ब्रेकिङ स्टोरी

एमालेलाई भाग मिलाउन गण्डकीमा फुटाइयो दुई मन्त्रालय

By खबरहब

September 01, 2024

काठमाडौं- गण्डकी प्रदेश सरकारले मन्त्रालय फुटाएको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले दुई वटा मन्त्रालय फुटाएर संख्या बढाउने निर्णय गरेको हो । यसअघि गण्डकीमा ७ वटा मन्त्रालय थिए अब दुईवटा थपिएपछि ९ पुगेका छन् ।

मु‍ख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय फुटाएका हुन् ।

गण्डकीमा सत्तासाझेदार दल नेकपा एमाले हालसम्म सरकारमा गएको छैन । मन्त्रालय बाँडफाँटमा कुरा नमिलेपछि सरकारमा नगएको एमालेलाई मनाउन मुख्यमन्त्री पाण्डेले मन्त्रालय फुटाएर ४ वटा दिन लागेका हुन् ।

मुख्यमन्त्री पाण्डेले माओवादीको चुनाव चिह्नबाट जितेका नेपाल समाजवादी पार्टीका फणिन्द्र देवकोटा र स्वतन्त्र सांसद राजीव गुरुङलाई सरकारबाट नहटाउने अडान लिएका छन् । तर उनको यो अडानले गण्डकीमा एमाले बिच्किएको छ ।

एमालेले देवकोटा र गुरुङलाई मन्त्री बनाउँदा कांग्रेसकै कोटाबाट बनाउन दबाब दिएको थियो । यस्तोमा एमालेलाई चार मन्त्रालय दिने गरी मुख्यमन्त्री पाण्डेले दुई मन्त्रालय फुटाएका हुन् ।