ब्रेकिङ स्टोरी

एमालेले फेर्‍यो प्रदेश इन्चार्ज : योगेश र गोकर्ण हट्दा पद्मा र लेखराज दोहोरिए

By खबरहब

August 01, 2024

काठमाडौं- सत्तारुढ दल नेकपा एमालेले सातै प्रदेशका इन्चार्ज फेरबदल गरेको छ।

काठमाडौंको हनुमानथानस्थित होटल बसेरमा बिहीबार दिउँसो बसेको सचिवालय बैठकले सातै प्रदेशमा नयाँ इन्चार्ज पठाउने निर्णय गरेको महासचिव शंकर पोखरेलले बताए ।

जसअनुसार एमालेले कोशी प्रदेशमा स्थायी कमिटी सदस्य शेरधन राईलाई नयाँ इन्चार्ज बनाएको छ । उनी पूर्वराष्ट्रपति विद्या भण्डारी र अध्यक्ष केपी शर्मा ओली दुवैका निकट मानिन्छन् ।

एमालेले मधेशमा बिहीबार मात्रै स्थायी कमिटी सदस्यमा बढुवा भएका लीलानाथ श्रेष्ठलाई इन्चार्ज बनाएको छ । यसअघि यहाँ एमाले सचिव योगेश भट्टराई इन्चार्जका रुपमा थिए ।

को कहाँ ?

कोशी प्रदेश- शेरधन राई मधेश प्रदेश- लीलानाथ श्रेष्ठ बागमती प्रदेश- डा. राजन भट्टराई गण्डकी प्रदेश- किरण गुरुङ लुम्बिनी प्रदेश- पद्मा अर्याल कर्णाली प्रदेश- गोरखबहादुर बोगटी सुदूरपश्चिम प्रदेश- लेखराज भट्ट

यसअघि १८ जेठ २०८० मा च्यासलमा बसेको केन्द्रीय सचिवालय बैठकले सातै प्रदेशको इन्चार्ज तोकेको थियो । त्यसबेला २०७८ मा एमालेमा विवाद हुँदा १० बुँदे हुँदै आएका योगेश भट्टराई र गोकर्ण विष्टले पनि इन्चार्जको भूमिका पाएका थिए ।

तर यस पटक यी दुवै नेताले इन्चार्जको भूमिकाबाट बिखुम हुनु परेको छ । त्यसबेला योगेश मधेश इन्चार्ज हुँदा गोकर्ण गण्डकी इन्चार्जको भूमिकामा थिए । त्यसैगरी यस पटक रघुवीर महासेठले पनि इन्चार्जको भूमिका गुमाएका छन् ।

उनलाई २०८० मा एमालेले कोशी प्रदेशको इन्चार्ज बनाएको थियो । उनी पुष्पकमल दाहाल नेतृत्वको सरकार ढल्नुअघि भौतिक पूर्वाधार मन्त्रीको भूमिकामा पनि थिए।

यस पटक इन्चार्जको भूमिका खोसिने अर्का नेतामा छविलाल विश्वकर्मा पनि हुन् । लुम्बिनी प्रदेशका उनलाई त्यसबेला एमालेले सुदूरपश्चिम प्रदेशको भूमिका दिएको थियो ।

यस पटक एमालेले सुदूरपश्चिममा त्यही भूगोलका लेखराज भट्टलाई जिम्मेवारी दिएको छ । छविलाल यसअघि सभामुख र मन्त्रीका दाबेदारमा थिए । तर उनलाई एमालेले कुनै भूमिका दिएको छैन ।

त्यसबेला को को थिए ?

सुदूरपश्चिम : छविलाल विश्वकर्मा कर्णाली : लेखराज भट्ट लुम्बिनी : पद्मा अर्याल गण्डकी : गोकर्ण विष्ट मधेश : योगेश भट्टराई कोशी : रघुवीर महासेठ बागमती : केन्द्रीय कार्यालय