आर्थिक

आधुनिकताको नाममा मौलिकता गुमाउँदै तिहार

By खबरहब

November 01, 2024

काठमाडौ- सिन्धुली घर भएकी खुसी अर्याललाई अहिलेको तिहार त तिहार जस्तै लाग्दैन । अहिले उनी जागिरका सिलसिलामा काठमाडौंमा छिन् । उनलाई कामले गर्दा गाउँ जाने फुर्सद हुँदैन । त्यसैले तिहार काठमाडौमै मनाउनुपर्ने बाध्यता छ । तिहार गाँउमा जति रमाइलो सहरमा नहुने उनी बताउँछिन् ।

‘अहिले त तिहार पहिलेको जस्तो रमाइलो छैन । पहिले गाँउमा कति रमाइलो हुन्थ्यो, रातभर सेलरोटी पकाउँदै कुरा गर्ने, माला गाँसेर बस्ने गरिन्थ्यो । देउसी भैलो पनि उत्तिकै खेलिन्थ्यो’, उनले भनिन्, ‘सबै परिवार भेला हुँदा कति खुसी हुन्थ्यौँ । दिदीहरू सबै माइत आउँथे । अहिले त तिहार आएजस्तै लाग्दैन ।’

उनका दाजुभाइ पनि विदेशमा छन् । काकाका छोरालाई टीका लगाइदिन्छिन् । उनलाई अहिले परिकार तयार पार्न जाँगर चल्दैन । सबै बजारबाटै किन्ने गरेको उनी सुनाउँछिन् । ‘अहिले त सबैकुरा बजारमा पाइन्छ । तयारी पनि केही हुँदैन । आवश्यक परेको कुरा नजिकै पाइन्छ । खोज्न जानु पर्दैन । सबैकुरा एउटै सेटमा पाइन्छ । त्यही किने पुगिहाल्छ’ उनले भनिन् ।

केही अघिसम्म तिहारको समयमा मीना दाहाललाई भ्याइनभ्याइ हुन्थ्यो, के के पकाउने भनेर । धेरै सामग्री भेला पार्नुपथ्यो । दाजुभाइलाई माला तयार गर्ने, फूल जोहो गर्नु पथ्र्यो । उनलाई त्यसबेला बढी काम गर्नुपथ्र्यो, तर अहिले आनन्द छ । भाटभटेनी जान्छिन्, सबै कुरा त्यहाँ तयार राखिएको हुन्छ, त्यही लाएर उपहार दियो ।

‘तर पहिले घरमा काम गर्दा रमाइलो हुन्थ्यो, अहिले त सुनसान छ । पहिले तिहारमा सबै दिदीबहिनीले एक एकवटा खानेकुरा बनाएर लिएर माइत जान्थ्यौँ, अहिले त सबैले तयारी सामानको प्याकेट लिएर जान्छौँ’, उनले भनिन्, ‘अहिलेको जस्तो काजु बदाम र मिठाई, फलफूल हुँदैन थियो । खर्च पनि कम हुन्थ्यो,अहिले बढेको छ ।’ सहरमा बसेपछि बजारमा जे छ त्यही किन्ने गरेको उनी बताउँछिन् । उनीहरूका दिदिबहिनीले अघिल्लो वर्ष पनि दाजुभाइलाई सुनको ब्रासलेट बनाइदिएको उनी सुनाउँछिन् ।

तिहार दाजुभाइ र दिदिबहिनीको पर्व हो । दिदीबहिनीले दाजुभाइको दीघार्यु र दुष्टसँग लड्ने क्षमता बढोस् भनेर मखमली फूल र सप्तरंगी टीका लगाइदिन्छन् । यसरी टिका लगाइदिँदै गर्दा दाजुभाइलाई केही न केही उपहार दिने पुरानो चलन हो । तर अहिले तिहार धेरै फरक भइसकेको छ ।

दाजुभाइलाई दिने सबै कुरा प्याकेटमा आउँछन् । दाजुभाइलाई पनि अर्डरअनुसार उपहार दिने जमाना आइसकेको छ। चाडवाडको रौनक पहिलेको जस्तो छैन । तयारी सामाग्रीहरूले तिहार मनाउने चलन बढ्दै गएको छ । नेपाली बजारमा बनिबनाऊ सामाग्रीहरुले स्वास्थ्यलाई असर गर्छन् । तर तिनै सामाग्रीमा निर्भर हुनु परेको छ ।

मानिसहरुले सबै कुरा मार्केटबाट ल्याउँदा मौलिकता हराएको छ । केही वर्षयता तिहार मौलिकता भुलेर आधुनिकतातर्फ मोडिएको छ । पहिले माटाका पालामा बत्ती बालेर झिलीमिली पारिन्थ्यो भने अहिले विद्युतीय पालाहरु बजारमा छ्यापछ्याप्ती पाइन थालेका छन् । पहिले टीका लगाउने समयमा घरकै सेलरोटी र बनाइन्थ्यो । अहिले प्याकेटका तयारी काजु, बदामसहित दिने गरिन्छ ।

फरक भयो तिहार

१० वर्ष पहिले र अहिलेको तिहारमा आकाश जमिनको फरक छ । १० वर्ष पहिले तिहार मौलिक थियो । अहिले मौलिकता हराइसकेको छ । देउसी भैलो पनि भिडियोमा देखाउन, र पैसा कमाउने माध्यममै सिमित भएको छ ।

लक्ष्मीमाताको पूजा गरेर भैलो खेल्ने चलन थियो । भोलिपल्ट देउसी खेल्नेको जमघट अचेल कमै देखिन्छ । देउसी भैलोको साटो महँगा रेष्टुरेन्टमा हिन्दी गीतमा हल्ला गर्ने क्रम बढेको छ। हाम्रा संस्कृति आधुनिकताका नाममा भुल्दै जाने हो भने नेपालीको पहिचान नै हराउने संस्कृतिविदहरू बताउँछन् ।

संस्कृतिविद डा. गुरु प्रसाद सुवेदीले नेपालमा पाश्चात्य संस्कृति छिरेर मौलिकतामा आँच पुगेको बताउँछन् । हाम्रा परम्परा र मौलिकतामा पश्चिमा संस्कार प्रवेश गरेकाले करात्मक असर पुर्‍याएको उनी बताउँछन् ।

‘हामीलाई पश्चिमाले अतिक्रमण गर्न थालेका छन् । तिहार जस्तो पारिवारिक चाडको पनि मौलिकतामा आँच आएको छ । दिदिबहिनी र दाजुभाइले लगाइदिने सप्तरङ्गी टीका नै हाम्रो मौलिक परम्परा हो’, उनले भने, ‘तर भारतमा मनाइने दीवालीको प्रभाव यहाँ पनि देखिन्छ । दीवाली भनेर हल्ला गर्ने र झिलीमिली पार्ने हाम्रो मौलिक परम्परा होइन ।’

अहिले तिहार मौलिकभन्दा देखावटीका लागि रमाइलो र स्वाथ्यलाई असर गर्ने खानेकुरामा निर्भर रहेको उनी बताउँछन् । ‘पहिले तिहारमा गाँउकै फलफूल र घरकै मिष्ठान्नका परिकार हुन्थे । अहिले नेपाली अल्छी भयौँ । घरमै सामान बनाउँदैनौँ । विदेशबाट करौडौँ खर्चिएर ल्याउँछौँ । पहिलपहिले घरमै ढकमक्क फूल फुलेका हुन्थे । अहिले छिमेकी देशबाट ल्याउँछौँ । प्लास्टिकका माला जाइन्छ । यसले पूरै देशलाई घाटा भएको छ’, उनले सुनाए ।

चाडवाडमा नेपालीको भावना जोडिएको हुन्छ । तर त्यही भावनात्मक चाड पनि खल्लो खल्लो भएको छ । ‘चाडवाड हाम्रा भावनासँग जोडिएका हुन्छन् । तर अहिले भावनात्मक सम्बन्ध खच्किँदै गएको छ’, उनले भने, ‘तिहार चेली माइतीका मनमुटाव हटाउने चाड पनि हो । चेलीले माइतीका लागि स्वास्थ्यका हिसाबले फाइदाजन परिकार दिन्थे । माइतीलाई कुनै रोग नलागोस् भनेर विभिन्न स्थानीय परिकार (चामलको पिठो, दुबो, बेसारको गानोसहित) पिसेर सप्तरङगी दाजुभाइको निधारमा लगाइदिने गरिन्थ्यो । त्यसले दाजुभाइको स्वास्थ्यका समस्या हट्ने विश्वास थियो ।’

अहिले प्याकेटमा विभिन्न केमिकलसहितका उपहार दिने चलन छ । त्यसले गर्दा स्वास्थ्यलाई प्रभाव परिरहेको छ । नेपालीहरुको देखासिकीको समस्याले भावनात्मक मिठास नै हराएको उनी बताउँछन् ।

समयसँगै परिवर्तन आयो

समाजशास्त्री मीना उप्रेती तिहारको मौलिकता कम हुनुमा समाजमा आएको परिवर्तनलाई बताउँछिन् । पहिलेभन्दा अहिले केही नयाँपन देखिएको उनी बताउँछिन् ।

‘अहिले केही नयाँपन देखिएको छ । पहिले सबै दाजुभाइ घरमै हुन्थे । सबै एकै ठाँउमा चाडवाड मनाउदाँको रौनक र रमाइलो छुट्टै थियो, तर अब अवस्था फेरिएको छ । प्रायः दाजुभाइ विदेशमा छन् । दिदीबहिनी एकै ठाँउ भेला हुन सक्ने अवस्था छैन । त्यहीकारण यो परिवर्तन बाध्यता पनि हो । यसलाई नकरात्मक पनि भन्न मिल्दैन’, उनी भन्छिन्, ‘परिवर्तन भन्दै गर्दा हामीले गाँउघरका सामाग्रीलाई महत्व दिन छोड्यौँ । अब प्लास्टिकजन्य सामाग्रीमा रमाउन छाड्नुपर्छ ।’

घरबाट टाढा रहेका दाजुभाइले आफ्ना दिदिबहिनीलाई माया गरेर वा तिहारको सम्झनास्वरुप उपहार पठाइदिनुलाई नकरात्मक भन्न नमिल्ने उनको भनाइ छ । ‘यो चाडवाडको मात्रै कुरा होइन, समाज परिवर्तन भएकाले मानिसको सोच पनि फेरिएको छ ।े तिहारमा पनि केही परिवर्तन भएको छ । यसलाई समाजको परिवर्तन मान्नुपर्छ’, उनले भनिन् ।

अहिले मानिसहरु कामको व्यस्तताले बजारमा निर्भर हुँदा आवश्यक सामाग्री आयात बढेको उनी बताउँछिन् । ‘अहिले धेरै मानिस काममा ब्यस्त हुँदा घर आँगनमा फूल रोप्न, खाद्य सामग्री बनाउन भ्याउँदैनन् । महँगो भएपनि बजारबाटै लिने गर्छन् । त्यसैले अहिले सम्पूर्ण कुराको प्याकेट पाइन थालेको छ । आवश्यकताअनुसार तयार सामानलाई नकरात्मक भन्न मिल्दैन । यस्तै धेरै मानिस सहरमा छन् । चाहेर पनि फूल रोप्न सकिँदैन । सबै सामान ं तयार गर्न सम्भव छैन । यसैले यसलाई गलत भन्न मिल्दैन’, उनले भनिन् ।

एक अर्ब ११ करोडको भाइमसला आयात

चाडवाड भड्किलो बन्दै जाँदा नेपालको घाटा पनि चुलिँदो छ । हाम्रो परम्परामै नभएको भाइमसला अत्यावश्यक बनिसकेको छ । भाइमसलाको लागि बर्षेनि अर्बौँ रुपैयाँ बाहिरिने गरेको छ ।

यस पटक तिहारलाई लक्षित गरेर एक अर्ब ११ करोड सात लाख रुपैयाँ बराबरको भाइमसला अर्थात ड्राइफ्रुट्स आयात भएको छ । चालु आर्थिक वर्षको तीन महिनामा त्यतिका परिमाणको सामान आएको हो । भन्सार विभागका अनुसार भाइमसलामा हालिने गरिने काजु, बदाम, ओखर पेस्ता, नरिवल, छोकडा किसमिस आयात भएका हुन् ।

सबैभन्दा धेरै काजु आयात भएको छ । काजु मात्रै तीन महिनामा २६ करोड एक लाख रुपैयाँ बराबरको २ लाख ९८ हजार ९४६ किलो आयात भएको छ ।

तीन महिनाको अवधिमा २० करोड ९८ लाख ३९ हजार रुपैयाँको ६ लाख ७ हजार २ सय २५ केजी ओखर आयात भएकोे छ । यस्तै, १८ करोड ५९ लाख ५८ हजारको २ लाख ३२ हजार ६९३ किलो बदाम आयात भएको छ ।

यस्तै १० करोड ६१ लाख ६१ हजार रुपैयाँको ३ लाख २४ हजार ६ सय ७५ किलो किसमिस आयात भएको छ ।

तीन लाख २० हजारको नरिवल, दुई लाख रुपैयाँको कटुस, एक करोड ४५ लाखको पेस्ता, एक करोड ३० लाखको छोकडा आयात भएको छ ।