ब्रेकिङ स्टोरी

स्वर्णिम र रघुजी : को सच्चा, को कच्चा ?

By खबरहब

August 01, 2024

काठमाडौं – राजनीतिशास्त्रमा ‘संसद्‌’लाई हेर्ने दुईवटा नजर, अर्थात दुईखाले ‘स्कुल अफ थट’ छन् :

एकाथरिले संसद्‌लाई ‘गफ गर्ने अखडा’ ठान्छन् । अझ उत्तेजित हुँदै कतिपयले त संसद्‌लाई ‘खसीको टाउको झुण्ड्याएर कुकुरको मासु बेच्ने थलो’सम्म भन्न भ्याएका छन् ।

अर्काथरि संसदीय लोकतन्त्रका पक्षपातीहरूले चाहिँ संसद्‌लाई नीति निर्माणको पवित्र थलो मान्छन् । संसद्‌मा हुने बहसले राष्ट्र र जनताको भविष्य निर्धारण गर्छ र समाजलाई सभ्यतातर्फ डोहोर्‍याउँछ भन्ने मान्यता छ । यही कारणले संसद्‌मा उठ्ने आवाजलाई सबैले सम्मानपूर्वक लिने गर्दछन् ।

के हाम्रो संसद्‌ सभ्य एवम्‌ बौद्धिक बहसको थलो बन्न सकेको छ ? हाम्रो संसद्‌मा हुने बहस सिर्जनात्मक हुन सकेको छ ? अथवा हाम्रा सांसदहरू एक-अर्काप्रति व्यक्तिगत गालीगलौज गर्नमै सीमित पो छन् कि ? यी प्रश्नहरूमा पर्याप्त प्राज्ञिक बहस हुन सकेको पाइँदैन ।

संसद्‌मा हुने गम्भीर विषयका बहसहरूलाई मिडियाले कभरेज गर्ने क्रममा पनि गहिराईलाई छाडेर सतही विवादलाई मात्रै प्रस्तुत गर्ने काम भइरहेको प्रतीत हुन्छ, जसले गर्दा जनस्तरमा संसद्को‌ गरिमा बढ्न सकिरहेको छैन ।

यो त भयो संसद्को गरिमा र बौद्धिकताको प्रश्न ! तर, यस सामग्रीमा संसद्को गरिमाको विश्लेषण गर्न खोजिएको होइन । यहाँ तीन दिनयता प्रतिनिधि सभामा नेकपा (एमाले) का सांसद्‌ रघुजी पन्त र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद्‌ डा. स्वर्णिम वाग्लेका बीच चलेको बहसको मात्रै चर्चा गर्न खोजिएको हो ।

एमाले सांसद्‌ पन्त पूर्वपत्रकार एवम्‌ पूर्वमन्त्रीसमेत हुन् । सादगी नेताका रूपमा चिनिने पन्त अध्ययनशील एवम्‌ बौद्धिक व्यक्ति मानिन्छन् । स्वयम्भू नजिकै रहेको पन्तको घरमा ठूलो पुस्तकालयमा जस्तै किताबै किताबको थुप्रो देख्न पाइन्छ । पन्तको थप सम्पत्ति भन्नु नै किताब हो ।

यति धेरै अध्ययनशील एवम्‌ सादगी सांसद्‌ पन्तले रास्वपाका बौद्धिक सांसद्‌ डा. वाग्लेमाथि संसद्‌मा केही प्रश्नहरू उठाए । विदेशमा पढेका, नेपालमै पनि बूढानीलकण्ठ स्कुल पढेका, विभिन्न देशमा, युएनमा जागिर खाएका, अंग्रेजी शुद्ध र फरर बोल्न सक्ने, कुशाग्र बुद्धि भएका डा. स्वर्णिम वाग्लेलाई सबैले अर्थशास्त्रीका रूपमा चिन्छन् र सम्मानसमेत गर्छन् ।

संसद्‌मा वाग्लेका कतिपय विचारहरूको आलोचना गरिरहँदा पन्तले वाग्लेका अर्थशास्त्रसम्बन्धी विचारहरू सधैँ सुन्ने-पढ्ने गरेको भन्दै सम्मान प्रकट गरेका थिए । तर, वाग्लेको बौद्धिकतालाई आदर गर्दागर्दै पनि पन्तले उनका केही विचारहरूको खुलेर आलोचना गरे । सायद संसद्‌मा यसरी विषयवस्तुमा बहस गर्नु नराम्रो होइन ।

डा. वाग्लेले पनि संसद्‌बाटै रघुजी पन्तले उठाएको प्रश्नमा जवाफी भाषण गरे । वाग्लेको जवाफमा पनि बौद्धिकता र आवेग राम्रैसँग प्रकट भयो । तर, उनले विदेशमा पढेको र अंग्रेजी जानेको हल्का दम्भ देखाउँदै पन्तलाई व्यक्तिगत रुपमा होच्याएको जस्तो पनि कतै–कतै देखियो । पन्तले उठाएको प्रश्नमा प्राज्ञिक जवाफ भन्दा पनि डा. वाग्ले व्यक्तिगत विषयतिर गएका पो हुन् कि ? छुट्याउने जिम्मा बौद्धिक पाठकहरूकै हो ।

तर, संसद्‌मा वाग्लेको अलोचना गर्ने क्रममा पन्तले जति कुराहरू बोले- उनी अध्ययन र तयारीका साथ प्रस्तुत भएको देखिन्थ्यो ।

तथापि संसद्‌मा सभामुखले पन्तलाई जति धेरै बोल्न दिए, डा. वाग्लेलाई भने बीच-बीचमा रुलिङ गरेर दुई नेताबीच फरक व्यवहार गरेको प्रष्टै देखिन्थ्यो । तथापि डा. वाग्ले सभामुखप्रति नरम र सम्मानजनक रूपमै प्रस्तुत भए, जसले वाग्लेको बौद्धिकतालाई सुहाउँदिलो बनाएको थियो ।

यो त भयो सांसदद्वय पन्त र वाग्लेको प्रस्तुतिको पाटो । तर, उनीहरूले बहस गरेको विषय चाहिँ नेपालको विदेश नीति, अझ छिमेक नीति कस्तो हुनुपर्छ भन्नेमा थियो ।

आखिर एमाले सांसद्‌ पन्त र रास्वपा सांसद्‌ वाग्लेमध्ये को सच्चा राष्ट्रवादी ? को अन्ध-राष्ट्रवादी ? बहसको विषय यही थियो । गत फागुनमा रास्वपाले आयोजना गरेको ऊर्जासम्बन्धी नीति मन्थन कार्यक्रममा डा. वाग्लेले बोलेको ‘भिडियो क्लिप’ हेरेपछि एमाले सांसद्‌ पन्तले त्यसमाथि प्रश्न उठाएका हुन् ।

अब एमाले सांसद् पन्तले बोलेका कुरा पढौं–

गत २१ फागुन २०८० मा आयोजित रास्वपाको नीति मन्थन कार्यक्रमको उर्जा श्रृंखला अन्तरगत उहाँ (स्वर्णिम) ले व्यक्त गर्नुभएको विचार यस्तो थियो–

सबैभन्दा ठूलो र अहिले अलि पेचिलो जियोपोलिटिकल पनि भैराख्या छ । अब इण्डियाको यो होल गेम (समग्र खेल) मा हामी अवेयर (सचेत) हुनुपर्छ । चाइनिज पुँजी, चाइनिज कन्ट्राक्टरहरू चाइनिज तकनिकी उपयोग भएकोमा हामी अब लिँदैनौं भनेर उसले भन्न पायो । आफ्नो सार्वभौम छनोट पनि हो । हाम्रो लिऊ भनेर भन्या पनि हुन सक्छ या किन जानीजानी आफ्नो जियो पोलिटिकल राइभललाई उठाउन दिने भन्ने पनि छ ।

त्यहीँ एउटा आइरोनी (विडम्वना) पनि छ । आफैं १४० अर्ब डलरको ट्रेड गरिराखेको छ हिन्दुस्तानले चाइनासित । तर, यो सानोतिनो नेपालमा आउने १०–२० मिलियनको कन्ट्राक्टरमा उसले कि ऊ गर्‍या ? (उसले किन चासो राख्या भन्न खोज्या होला) तर, उसले एउटा सन्देश चाहिँ दिन खोजिराख्या छ, यो एउटा साउथ एसिया ‘मनरो ड्रक्टिन’ पनि भन्छ । यसमा गम्भीरतापूर्वक ध्यान दिनोस् ।

अमेरिकारको उदय हुँदैगर्दाखेरि १९ शताब्दीमा उसले युरोपियनहरूलाई भन्यो–अब यो मेरो ‘स्पेयर अफ इन्फ्लुएन्स’ भयो हेर । जेम्स मनरोले चाहिँ के भने भने तल ब्राजिल पोर्चुगिजहरूको (प्रभुत्व) थियो, बाँकी ल्याटिन अमेरिका जम्मै स्पेनिसहरूको थियो । एक दुईवटा सानोतिनो फ्रेञ्च उपनिवेशहरू पनि थिए । अब तिमीहरू हल्ला नगर, यहाँ यो मेरो ‘स्पेयर अफ इन्फ्लुएन्स’ भयो । त्यसलाई ‘मनरो डक्ट्रिन पनि भनिन्छ’ । अब साउथ एसिया पनि ‘मनरो डक्ट्रिन’ पनि आयो । साउथ एसियामा ‘मनरो डक्ट्रिन’ आयो ।

अब इण्डिया इज अ राइजिङ पावर । उसले भन्यो कि यो ‘स्पेयर अफ इन्फ्लुएन्स’ मा तिमी बाहिरी शक्तिहरू दख्खल नगर । यो कुरा हामीले बुझिदिनुपर्छ । (मैले कोट गरेका शब्दहरूमा ध्यान दिइयोस्) राइजिङ पावरहरूको अलिकति इतिहासका विद्यार्थीहरूले यसलाई सहजै ‘ग्रयाप्स’ गर्नुहुन्छ ।

यस्तो हाम्रो र नेशनालिजममा जाग्नुहुन्न भन्ने मलाई लाग्छ । हामी प्राक्टिकल हुनुपर्‍यो, व्यवहारिक हुनुपर्‍यो । हाम्रो हो जिंगोइजम (अन्धराष्ट्रवाद) लाई अलि मेलो गरेर साधन के हो, साध्य के हो छुट्याएर हेर्नुपर्छ ।

यहाँ ‘मनरो डक्ट्रिन’ को प्रसङ्ग आयो । १७८३ मा अमेरिका स्वतन्त्र भयो र १८२३ मा अमेरिकाका पाँचौं राष्ट्रपति जेम्स मनरोले अमेरिकी कंग्रेसमा भाषण गर्दै यो मूल रूपमा १८२३ मा स्थापित एक नीति वक्तव्य थियो, जसले अमेरिकीहरू र युरोपेलीहरूको अलग-अलग प्रभाव क्षेत्र निर्माण गर्ने कुरा अघि सारेको थियो ।

संयुक्त राज्य अमेरिकाले युरोपेली व्यापारबाट बाहिर रहने र युरोपियनहरू ल्याटिन अमेरिका र क्यारेवियन क्षेत्रभन्दा बाहिर रहने कुरा थियो । ‘मनरो डक्ट्रिन’ मूल रूपमा नेपोलियनको शासनको पतनसँग जोडिएको थियो । स्पेन आफ्नो उपनिवेश पुनः प्राप्त गर्न ल्याटिन अमेरिकामा नफर्कोस् भन्ने अमेरिकाको चाहना थियो । किनभने, ब्राजिलमा पोर्चुगिजहरूको उपनिवेश थियो, यता हाइटी लगायत क्यारेबियन क्षेत्रका केही ठाउँ फ्रेञ्चहरूको नियन्त्रणमा थियो र सम्पूर्ण ल्याटिन अमेरिका स्पेनिसको थियो । अहिले पनि त्यहाँ उनीहरू स्पेनिस भाषा बोल्छन् ।

अमेरिकामा गणतन्त्र थियो । स्पेन र युरोपमा राजतन्त्रवादीहरू थिए । उनीहरू के चाहन्थे भने नेपोलियनको पतनपछि…१८२२ तिरै जोसे मार्टी र सिमोन बोलिभारको नेतृत्वमा बोलिभिया, अर्जेन्टिनालगायत सम्पूर्ण देशमा मुक्ति आन्दोलन चलेको थियो । बोलिभियाको नामै बोलिभारबाट रहन गएको थियो ।

त्यो आन्दोलन एकातिर चर्किरहेको थियो । अमेरिकाले स्पेन नफर्कोस्‌ भन्न अमेरिका अमेरिकीहरूको हो, त्यसकारण यहाँ युरोपेलीहरू फर्कन पाउँदैनौ, तिमीहरू यहाँ नआऊ भन्यो । युरोप र अमेरिकाको बीचमा प्रतिद्वन्द्विता थियो । त्यसैले यहाँ नआऊ भनेर उसले ‘मनरो डक्ट्रिन’ भन्यो ।

यो २ डिसेम्बर १८२३ मा अमेरिकी कंग्रेसमा तत्कालीन अमेरिकी राष्ट्रपति जेम्स मनरोले भनेका थिए । र, यो त्यो बेलाको अमेरिकी विदेश नीतिको अंश थियो । तर, आज यो आएको २०० वर्ष भयो ।

त्यो ‘मनरो डक्ट्रिन’को परिकल्पनाकार र त्यसलाई नीतिका रूपमा अघि सार्ने व्यक्ति भने जेम्स क्विन्स हेडम्स थिए । जो शायद पछि अमेरिकाक राष्ट्रपति पनि भए । यही नीतिको वक्तव्यलाई अमेरिकी संसद्‌मा पेश गरेका थिए र त्यो युरोप र अमेरिका बीचको द्वन्द्वबाट ‘मनरो डक्ट्रिन’ को जन्म भएको थियो ।

त्यो बेला अमेरिका एउटा राइजिङ पावर (उदयीमान शक्ति) का रूपमा र यता एसियामा जापान राइजिङ पावरका रूपमा आइरहेका थिए । त्यो अवस्थामा आएको यो सिद्धान्त औचित्यहीन भइसक्यो । आज २०० वर्ष भयो ।

इण्डियाले आजसम्म आफ्नो कुनै पनि औपचारिक विदेशनीति सम्बन्धी डकुमेन्टमा ‘साउथ एसियन मनरो डक्ट्रिन’ भनेको छैन । र, नेपालले कहिल्यै पनि यो स्वीकारेको छैन ।

यहाँनेर हामीले बुझ्नुपर्छ भने नेपाल के हो ? नेपाल अनादिकालदेखि एउटा स्वतन्त्र भूमिको रूपमा रहँदै आएको छ । लिच्छवीकालमा पनि यो स्वतन्त्र र स्वाभिमानी राष्ट्रका रुपमा रह्यो । किरात कालमा भर्खर–भर्खर राज्यले आकार ग्रहण गर्न लागेका बेला पनि यो स्वतन्त्र थियो । जब गुप्तहरू र लिच्छवीबीच द्वन्द्व भयो, त्यो बेला चीनबाट यहाँ एकचोटि हस्तक्षेप भएको छ ।

भारतबाट मुस्लिमहरूको हस्तक्षेप भयो, त्यो बेला गुप्त र लिच्छवी, नरेन्द्रहरूको द्वन्द्वमा चिनियाँहरूले एकचोटि सैनिक हस्तक्षेप गरेका छन् । त्यसैले दुबै हस्तक्षेपसँग नेपालले जुध्दै आफ्नो स्वतन्त्रता जोगाएर आएको छ ।

मल्ल कालमा नेपालले आफ्नो प्रभाव झन् बढायो र तिब्बतमा टक (मुद्रा) छापेर पठाउने अधिकारसमेत लियो । तिब्बतमा विजयी भएर फर्कंदा भीम मल्ल काटिएको प्रसङ्ग त चलन-चल्तीमै छ ।

पृथ्वीनारायण शाह र बहादुर शाहको एकीकरण अभियान तत्कालीन ब्रिटिश साम्राज्यसँगको सुगौली सन्धिबाट रोकिए पनि यसले ब्रिटिश साम्राज्यको प्रभुत्व कहिल्यै पनि स्वीकारेन । र, तिब्बतसँग लड्दाखेरि शाहकालमा भएको बेत्रावती सन्धि, त्यहाँ बसेर गरिएको सन्धिको ढुङ्गो अहिले पनि देखाउँछन् । जहाँ बसेर चीनसँग सन्धि भएको थियो‍- त्यसलाई बेत्रावती सन्धि भनिन्छ ।

त्यसपछि सबभन्दा महत्वपूर्ण कुरा- सन् १९२३ मा, ‘मनरो डक्ट्रिन’ आएको ठ्याक्कै सय वर्षपछि नेपाल र ब्रिटेनबीच श्री ३ महाराज चन्द्र समशेरका बेलामा काठमाडौंमा एउटा सन्धि भयो । सन् १९२३ को सन्धि भनेर जसलाई ब्रिटिशले के मान्यो भन्दा नेपाल एउटा स्वतन्त्र र स्वाधीन देश हो । त्यो बेला भारत कहाँ थियो ?

त्यो बेला आजको भारत, आजको पाकिस्तान, आजको बंगलादेश, आजको बर्मा, आजको श्रीलंका, सब ब्रिटिश साम्राज्यको अधीनमुनि उपनिवेशका रूपमा थिए । त्यसैले हामीले के बुझ्नुपर्‍यो भन्दाखेरि नेपाल कहिल्यै पनि कुनै ‘डक्ट्रिन’ को मातहतमा, प्रभावमा रहेको छैन ।

त्यो बेला ब्रिटेनले नेपाललाई एउटा स्वतन्त्र राज्यका रूपमा स्वीकारेर सन्धि गर्नु नेपाली इतिहास र स्वतन्त्रताको सम्मान थियो र तत्कालीन नेपाली कूटनीतिक कौशलको उपलब्धि पनि थियो । जसबाट आज पनि सिक्नुपर्छ ।

प्रजातन्त्र आएपछि एउटा घटनामा चीनसँगको विवादको सन्दर्भमा जवाहरलाल नेहरुले इण्डियाको पार्लियामेन्टमा बोले कि उत्तरको हिमालयसम्म हाम्रो सुरक्षा अवधारणा छ, हाम्रो प्रभाव क्षेत्र पर्छ । तत्कालीन जननिर्वाचित प्रधानमन्त्री वीपी कोइरालाले त्यसलाई सार्वजनिक रुपमा खण्डन गरे । नेपाल एउटा स्वतन्त्र र स्वाधीन देश हो, यो भारतको प्रभाव क्षेत्रभित्र पर्दैन भने । र, जवाहरलाल नेहरुले त्यसलाई सार्वजनिक रूपमै स्वीकारे ।

त्यसपछि हामीले के बिर्सनुहुन्न भन्दा नेपालमा राजनीतिक गञ्जागोल भएका बेला उत्तरी चेकपोष्टमा राखिएका भारतीय सेनाहरूमध्ये महेन्द्र राजा र कीर्तिनिधि विष्ट प्रधानमन्त्री भएका बेलामा भारतले नचाहँदा नचाहँदै पनि फिर्ता गरिएको थियो । त्यहीबेला कालापानी, लिपुलेक र लिम्पियाधुरामा राखिएको फौज फिर्ता गर्न नसक्दा आज त्यो भू-भाग मेरो हो भनेर भारतले भनिरहेको छ । तर, नेपालले आफ्नो नक्सामा केपी ओलीका पालामा छापेर त्यो भू-भाग नेपालको हो र त्यसलाई नेपालले गुमाउन सक्दैन भनेर आफ्नो अडान सार्वजनिक रूपमा राखेको छ ।

राजा महेन्द्र, राजा वीरेन्द्र र प्रधानमन्त्री केपी शर्मा ओली हुँदा भारतले तीन–चारपल्ट नाकाबन्दी लगायो । तर, नेपाल कहिल्यै पनि झुकेन । उसले डक्ट्रिन मानेन ।

आज एकजना नेपाली सांसदको मुखबाट कतै चर्चामा नभएको र भारतले पनि कतै उल्लेख नगरेको ‘साउथ एसियन मनरो डक्ट्रिन’ निस्कनु र त्यसलाई नेपालले बुझिदिनुपर्ने कुरा निस्कनु अत्यन्त लज्जास्पद र खेदजनक छ । यस्तो कुराको आलोचना र भत्सर्ना गरिनुपर्छ ।

उहाँहरूकै पार्टीका निलम्बित महामन्त्री मुकुलजीले सार्वजनिक रूपमा लगाएको आरोप थियो, मैले त्यसलाई पार्टीबाट निक्लिएको सन्दर्भमा लगाइएको आरोप होला भनेर गम्भीरतापूर्वक लिएको थिइनँ । तर, जब यो भाषण सुनें- यो भाषणमै हाम्रो स्वर्णिमजी के भन्नुहुन्छ भन्दाखेरि भारतीय अधिकारीहरूसँग भारत जाँदा मेरो भेट भएको थियो, विभिन्न भएको थियो… ठ्याक्कै त्यसपछि उहाँले बोल्नुहुन्छ– हामीले भारतीय कुरा बुझिदिनुपर्छ । ‘साउथ एसियन मनरो डक्ट्रिन’ आयो, अब त्यसलाई बुझिदिनुपर्छ । बाफ रे बाफ ! यो भन्दा दुःखद कुरा के हुन सक्छ ?

म तपाईंलाई भन्छु– यो साउथ एसियामा ‘मनरो डक्ट्रिन’ कहाँ छ ? पाकिस्तानमा ? पाकिस्तान र भारतको टसल हामीले देखिरहेका छौं, जसले गर्दा सार्क सम्मेलन हुन सकेको छैन ।

बंगलादेशले चीनसँग पनि ब्यालेन्स गरिराखेको छ र भारतको भन्दा बढी लगानी चीनको बंगलादेशसँग छ ।

जसले देशको स्वाधीनताको कुरा गर्छ, देशको स्वाभिमानको कुरा गर्छ, देशको स्वतन्त्रताको कुरा गर्छ, त्यो कच्चा राष्ट्रवादी ? त्यो कुरा उठाउनु जिंगोइजम (अन्धराष्ट्रवाद) हुन सक्छ ?

राष्ट्रपतिको चुनाव हुनुभन्दा अगाडि ७/८ लाख मात्रै जनसंख्या भएको माल्दिभ्सले के भन्यो भन्दाखेरि मेरो देशमा रहेका भारतीय सैनिकहरू फिर्ता गर्नुपर्छ । जब चुनाव सकियो- राष्ट्रपतिले भारतीय सेना फिर्ता जाऊ भने । बडो अन्कनाएर बीचको बाटो भारतले के दियो भन्दाखेरि ल ! सैनिक राख्दैनौं, भूपू सैनिकहरू राख्छौं भनेर ४०/५० जना पठायो । माल्दिभ्सले त्यो पनि मानेन र त्यसलाई पनि फिर्ता पठायो ।

७/८ लाख जनसंख्या भएको सानो देशले आफ्नो सार्वभौम सत्तालाई त्यसरी रक्षा गर्छ भने ३ करोड नेपाली भएको यो देशले आफ्नो स्वाभिमान, आफ्नो निर्णयको अधिकार र आफ्नो सम्मान गुमाउन सक्दैन ।

दुःखद कुरा त हाम्रो संसद्‌भित्र हाम्रो सांसद्‌बाट यो कुरा आयो । त्यसो भएको हुनाले मैले यसलाई यत्तिका गम्भीरतापूर्वक उठाउनुपर्‍यो । र, यो उहाँको भनाइ नेपालले लिँदै आएको असंलग्न परराष्ट्र नीति, नेपालको स्वतन्त्रता, सार्वभौम सत्ता र असंलग्न परराष्ट्र नीतिको विपरीत छ । स्पष्ट रूपमा यसले देशविरोधी सारतत्वलाई बोकेको छ । यसले नेपालका देशभक्तहरूको अपमान गरेको छ । उनीहरूलाई भनिएको छ ‘र नेशनलिजम !’

‘र नेशनलिजम’ भनेको के ? कच्चा राष्ट्रवाद । जसले देशको स्वाधीनताको कुरा गर्छ, देशको स्वाभिमानको कुरा गर्छ, देशको स्वतन्त्रताको कुरा गर्छ, त्यो कच्चा राष्ट्रवादी ? त्यो कुरा उठाउनु जिंगोइजम (अन्धराष्ट्रवाद) हुन सक्छ ?

यहाँ भन्नैपर्छ, भारत राइजिङ पावर हो भने चीन के हो ? हाम्रो छिमेकी हो । भारत संसारमा अहिले पाँचौं अर्थ शक्ति हो । चीन दोस्रो अर्थशक्ति हो । संसारको कारखाना भनिन्छ चीनलाई । सैनिक शक्ति पनि भारत र चीनबीच तुलना हुँदैन ।

यो गम्भीर कुरामा छानविन आयोग बनाउनोस् त म भन्दिनँ, तर नेपालको संसद्‌ले अध्ययन गर्नुपर्छ । नेपालको स्वाभिमानलाई जोगाउने हो, पूर्खाहरूले जोगाएका थिए, हामीले पनि आफ्नो ज्यान र रगत दिएर भए पनि जोगाउनुपर्छ । यसो भन्नु कच्चा राष्ट्रवाद र जिंगोइजम हुँदैन । चेतना भया ।

भोलि कसैले चीनको ‘मनरो डक्ट्रिन’ को कुरा गर्‍यो भने हामीले के गर्छौं ? नेपालले न चीनको ‘मनरो डक्ट्रिन’ आयो भने त्यसलाई स्वीकार्छ, न भारतको कुरा स्वीकार्छ । न अरू कुनै देशको स्वीकार्छ । त्यसैले नेपालले लिएको स्वाधीन परराष्ट्र नीतिलाई अगाडि बढाउनुपर्छ । त्यसैले यो गम्भीर कुरामा छानविन आयोग बनाउनोस् त म भन्दिनँ, तर नेपालको संसद्‌ले अध्ययन गर्नुपर्छ ।

किनभने, जे ढङ्गले उहाँहरूको महामन्त्रीले आरोप लगाउनुभयो, उहाँहरूको झगडा मात्रै ठानेको थिएँ मैले । तर, जब त्यो उहाँको थोरै भिडियो क्लिप आयो, मैले त्यति मात्रै सुनिनँ, पूरा भिडियो क्लिप सुनेपछि म यो कुरा भन्दैछु । आज मलाई एकदम दुःख लागेको छ । आफू सरहको, आफू समानको एकजना विद्वान सांसद्‌को मुखबाट देशलाई अहित हुने, घुमाएर नेपाललाई भुटान बनाउने ! जब कि आज भुटानसमेत चीनसँग सम्बन्ध राख्न खोज्दैछ ।

आज हामी ‘मनरो डक्ट्रिन’ भन्छौं भने ‘मनरो डक्ट्रिन’ ल्याटिन अमेरिकामा कहाँ छ ? बाजिलमा वामपन्थी लुलाले जितेर आएका छन् । मेक्सिकोमा अघिल्लो वामपन्थी राष्ट्रपतिले समर्थन गरेको महिला राष्ट्रपतिले जितेकी छिन् । भेनेजुएलामा चाभेजपछि मादुरो छन् । निकारागुआमा डानियल छन् । यो एउटा तथ्याङ्क हो, उहाँ अर्थशास्त्री हो, उहाँले हेर्नुभएकै छ ।

आज अफ्रिका र ल्याटिन अमेरिकामा कसैको धेरै लगानी छ भने चीनको छ । त्यसैले यो विश्व परिस्थितिलाई बुझ्नुपर्‍यो । दुईवटा सुपर पावर भइरहेका शक्तिहरू छन् । तर, यो दुबै सुपर पावरको इन्ट्रेस्टमा हामी लाग्ने होइन । हामीले नेपालको इन्ट्रेस्टलाई, नेपालको स्वाधीनतालाई, नेपालको स्वाभिमानलाई जोगाउने हो, पूर्खाहरूले जोगाएका थिए, हामीले पनि आफ्नो ज्यान र रगत दिएर भए पनि जोगाउनुपर्छ । यसो भन्नु कच्चा राष्ट्रवाद र जिङ्गोइजम हुँदैन । चेतना भया !

अब डा. स्वर्णिम वाग्लेको जवाफ उनकै शब्दमा सुनौं–

हिजो यस गरिमामय सदनमा मेरो नाम नै लिएर एउटा अपव्याख्या र लाञ्छनाको खेदजनक अभ्यास भयो । त्यसो गर्न तोकिएको समयभन्दा ५ मिनेट ४० सेकेण्ड बढी दिइएको छ । घडी हैन, विषय हेरेर सभामुखज्यूले मलाई पनि न्याय गर्नुहुने आशा मैले गरेको छु ।

एकजना भाइ छन्- डा. पुकार मल्ल । अमेरिकामा पीएचडी गरेर फर्किएका । (छोटो बोल्न बीचमै सभामुखको रुलिङ)

मैले हिजोको नजिर मात्र फलो गर्न खोजेको । सम्मान छ यहाँको रुलिङप्रति !

पुकार मल्लले एकचोटि निम्तो पठाउनुभो मलाई । दायित्व अभियान चलाउनुभएको । युवा नेतृत्व, सुशासन, उद्यमशीलतामा उहाँले अभियान चलाउनुभएको छ । दाइ एउटा ‘जेफरसनियन लञ्च’ मैले आयोजना गरेको छु, आइदिनुपर्‍यो भन्नुभयो । के रहेछ यो जेफरसनियन लञ्च भनेर मैले गुगल गरेर हेरें ।

अहिले मनरो ड्रक्ट्रिनबारे खुब गुगल गरेर रातारात विज्ञहरू निस्किराखेका छन् । ‘मनरो डक्ट्रिन’ उच्चारणै गर्न नसक्नेहरू पनि रातारात विज्ञ भएको मैले देखिरहेको छु ।

के रहेछ जेफरसनियन लञ्च भन्दाखेरि एउटा टेबल हुने रहेछ । १०/१२ जना बस्ने रहेछन् । एकचोटि एकजनाले मात्र बोल्ने, अरूले सुन्ने । गहन विषयहरूमा समीक्षा हुने । अमेरिकाका एकदम विद्वान, तेस्रा राष्ट्रपति थमस जेफरसनले आफ्नो मन्टेचेलो भन्ने घरमा यस्तो खालको प्राज्ञिक बहसहरू गराउने गर्दारहेछन् ।

अब एउटा नाम हो । एउटा परिवेश थियो । एउटा ऐतिहासिक प्रसङ्ग पनि हो । तर, जेफरसनियन लञ्च भन्दैमा स्वर्गबाट थमस जेफरसन आएर यहाँ भान्सा चलाउने त होइन नि ! त्यसैले यो अलिकति कन्टेक्स्ट (विषयवस्तु), अलिकति नुआन्स (सूक्ष्म अन्तर) बुझ्यौं भने चियाको कफमा एउटा तुफान ल्याउन खोजिरहेका छौं कि ! अतिरञ्जनाको खेती गर्न खोजिरहेका छौं कि ! यसमा ययार्थ र तथ्यमा टेकेर बहस गरिरहेका छौं भन्ने कुरा आफैँ स्वयम्‌सिद्ध हुन्छ ।

जेफरसनपछि म्याडिसन आए । जेम्स मनरो पाँचौं राष्ट्रपति बने । उनले २०० वर्ष अगाडि सात समुद्रपारि एउटा भिन्न परिस्थितिमा एउटा विदेश नीति ल्याएका थिए, जसको सान्दर्भिकता सकिइसकेको छ । ‘मनरो डक्ट्रिन’ आज सान्दर्भिक छैन । तर, त्यसको मर्म चाहिँ सान्दर्भिक छ । प्रासङ्गिक छ ।

भीमसेन थापाको पुख्यौली घर बोर्लाङ गोरखा, मेरो बुङ्कोट गोरखा । वल्लो डाँडा- पल्लो डाँडा ! तीन डाँडापारी पृथ्वीनारायण शाह ! गोर्खाली राष्ट्रवादको रगतै खोज्ने हो भने अलिअलि अंश ममा पनि छ

त्यसको मर्म के हो भने सबै उदीयमान शक्ति राष्ट्रहरूले आफ्नो छिमेक नीतिमा चासो राख्दछन् । आफ्नो प्रभाव क्षेत्र, आफ्नो ‘स्पेयर अफ इन्फ्लुएन्स’ मा आफ्नो इन्ट्रेस्ट राखेका हुन्छन् ।

भारतको घोषित ‘छिमेकी पहिलो’ नीति छँदैछ । जसलाई नेपालले सम्मान गरेको छ । चाइनाको एक चीन नीतिलाई हामीले सम्मान गरेका छौं ।

चाइनाको त जनवादी गणतन्त्र जन्मनुभन्दा दुई वर्ष अगाडि नै ताइवान लखेटिएका च्याङकाइसेकले कोमिन्ताङले अपनाएको ११ वटा धर्सोले सीमाङ्कन गरेको आफ्नो ‘स्पेयर अफ इन्फ्लुएन्स’ आज मलेसिया र ब्रुनाइको समुद्रसम्म पनि चीनको दाबी रहेको छ ।

सकेको बेला नेपालले पनि गरेको थियो । जेम्स मनरोका पालामा यहाँ भीमसेन थापा हुनुहुन्थ्यो । भीमसेन थापा, थापाकाजीहरूको पुर्ख्यौली घर बोर्लाङ गोरखा, मेरो बुङ्कोट गोरखा । वल्लो डाँडा-पल्लो डाँडा ! तीन डाँडापारी पृथ्वीनारायण शाह । गोर्खाली राष्ट्रवादको रगतै खोज्ने हो भने अलिअलि अंश म मा पनि छ ।

रूस र युक्रेनको युद्धको जड पनि त्यही नै हो । त्यसैले, सक्नेले आफ्नो प्रभाव जमाउन खोज्छ । रियल पोलिटिक्स भनेको यही हो । दुई हजार वर्षदेखि ‘राइज एण्ड फल अफ ग्रेट पावर’को हामीले रोमनदेखि लिएर पोर्चगिजदेखि ब्रिटिससम्मको अवयवहरू हेर्दा पनि त्यो आफैं इतिहासमा जगजाहेर भएर बसेको छ ।

राष्ट्रको चिन्ता गर्ने राष्ट्रवाद भएको भए आज अफगानिस्तानपछि दोस्रो तन्नम मुलुकका रूपमा नेपाल रहने थिएन । विषयान्तर गर्ने, कुरो नबुझ्ने, बुझे पनि बुझ पचाउने, र डिस्ट्रोएड गर्ने र हाकाहाकी झुठै बोलेर…

अब एक्काइशौं शताब्दीमा एशियाली शाताब्दीमा हामी जाँदैछौं । चीन र भारतको उदय विगत ३५ वर्षमा यति नाटकीय ढङ्गले भएको छ, पर्यटन, पुँजी, सहुलियतपूर्ण वित्त सन्निकटता पूर्वाधारमा नेपालले लाभ लिनुपर्दछ । यस्तो राष्ट्रियता क्राफ्ट गरौं कि उनीहरूको उन्नयनबाट हामीले लाभ लिन सकौं ।

तर, राइजिङ पावरहरूका केही अशिष्टताहरू हुन्छन् । उनीहरूका विराट आश्वासनहरू हुन्छन् । ती रेडलाइनहरूलाई हामीले ‘अनर’ गर्‍यौं भने विन–विन आउटकममा हामी जान सक्छौं ।

राष्ट्रिय स्वतन्त्र पार्टीले जलेश्वरमा एउटा प्रस्तावना तयार गरेको छ । अघि आधिकारिक धारणाको माग भइरहेको थियो । नेपालको इतिहास, सनातन सभ्यता, धार्मिक–सांस्कृतिक विविधतामा आधारित सह-अस्तित्व र पारस्परिक सम्मान, विश्वभर फैलिएका नेपालीहरूको सामूहिक सामर्थ्य, डायस्पोरा र एसियाको उदाउँदो भू-राजनीतिक महत्वलाई आत्मसाथ गर्दै नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधीनता र स्वाभिमानलाई सदा अक्षुण राख्नु नै राष्ट्रिय स्वतन्त्र पार्टीको अभिष्ट रहने छ भने स्पष्ट लेखिएको छ ।

त्यसैले विषयान्तर गर्ने, कुरो नबुझ्ने, बुझे पनि बुझ पचाउने, डिस्ट्रोए गर्ने र हाकाहाकी झुठै बोलेर…। पञ्चायतकालमा कांग्रेस–कम्युनिष्टलाई अराष्ट्रिय तत्व भनिन्थ्यो । अहिले रास्वपाका युवा सांसदहरू हेर्नोस्, २१ जनामा १९ जना हामी ५० वर्षभन्दा मुनि छौं । एउटा युवा शक्ति छ । विदेशमा पढेका, अनुभव हासिल गरेका । अब यिनीहरूलाई भ्रष्टाचारको त आरोप लगाउन सक्नुहुन्न । अक्षमताको त आरोप लाउन सक्नुहुन्न । पञ्चायतकालीन स्मरण गर्दै अराष्ट्रिय तत्वतिर भाष्य निर्माण गर्दैछौं, त्यो खेदजनक छ । त्यसलाई हामीले डटेर सामना गर्छौं ।

हामीलाई मध्यरातमा खुफिया एजेन्सीहरूका प्रमुखहरूलाई बोलाएर गोप्य मन्त्रणा गर्नु छैन । कुनै नदी नालाका सन्धिहरूलाई देखाएर कथित राष्ट्रवादको जगमा पार्टी नै फुटाउने दुस्साहस गर्नु पनि छैन

धेरै थियो भन्नुपर्ने, तर सभामुखज्यूको रुलिङको सम्मान गर्दै एउटा कुरा– राष्ट्रको चिन्ता गर्ने राष्ट्रवाद भएको भए आज अफगानिस्तानपछि दोस्रो तन्नम मुलुकका रुपमा नेपाल रहने थिएन ।

चीन ३५ वर्ष अगाडि ३३३ डलरबाट १३ हजार डलर पुगेको छ, प्रतिव्यक्ति, प्रतिवर्ष आय । नेपाल १८५ बाट १३ सयमा गएर अड्केको छ । १० औं लाख युवाहरू बाहिर गएका छन् । चरम नैराश्य छ । त्यसैले यो सबै कस्तोखालको राष्ट्रवादको अभ्यासले तपाईंहरूले नेपाललाई त्यहाँ पुर्‍याउनुभयो ?

हामी छिमेकी राष्ट्रहरूको उन्नयनमा, प्रगतिमा गाँसिएर आफ्नो सार्वभौमिकतालाई अक्षुण राख्दै आर्थिक लाभ लिने, हाक्काहाक्की सम्वाद गर्ने, आँखामा आँखा जुधाएर कुराहरू राख्ने ! प्रधानमन्त्री नरेन्द्र मोदी यहीँ बोलेर जानुभो १० वर्षअघि ।

दुईवर्ष अघि मैले उहाँलाई भेट हुँदाखेरि ‘महामहिम ! एचआइटी (हाइवे, इन्फो वे, ट्रान्स वे) को त्यत्रो एजेण्डा गर्नुभएको थियो, अपेक्षित गति लिएन नि !’ भनेर मैले उहाँलाई राखें । विदेशमन्त्री जयशंकर त्यतिबेला विदेशसचिव हुनुहुन्थ्यो . मैले उहाँलाई भनें, ‘नाकाबन्दी लगाएर इण्डियाले ऐतिहासिक गल्ती गरेको छ ।’

चीनका मन्त्रीहरूलाई नक्;f फिँजाएर एयर कनेक्टिभिटीमा हामी किन चुक्यौं भनेको छु । अर्को महिना १२ सदस्यीय राष्ट्रिय स्वतन्त्र पार्टीको डेलिगेसन लिड गरेर चिनियाँ नेतृत्वसँग आमने–सामने बहस गर्छौं ।

हामीलाई मध्यरातमा खुफिया एजेन्सीहरूका प्रमुखहरूलाई बोलाएर गोप्य मन्त्रणा गर्नुछैन । कुनै नदी नालाका सन्धिहरूलाई देखाएर कथित राष्ट्रवादको जगमा पार्टी नै फुटाउने दुस्साहस गर्नु पनि छैन ।

हामी नयाँ राजनीतिको संस्कार बसाल्न आएका छौं । अरूको राष्ट्रवाद कागज र भाषणमा होला, मेरो देशभक्ति मेरो दैनिकीमा झल्कन्छ । मेरो देशभक्ति उन्नत विकल्पहरू त्याग्दै मैले रोजेको असाधारण कर्ममा गएर देखिन्छ ।

मेरो आग्रह छ- नयाँ शक्तिलाई गलाउने, झुकाउने, क्यारिकेचर बनाउने स्ट्र-म्यान बनाएर, झूठ बोलेर यसलाई पन्छाउन सकिन्छ कि भन्ने दुस्साहस कसैले नसोच्नुहोला । यसको लागि जुन नैतिक उचाइ र वैचारिक बल चाहिन्छ, त्यो शायदै कम मानिसहरूमा छ । त्यसैले तपाईंहरूले सक्नुहुन्न । यो कुरा गर्न सक्नुहुन्न । यसमा घण्टौं बहस गर्न तयार छौं ।

नेपालको हितलाई केन्द्रविन्दुमा राखेर बदलिँदो विश्व परिस्थिति, एक्काइसौं शताब्दीको एसियन सेञ्चुरीबाट कति लाभ लिने र तपाईंहरूले पुर्‍याउनुभएको दोस्रो गरीब नेपाललाई कसरी समुन्नतिको यात्रामा चाँडो चाँडो फड्को मार्ने भन्ने एजेण्डामा राष्ट्रिय स्वतन्त्र पार्टी प्रतिबद्ध छ । घण्टौंसम्म खुला मैदानमा बहस गर्न जो सुकैसँग पनि हामी तयार छौं ।’

दुबैका कुरा पढिसकेपछि अब को सही, को गलत ? छुट्याउने जिम्मा अमदरणीय पाठककै !