बलिउड/हलिउड

गोली लागेपछि घाइते गोविन्दा अस्पताल भर्ना

By खबरहब

October 01, 2024

काठमाडौ- भारतीय अभिनेता गोविन्दालाई गोली लागेको छ । मुम्बईस्थित आफ्नै घरमा मंगलबार बिहान कबिर ५ बजे उनलाई गोली लागेको हो ।

भारतीय मिडियाका अनुसार गोली लागे लगत्तै उनलाई मुम्बईस्थित क्रिटिकेयर अस्पतालमा लगिएको थियो । हाल उनी उपचाररत छन् । खुट्टाबाट गोली निकालिएको छ । उनी हाल जोखिममुक्त रहेको बताइएको छ ।

उनी आज बिहानै कोलकता तयार भएका थिए । हतियार दराजमा राख्ने क्रममा ‘मिस फायर’ हुँदा घाइतेको भएको उनको निजी सचिवालयले बताएको छ ।

गोबिन्दाका मेनेजर शशी सिन्हाले भारतीय मिडिया एएनआईसँग भनेका छन्, ‘उहाँले दराजमा हतियार राख्न जानुभएको थियो । हातबाट हतियार खस्यो र मिस फायर भयो ।’

सिन्हाको दाबी अनुसार गोविन्दाले उक्त हतियार राख्नका लागि सरकारबाट अनुमति पाएका छन् ।

घटनाबारे जानकारी हुने बित्तिकै प्रहरी गोविन्दाको घरमा पुगेको थियो । अहिलेसम्म यस घटनासम्बन्धी उजुरी परेको छैन ।

यो घटना हुँदा उनको श्रीमती सुनिता अहुजा घरमा थिइनन् । उनी कोलकात्तामा थिइन् । अस्पतालमा गोविन्दासँग उनकी छोरी टिना छिन् ।