तस्बिर : एएफपी

अन्तर्राष्ट्रिय

बंगलादेशमा आन्दोलनका क्रममा पक्राउ परेका विद्यार्थी नेता रिहा

By खबरहब

August 01, 2024

ढाका– बंगलादेशमा निजामती सेवामा जागिरको आरक्षण प्रणालीको विरोधमा भएको आन्दोलनका क्रममा पक्राउ परेका विद्यार्थी नेतालाई प्रहरीले बिहीबार रिहा गरेको छ । देशव्यापी आन्दोलनका कारण गत महिना प्रधानमन्त्री शेख हसिनाको १५ वर्षे कार्यकालको सबैभन्दा खराब समय बन्नपुगेको थियो ।

प्रहरी र अस्पतालबाट एएफपीले पुष्टि गरेको तथ्यांकअनुसार विद्यार्थीले गत महिना देशव्यापी र्‍याली निकालेका थिए, जसमा प्रहरीको दमन र कम्तीमा २०६ जनाको मृत्यु भएको थियो ।

डेपुटी कमिस्नर जुनैद आलमले भने, ‘आरक्षण प्रणालीविरूद्धको आन्दोलनका सबै छ जना संयोजकलाई आज दिउँसो उनीहरूको परिवारको जिम्मा लगाइएको छ ।’ 

नाहिदका पिता बदरुल इस्लामले छोरा बिहीबार दिउँसो घर फर्केको पुष्टि गरे तर उनीबारे थप विवरण भने दिन अस्वीकार गरे । 

प्रमुख नेता नाहिद इस्लाम र अन्य दुई जनालाई गत शुक्रबार राजधानी ढाकाको एक अस्पतालबाट सादा पोसाकका गुप्तचरहरूले जबर्जस्ती डिस्चार्ज गरी अज्ञात स्थानमा लगेका थिए ।

त्यसपछिका दिनहरूमा अन्य तीन जनालाई हिरासतमा लिइएको थियो र सरकारले उनीहरूलाई आफ्नो सुरक्षाको लागि हिरासतमा राखिएको बताएको थियो । न्यायमन्त्री अनिसुल हकका अनुसार छ जनाले स्वेच्छाले प्रहरी हिरासतमा बस्न चाहेका छन् । 

उनले भने, ‘उहाँहरू स्वेच्छाले आउनुभएको थियो । उहाँहरू स्वयंले आफू जान चाहेको बताएपछि उनीहरूलाई घर फर्कन अनुमति दिइएको छ ।’

आन्दोलन चर्किएपछि हसिना सरकारले सेना तैनाथ गरेर कर्फ्यु लगाएको थियो । कुल १७ करोड जनसङ्ख्या भएको देशभरि ११ दिनसम्म मोबाइल इन्टरनेट नेटवर्क बन्द गरिएको थियो भने अदालतले आरक्षण प्रणालीबारे अर्को महिना गर्ने तयारी गरेको फैसला केही दिन पहिले गरेको थियो । 

स्थानीय सञ्चारमाध्यमका अनुसार अशान्तिका कारण १० हजारभन्दा बढीलाई पक्राउ गरिएको छ ।