ब्रेकिङ स्टोरी

तिहारका पाँच दिनको महत्व : काग तिहारदेखि भाइटीकालाई यसरी बुझौँ

By खबरहब

November 01, 2024

काठमाडौं- तिहारलाई हामीले यमपञ्चकका रूपमा स्वीकार गर्छौँ । पञ्चकको अर्थ ५ दिन हुन्छन् । तिहारमा त्रयोदशी, चतुर्दशी, औँसी, परेवा र द्वितीया गरेर जम्मा तिहारमा पाँच दिन हुन्छन् ।

तिहारमा राजा बलि र यमराजको बढी महत्व हुन्छ । त्यही भएकाले यमराजको गणका रूपमा काग र कुकुरलाई पनि पूजा गरिन्छ । कागले हाम्रो वातावरण स्वच्छ बनाउन किराहरू खाइदिने, गन्हाउने चिजहरू खाइदिने हुनाले पूजा गर्छौँ ।

कुकुरलाई पनि यमराजकै गणका रूपमा लिइन्छ । कुकुरको महत्व अहिले त झन् बढ्दै गएको छ । सबैभन्दा गुणिलो प्राणी कुकुरको महत्व धेरै छ । कुकुरलाई हामीले सामाजिक प्राणीका रूपमा व्यवहार गर्छौँ । मानिसको सुरक्षा र रेखदेख गर्ने भएकाले पनि कुकुरको पूजा गर्छौँ ।

औँसीका दिनमा लक्ष्मीको पूजा हुन्छ । लक्ष्मी धनधान्यकी देवी मात्रै नभएर विद्याकी देवी पनि हुन् । लक्ष्मीका अनेक रुप छन् । धनलक्ष्मी हुन्छिन्, सौभाग्य लक्ष्मी हुन्छिन्, सौन्दर्य लक्ष्मी हुन्छिन् । लक्ष्मीको मतलब ज्ञानी, सुशील, बुद्धि, धन र ऐश्वर्याकी जननी हुन् । देवताको हामीले पूजा गर्दा आफू पनि त्यही देवतासमान भएर गर्नु पर्छ भनेर शास्त्रमा भनिएको छ । लक्ष्मी सौन्दर्य, सफा र सुग्घरकी प्रतीक हुन् । त्यसैले महिलाले आफू राम्री भएर, सुगन्धित वस्तुको सेवन गरेर, घर सिँगारेर अलक्ष्मीलाई हटाएर लक्ष्मी भित्र्याउने परम्परा छ ।

परेवाको दिन गाईको पूजा गर्ने चलन छ । गाईको सम्बन्ध गोरु र बाछासँग भएकोले उनीहरूको पनि पूजा गर्ने चलन छ । गोरुसँगै हलोको पनि पूजा गर्ने चलन छ । पुराणअनुसार भगवान् कृष्णाले गोवद्र्धन पर्वतलाई उठाउनु भएको थियो । त्यसपछि भगवान इन्द्रको पूजा गर्ने परम्परालाई हटाएर इन्द्रसहित गोवद्र्धनको पनि पूजा गर्नुपर्छ गरिन्छ ।

शास्त्रअनुसार भाइटीकाको दिन दिदीबहिनीको हातबाट खानु, सम्मान गर्नु भनिन्छ । बहिनीलाई पनि दक्षिणा दिनुपर्ने नियम छ । यसो गरे दाजुभाइको आयु बढ्छ भने दिदी बहिनीको पनि वर्षभरी माया सद्भाव बढ्ने विश्वास छ ।

यो परम्परा पशुपालनको युगभन्दा पहिलेदेखि चलेको हो । यो परम्परा आदिम समयदेखि नै चलेको मानिन्छ । दाजुभाइ दिदी हिनीको सम्बन्ध राम्रो हुनु पर्छ भनेर यमुनाले धर्मराजलाई बोलाएर खुवाएको प्रसङ्ग पुराणहरूमा आउँछ । यो पशुपालनदेखि आएको होइन ।

देउसी भैलो

देउसी भैलोको शब्दावलीको विषय पनि महत्वको छ । ‘हरियो गोबरले लिपेको, लक्ष्मी पूजा गरेको’ भनेर भैलो खेलिन्छ । शब्दमा जे भने पनि तिहारको पञ्चकमा कसैले कसैलाई दान गर्छ भने त्यसको ठूलो महत्व छ, यसो गर्नेको उन्नति प्रगति हुन्छ । मन्दिरमा, घरको चारै सुरमा, चौबाटोमा बत्ती बाल्ने चलन पनि छ ।

तिहारका बेला दान र बत्ती प्रज्वलन गर्दा ठूलो पुण्य हुन्छ भन्ने जनविश्वास छ । कसैको घरमा गएर, नाचेर, गाएर, खुसी बनाएर केही दिँदा राम्रो हुन्छ भन्ने शास्त्रमा उल्लेख छ । शब्दहरू त युगअनुसार थपिँदै जान्छन् । ‘यो घरका छोरा छोरी डाक्टर बनुन्’ भन्ने त अहिले आएको हो । तर यसको मूल मर्म भनेको दान गर्नु राम्रो भनेको हो ।

जुनै कुरामा थोरै विकृति आइहाल्छ । पहिला पहिला दानका रुपमा चामल र रोटी लिने चलन थियो । पछि पैसा चलाइयो । होटलमा गएर खेल्नु गलत होला तर यसको मूल मर्म दान नै हो ।

गाउँमा रमाइलो भए पनि काठमाडौं सहरी जीवनमा रमाएको हुनाले थोरै विकृत आउनु स्वाभाविक हो ।

भाइटीकाको महत्त्व

यो दिन दिदी बहिनीको हातबाट खाँदा दाजुभाइको आयु वृद्धि हुन्छ । सुख, सन्तोष र आनन्द प्राप्त हुन्छ भन्ने कुरा स्कन्दपुराणमा पाइन्छ ।

अहिले दिदीबहिनीले दाजुभाइलाई केही दिने तर तर दाजुभाइले चाहिँ दिदीबहिलाई केही नगर्ने भन्ने प्रश्न पनि उठेको छ । तर, शास्त्रमा दिदीबहिनीलाई दाजुभाइले अन्न, वस्त्र, द्रव्य सहयोग गर्दा उनीहरूको पनि उन्नति हुन्छ भनिएको छ ।

कुनै पनि संस्कृतिमा विकृति आउनु स्वभाविक हो । अलिक ठूलो र धनीले बढी दिँदा नभएकाले पनि दिनै पर्छ भन्ने हुँदैन । आफ्नो आर्थिक अवस्था हेरेर मायाका रूपमा मिठाइ फलफूल दिए पनि हुन्छ । दाजुभाइले पनि आफ्नो क्षमताले भ्याएसम्म दिन सकिन्छ । जसरी हुन्छ, संस्कृतिलाई जोगाउनु पर्छ ।

यमुना र यमराजको प्रसङ्ग

यो कात्तिक महिनामा यमुनाले यमराजलाई आफ्नो घरमा बोलाएकी हुन्छिन् । यमुनाले गुनासो गर्दै कहिले पनि फुर्सद नहुने भन्दै गुनासो गरेर एक पटक आफ्नो घरमा पाइला टेक्न आग्रह गर्छिन् । त्यसपछि आएका यमराजलाई उनले भाइटीकाको दिन बोलाएर सम्मान गर्छिन्, मिष्ठान्न भोजन, अन्न वस्त्र दिन्छिन् । त्यसपछि यमराज पनि प्रसन्न भएर बहिनीलाई वस्त्र र अन्न दिएका थिए ।

जसले यो यमपञ्चकमा दाजुभाइलाई भोजन गराउँछ, अन्न, वस्त्र दिन्छ, उनीहरूका दाजुभाइ र दिदीबहिनीलाई दुःख, कष्ट नहोस् भनेर यम र यमुनाले वरदान दिएको किम्बदन्ती छ ।

सप्तरंगी टीका र मखमलीको माला

सप्तरङ्गी टीका इन्द्रेणीको प्रतीक हो । यो टीका लगाइदिँदा रातोले उत्साह जनाउँछ भने सेतोले शान्ति, हरियोले प्रकृतिसँगको सम्बन्ध बुझाउँछ । त्यसैले हामीसँग उत्साह उमङ्ग, सद्भाव होस्, प्रकृतिलाई माया गर्नुपर्छ टीकाले दर्शाउँछ । जसरी मखमलीको माला ओइलाउँदैन, त्यसैगरी हाम्रो सम्बन्ध पनि वर्ष दिनसम्म नओइलाओस् भनेर लगाइन्छ ।

ओखर फोड्ने

जसरी ओखर बाहिर बोक्रो साह्रो भए पनि भित्रको गुदी मिठो र नरमपना हुन्छ, त्यसरी नै दाजुबहिनीको सम्बन्धमा पनि बाहिर केही खटपट समस्या आए भित्र माया र सद्भाव होस् भनिएको हो ।

भोजनका अन्य परिकारहरू अघिपछि बोलाएर खुवाउँछौँ तर यस दिन दाजुभाइलाई खुवाउने हो । समग्रमा यसले दिदीबहिनी र दाजुभाइमा माया–सद्भाव छाओस् भनेको छ ।

बाल्यकालको तिहार

हाम्रो पालामा केटाकेटी हुँदा एक घरबाट अर्को घरमा देउसी खेल्ने गइन्थ्यो । संस्कृति संरक्षण गर्न लाज नमानी देउसी भैलो खेलिन्थ्यो । अहिले किन माग्न जाने भन्ने भयो । सबैजना आफ्नो धुनमा लागेर यो क्रम घटेको जस्तो लाग्छ ।

तिहारमा दाजुभाइलाई सम्मान गरेर मनाउने चलन थियो पहिले । तर अहिले त्योभन्दा म के कम छु भनेर प्रतिस्पर्धाको भावना बढेको देखिन्छ । पहिले एकघरको मान्छे अर्को घरमा जाने नियम थियो । अहिले त मोबाइल फोन चलाएर बस्ने क्रम बढेको छ ।

(यमपञ्चकका पाँच दिनबारे नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा. श्रीकृष्ण अधिकारीले राखेको धारणाको सम्पादित अंश)