मनोरञ्जन

हलबाट उतारिएको ‘सानो संसार’ कात्तिक ९ देखि प्रदर्शनमा आउने

By खबरहब

October 01, 2024

काठमाडौं- बाढीको कारण देखाएर प्रदर्शन स्थगित गरिएको फिल्म ‘सानो संसार’ नयाँ प्रदर्शन मिति तोकिएको छ । निर्माण पक्षले सोमबार साँझ पोस्टरमार्फत कात्तिक ९ गतेबाट फिल्म पुन: प्रदर्शन हुने जानकारी दिएको हो ।

‘सानो संसार’ गत शुक्रबार अर्थात् असोज ११ बाट प्रदर्शनमा आएको थियो । प्रदर्शन भएकै दिन भारी वर्षा भयो । वर्षाले देशका विभिन्न स्थानमा बाढी–पहिरो गएपछि निर्माण पक्षले शनिबार विज्ञप्ति जारी गरी प्रदर्शन स्थगन गरेको जानकारी दिएको थियो ।

विज्ञप्तिमा लेखिएको थियो, ‘बाढी पहिरो र प्राकृतिक विपत्तिको कारण जनमानसलाई आवतजावत गर्नसमेत कठिन भएको परिप्रेक्षमा सबैभन्दा पहिला आममानिसको जनधनको सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर हाम्रो चलचित्र सानो संसार केही समयको लागि प्रदर्शन स्थगित गरेका छौं ।’

यस फिल्ममा कलाकार केदार घिमिरे ‘माग्ने बूढा’की श्रीमति सीतादेवी तिमल्सेना मुख्य भूमिकामा छन् । उनको यो डेब्यू फिल्म हो । सीतासहित राज पंगेनी शर्मा, अनु दाहाल, अन्जसा रिजाल, शिशिर सिवाकोटीको प्रमुख भूमिका रहेको छ ।

त्यही मितिमा प्रदर्शनमा आएको फिल्म ‘आँखा’को प्रदर्शन रोकिएको छ । यस फिल्मको निर्माण पक्षले भने नयाँ प्रदर्शन मिति तोकेको छैन ।