काठमाडौं– महाकवि लक्ष्मीप्रसाद देवकोटाको एक सय १६ औँ जन्मजयन्तीका अवसरमा काठमाडौंको तिलगंगास्थीत त्रिमूर्ति निकेतनमा रहेको महाकवि देवकोटाको पूर्णकदको शालिकमा माल्यार्पण गरिएको छ ।
शुक्रबार रामगीता वाङ्मय मन्दिर अमेरिकाका अध्यक्ष गीता खत्री तथा त्रिमूर्ति निकेतनका संस्थापक तथा अध्यक्ष इन्दिरा प्रसाईँ लगायतले देवकोटाको पूर्णकदको शालिकमा माल्यार्पण गरेका हुन् ।
त्यस अवसरमा कविशिरोमणि लेखनाथ पौड्याल र नाट्यसम्राट बालकृष्ण समको पूर्णकदको शालिकमा पनि माल्यार्पण गरिएको थियो ।
माल्यार्पणपछि आयोजित काव्य सभामा कवि कृष्ण बाउसे लगायत कविहरू ललिता जोशी, यादव भट्टराई, भगवती बस्नेत र रश्मी रिमालले कविता वाचन गरेका थिए भने विभिन्न स्रष्टाहरूले त्रिमूर्ति अर्थात् कविशिरोमणि, नाट्यसम्राट र महाकविले देखाएको बाटोमा हिँड्नु नै त्रिमूर्तिप्रतिको सच्चा श्रद्धाञ्जली हुने बताए ।
महाकवि देवकोटाको जन्म विसं १९६६ सालमा कार्तिक कृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन काठमाडौंको डिल्लीबजारमा भएको थियो ।
नेपाली साहित्यमा महत्त्वपूर्ण योगदान गरेका देवकोटाको निधन २०१६ साल भदौ २९ गते भएको थियो ।