ब्रेकिङ स्टोरी

गुरु बराल बने एमाले उपाध्यक्ष, मुकुन्द न्यौपाने र लीलानाथ स्थायी कमिटी सदस्य

By खबरहब

August 01, 2024

काठमाडौं- नेकपा एमालेले पार्टीका स्थायी कमिटी सदस्य गुरु बराललाई रिक्त रहेको उपाध्यक्ष पदमा मनोनीत गरेको छ ।

तत्कालीन उपाध्यक्ष सुवासचन्द्र नेम्बाङको निधन भएपछि रिक्त रहेको उपाध्यक्ष पदमा बराललाई मनोनीत गरिएको महासचिव शंकर पोखरेलले बताए ।

‘उपाध्यक्षको रिक्त पदमा स्थायी कमिटी सदस्य गुरु बराललाई मनोनीत गरिएको छ । दुईजनालाई स्थायी कमिटीमा बढुवा गरिएको छ। एकीकृत समाजवादीबाट आउनु भएका हाम्रा पुराना नेता मुकुन्द न्यौपाने र मधेश प्रदेशका पोलिटब्युरो सदस्य लीलानाथ श्रेष्ठलाई स्थायी कमिटीमा ल्याएका छौँ’, उनले भने।

न्यौपाने यसअघि माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीका उपाध्यक्ष थिए । समाजवादी छाडेर एमालेमा फर्किएका न्यौपानेलाई स्थायी कमिटी सदस्य बनाएको हो ।

महासचिव पोखरेलका अनुसार केन्द्रीय सदस्यमा १७ जना मनोनीत गरिएको छ। पार्टी प्रवेशका क्रममा आएकाहरू चारजना सिन्धुपाल्चोकका सुवास कर्मचार्य, सप्तरीका जितेन्द्र देव, रौतहटका कुन्दनराज कुशवाह र सिरहाका रामप्रीत रामलाई केन्द्री सदस्यमा मनोनीत गरिएको उनले बताए ।

त्यसैगरी पार्टीका नेताहरू कृष्णभक्त पोखरेल (चितवन), कमल तिमल्सिना (अछाम), मुख्य सचेतकसमेत रहेका महेश बर्तौला (मकवानपुर), सरिता भुसाल (किसान महासंघ), प्रभा बराल (कास्की) र आशा जबेगु (पाँचथर) सहित १७ जनालाई केन्द्रीय कमिटीमा मनोनीत गरिएको पोखरेलले बताए ।