समाचार

सहकारी ठगी प्रकरण : महिला सञ्चालकहरूसँग छलफलमा संसदीय समिति

By खबरहब

September 01, 2024

काठमाडौं – सहकारी ठगी छानबिनका लागि गठित संसदीय विशेष समितिको बैठक आइतबार सिंहदरबारमा जारी छ ।

आइतबार समितिले सहकारीका महिला सञ्चालकहरूसँग छलफल गरिरहेको छ । विभिन्न २९ वटा सहकारीका ५० जना सञ्चालकसँग बयान लिइसकेको समितिले प्रतिवेदन लेखन पनि अघि बढाएको छ ।

समितिले यसअघि नै गोर्खा मिडिया नेट्वर्कका प्रबन्ध निर्देशक एवम् राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित ५० जनासँग बयान लिइसकेको छ ।

अब समितिले प्रतिवेदन लेखनलाई अघि बढाउनुअघि सहकारीका महिला सहकारी सञ्चालकसँग छलफल गरेको हो । छानबिन प्रतिवेदनको प्रारम्भिक मस्यौदा लेखनलाई अघि बढाउने क्रममा महिला सहकारी सञ्चालकहरूसँग पनि छलफल गरिएको सभापति सूर्य थापाले बताएका छन् ।

समितिको गत बुधबारको बैठकले तीन महिनायता भएका काममको  कामको समीक्षा गरेको थियो । अब समितिले साताभित्रै प्रतिवेदनको प्रारम्भिक मस्यौदा बनाउने तयारी थालेको छ ।

तत्कालीन प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससहितको दबाबपछि सङ्कटग्रस्त घोषित २९ वटा सहकारी संस्थाको बचत हिनामिनाबारे छानबिन गर्ने अधिकार दिएर थापाको नेतृत्वमा यो संसदीय समिति बनाइएको थियो ।

समितिले हिनामिना भएको बचत फिर्तासहितका उपायबारे सरकारलाई सुझाउने छ । समितिले हाल भागेर देशबाहिर पुगेका गितेन्द्रबाबु राईसहित १८ जनालाई झिकाउन सकेमात्रै बचत रकम फिर्ता सम्भव हुने जनाएको छ ।

समितिले यसअघि नै पूर्व गृहमन्त्री लामिछानेसँग ९ घण्टा लामो बयान लिएको छ । बयानमा आफ्नो संलग्नता इन्कार गरेका लामिछानेमाथिका आरोपको पनि समितिले विभिन्न कोणबाट छलफल गरिरहेको छ।