, पूर्वसभामुख ओनसरी घर्ती र मुख्यसचिव गड्तौलाको तस्बिर एउटै फ्रेममा राखेर एमालेका कार्यकर्ताहरु प्रचार–प्रचार गरिरहेका थिए ।

जसको उपयोग गर्न प्रधानमन्त्री ओली सफल देखिएका छन् । उनले ६ दिनअघि (शुक्रबार) त्यही तस्बिर आफ्नो फेसबुक वालमा टाँस्दै लेखेका थिए, ‘शुभ बिहानी । सामाजिक सञ्जालमा हिजो धेरै साथीहरुले उच्च नेतृत्वमा पुगेका नेपाली महिलाको विषयमा लेखेको देखेँ । आफ्नो सकारात्मक पहलमा भएका यी चार संयोगहरुले मलाई पनि खुसी लागेको छ ।’

गत शनिबारमात्रै उनले फेसबुकमा एकजना विद्यार्थीले आफूलाई फेसबुकमा लेखेको सन्देश (म्यासेज) को फोटो बनाएर सामाजिक सञ्जाल प्रयोगकर्ता र सञ्चार माध्यमहरुको ध्यान आकृष्ट गरेका थिए ।

‘हामी छिट्टै भेट्ने छौँ । आज शनिबार एकैछिन म्यासेन्जर चेक गरेको थिएँ । कक्षा १० मा पढ्ने कृष्ण तामाङको यस्तो म्यासेजमा आँखा पर्‍यो । उहाँसँग छिट्टै भेट हुने छ । सबैको शनिबार सुखद् रहोस् । उहाँले पठाउनुभएको पत्रमा मिति गलत भए पनि जस्ताको त्यस्तै पोस्ट गरेको छु ।’

स्विस राजदूतसँग प्रधानमन्त्री ओली

प्रधानमन्त्री ओलीले आइतबार दुवै हातको कुहिनोभन्दा तलको भाग नभएका एक युवकको तस्बिर फेसबुकमा शेयर गरेका छन् । उनले ती युवकलाई आफूले सचिवालयमा राखेको पनि उल्लेख गरेका छन् ।

‘सिंहदरबारमा मसँगै काम गर्ने गणेश । खोटाङ काउलेका गणेश राईलाई मैले पहिलो पटक प्रधानमन्त्री हुँदा २०७२ असोजमा भेटेको थिएँ । दुवै हातको कुहिनोभन्दा तलको भाग नभए पनि उनले मेरो अगाडि नै कम्प्युटर चलाएर देखाएपछि आश्चर्य लागेको थियो । त्यसबेला कम्प्युटर अपरेटरका रूपमा उनको जागिर सुरू भयो,’ ओलीले लेखेका छन्, ‘दोस्रो पटक प्रधानमन्त्री हुँदा गणेश फेरि आए र करारमा काम गरे । यस पटक प्रधानमन्त्री पदको सपथग्रहण गरेर सिंहदरबार जाँदा उनी नभेटिएपछि मैले उनलाई खोजेँ । अहिले उनलाई बोलाएर सचिवालयकै सदस्यका रूपमा काम गर्ने जिम्मेवारी दिइएको छ । अब गणेश मसँगै काम गर्ने भएका छन् । उनलाई मेरो तर्फबाट शुभकामना ।’

प्रधानमन्त्री ओलीले तीन दिन अघिमात्रै साउदी अरबमा रहेका नेपाली जीपी आचार्यले आफूलाई लेखेको लामो स्टाटसको स्क्रिनसट आफ्नो फेसबुक वालमा पोस्ट गर्दै जवाफ फर्काएका छन् । उनले दुई बालिकासँगको तस्बिर फेसबुकमा पोस्ट गर्दै लेखेका छन्, ‘ प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आएका यी मेरा साना साथीहरु सुभासी पन्त र ईशान्वी बरालसँग भेट भयो । आज साउन १५, खीर पनि खाइयो । शुभकामना ।’