समाचार

खोलाले बगाएका पतिलाई प्रहरीले बचायो, पत्नीको शव भेटियो

By खबरहब

August 01, 2024

बर्दिया– जिल्लाको बाँसगढी नगरपालिका-३ माहादेवा बस्ने दम्पतीलाई बुधबार दिउँसो खोलाले बगाएको छ।

स्थानीय मानखोलाले बगाएर ३५ वर्षीया पार्वती थारूको मृत्यु भएको छ भने उनका पतिलाई प्रहरीले बचाउन सफल भएको छ।

पार्वती र श्रीमान् जागु थारूलाई उक्त खोलाले बुधबार दिउँसो बगाएको थियो । त्यसपछि इलाका प्रहरी कार्यालय मोतिपुर र सशस्त्र प्रहरी बल सुरक्षा गण कतर्नियाको संयुक्त टोलीले जागुको सकुशल उद्धार गरेको छ ।

उनलाई उपचारको लागि मेडिकल कलेज कोहलपुर पठाइएको थियो । खोलाले बगाएर बेपत्ता पार्वतीको खोजी गर्ने क्रममा बाँकेको बैजनाथ गाउँपालिका-६ सिमलकुनास्थित खोला किनारमा शव भेटिएको छ ।