स्वास्थ्य

खेलाडीहरूलाई चिकित्सकको सल्लाह– ‘ज्ञान नभएको खेल खेलेर शरीर नबिगार्नुस्’ 

By पवन मुडभरी

December 01, 2024

खेल्ने क्रममा खेलाडीहरूलाई लाग्ने हाडजोर्नी तथा नसाको चोटपटक या कुनै पनि कामदार तथा सडक दुर्घटनामा परेका व्यक्तिहरूमा लाग्ने चोटपटकलाई ‘स्पोर्टस इञ्जुरी’ भनिन्छ । स्पोर्टस इञ्जुरी खेल र कामको प्रकृति अनुसार शरीरका विभिन्न जोर्नीहरूमा हुने गर्दछ । पछिल्लो समय खेलकुदको बारेमा ज्ञान नभएरै विभिन्न खेलहरू खेल्ने, शारीरिक अभ्यासहरू गर्ने प्रवृत्तिका कारण स्पोर्टस इञ्जुरी आम समस्या भएको चिकित्सक बताउँछन् । तर आधुनिकतासंगै उपचारमा आएको नयाँ प्रविधिको प्रयोगले यसको उपचार पनि प्रभावकारी भइरहेको उनीहरूको भनाई छ । स्पोर्टस इञ्जुरीलाई हामीले कसरी बुझ्ने ? स्पोर्टस इञ्जुरी शरीरको कुन–कुन भागमा धेरै हुने गर्दछ ? खेल्ने क्रममा हुने इञ्जुरीको उपचार के –कसरी हुने गरेको छ ? स्पोर्टस इञ्जुरीबाट बच्न के–के कुरामा ध्यान दिने ? यिनै विषयमा वरिष्ठ अर्थोपेडिक, अर्थोस्कोपी तथा स्पोस्र्टस मेडिसिन विशेषज्ञ प्राध्यापक डा. राजीवराज मानन्धरसँग गरिएको कुराकानीको सम्पादित अंश :  

स्पोर्टस इञ्जुरीलाई हामीले सरल भाषामा कसरी बुझ्ने ?  स्पोर्टस इञ्जुरी भनेको एक फरक खालको दुखाई वा इञ्जुरी हो । यो एक्सरसाईज गर्दा वा खेलकुदका क्रममा खेलाडीलाई लाग्ने चोटपटक मात्र होइन । स्पोर्टस इञ्जुरी कारखानामा काम गर्ने मान्छेहरूमा कुइनो दुख्ने, पेन्टिङ गर्नेहरूको कुममा चोट लाग्न सक्छ । त्यस्तै खेतबारीमा काम गर्ने, गरुङ्गो भारी उचाल्ने मान्छेहरूमा पनि हुनसक्छ ।

त्यसैले स्पोर्टस इञ्जुरीलाई हामीले सामान्य भाषामा बुझ्दा हड्डी, नसा र जोर्नीहरूमा  हुने समस्यालाई स्पोर्टस इञ्जुरी भनेर बुझ्न सकिन्छ ।

स्पोर्टस इञ्जुरी शरीरको कुन–कुन भागमा धेरै हुने गर्दछ ?

हाम्रो मसल, शरीरका नसाहरू, जसले हाम्रो हड्डीलाई जोड्ने काम गरिरहेको हुन्छ, त्यसमा इञ्जुरी हुनसक्छ । त्यस्तै अर्को लिगामेन्ट इञ्जुरी यो खेलकुदका क्रममा हुने गर्दछ । विशेष गरी फुटबल खेल्ने क्रममा एसीएल इञ्जुरी, पीसीएल इञ्जुरी एकदमै कमन मानिन्छ । त्यस्तै हाम्रो मसल तथा हड्डीमा हामीले गर्ने दैनिक कामका कारण विभिन्न चोटपटक लाग्न सक्छ । यस्तो इञ्जुरी प्रशस्त हुने गर्दछ ।

नेपालमा स्पोर्टस इञ्जुरीको अवस्था कस्तो छ ?

सर्वप्रथम त हामीले के बुझ्नुपर्छ भने स्पोर्टस इञ्जुरी दुई प्रकारका छन् । एउटा अचानक हुने इञ्जुरी, जसलाई अक्युट इञ्जुरी भनिन्छ । जस्तै अचानक दुर्घटना भएर चोटपटक लाग्नु, खेलकुदकै क्रममा चोट लाग्नु यो अचानक हुने अक्युट इञ्जुरी भयो । कुनै क्रोनिक इञ्जुरी हुन्छ, जस्तै कुनै पेन्टरले दैनिक पेन्टिङ गर्दा कुम दुख्नु , लामो समयको कामले गर्दा हुने पुरानो दुखाई, जसलाई क्रोनिक इञ्जुरी भनिन्छ ।

खेलकुदकै क्रममा हुने इञ्जुरी कुन खेलमा धेरै हुने गर्दछ ?

खेलको प्रकृति अनुसार फरक फरक खालका इञ्जुरीहरु हुने गर्दछन् । जस्तै फुटसलमा सर्वाधिक खेल खेल्ने गरिन्छ् । त्यसैले फुटसल खेल्दा गर्धनको एकदमै कमन समस्या छ । त्यस्तै फुटबल खेल्नेहरुमा एसीएल इञ्जुरी, लिगामेन्ट इञ्जुरी, जोर्नीको इञ्जुरी धेरै हुने गर्दछ । त्यस्तै बास्केटबल, रेस्लिङ, हक्की लगायत विभिन्न खेलकुदहरुमा आआफ्नै खालका चोट अर्थात् इञ्जुरी हुने गर्दछन् ।

हाम्रो शारीरिक तथा मानसिक स्वास्थ्यका लागि खेलकुद पनि आवश्यक छ । तर सही तरिका नजानेर खेल्दा विभिन्न खेलहरुमा गम्भीर खालका चोटपटक लाग्ने सम्भावना त्यत्तिकै हुने गर्दछ ।  खेलकुदका क्रममा हुने इञ्जुरीको उपचार के कसरी हुने गरेको छ ?

कुनै पनि स्पोर्टस इञ्जुरीहरु भयो भने तत्काल त्यसको उपचार खोज्न जरुरी छ । त्यसैले सुरुमा एउटा डाक्टर र सर्जनलाई भेटेर परीक्षण गर्नुपर्छ । त्यो परीक्षणबाट कस्तो खालको इञ्जुरी हो भनेर हामी पत्ता लगाउँछौं । जस्तै कसैलाई फुटबल खेल्दा एसीएल इञ्जुरी भयो । यस्तो खालको इञ्जुरीमा खेलाडी मैदानमा लड्यो भने त्यो बेलामा लिगामेन्टबाट आवाज आउँछ र उसले खेललाई निरन्तरता दिन सक्दैन ।

यस्तो इञ्जुरी भयो भने एमआरआई गरी रिपोर्टअनुसार उपचार गरिन्छ । सबै लिगामेन्ट इञ्जुरीमा सर्जरी नै गर्नुपर्छ भन्ने हुँदैन । त्यो छुट्याउनका लागि स्पोर्टस सर्जनलाई नै भेट्नुपर्ने हुन्छ ।

खेलकुदका क्रममा सर्जरी नै गर्नुपर्ने खालको इञ्जुरी भयो भने खेलकुद जीवनमा कतिको प्रभाव पार्छ ? फेरि खेलकुदमा फर्किन सक्ने सम्भावना कति हुन्छ ?  पहिले पहिले लिगामेन्टमा हुने एसीएल इञ्जुरी कमन थियो । २०, ३० वर्षको उमेरमा यो भयो भने उसको करियर समाप्त भयो । यदि खेल्यो भने पनि राम्रो गर्न सक्दैन भन्ने थियो । तर अहिले खोज अनुसन्धान तथा उपचारमा आएको नयाँ प्रविधिको प्रयोग जस्तै : एमआरआई, अल्ट्रासाउण्ड लगायतका प्रविधिहरु प्रभावकारी हुँदै आएको पाइन्छ ।

हाम्रो उपचारमा आएको नयाँपन प्रभावकारी ठहरिएको छ । पहिले सर्जरी गर्दा पुरै लिगामेन्टहरु खोल्नुपथ्र्यो । यसले ठूलो घाउ हुन्थ्यो । त्यो घाउ निको हुन समय लाग्थ्यो ।

आजभोलिको प्रविधिमा हामीले सानो प्वाल पारेर उपचार गर्छौँ । जसलाई आर्थोस्कोपी भनिन्छ । यो विधिबाट गरिने सर्जरीमा कुनै निश्चित समयपछि खेलाडीहरू खेल जीवनमा फर्किन सक्छन् । मैले नै अप्रेशन गरेका कति खेलाडीहरू अहिले खेलिरहेका छन् । त्यसैले पहिलेको भन्दा उपचार र यसको प्रभावकारिता धेरै राम्रो छ ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा सहभागी भएर नेपाली खेलाडीहरूले राम्रै खेलिरहेका छन् । खेलकुदकै क्रममा हुने इञ्जुरीको समस्या लिएर कत्तिको खेलाडी आउने गरेका छन् ?

स्पोर्टस इञ्जुरी एकदमै कमन समस्या हो । हाम्रो अस्पतालमा मात्रै हप्तामा २, ३ जनाको सर्जरी गर्छौ भनेपछि नेपालमा थुप्रै अस्पतालहरु छन् । त्यो हुनाले धेरै एसीएल इञ्जुरी हुन्छ । यसमा २ प्रकारका बिरामी आउँछन् । एउटा त खेलकुदकै मान्छेहरु आउँछन् । अर्को भनेको हाम्रो साउथ एसियामा सडक दुर्घटनाबाट हुने लिगामेन्टको इञ्जुरीको समस्या लिएर धेरै आउने गर्दछन् ।

यसलाई स्पोर्टस इञ्जुरी भनिए पनि यो हुने कारणहरू चाहिँ फर फरक हुन्छन् । जस्तै मोटरसाइकल चलाउँदा दुर्घटना भएर, हाइकिङ जाँदा लडेर पनि लिगामेन्टमा चोट लाग्न सक्छ ।

खेलकुदकै मात्र कुरा गरौं भने पनि फिटनेस हाम्रो नियमित रुटिङमै समावेश छ । व्यावसायिक खेलाडी भन्दा पनि हामी सबैले दैनिक अभ्यासहरू गर्छौँ । यसले गर्दा पनि स्पोर्टस इञ्जुरीको समस्या लिएर आउने बिरामीको संख्या बढेको छ ।

स्पोर्टस इञ्जुरीको सर्जरीपछि पहिलेकै अवस्थामा फर्किन के कस्ता कुरामा ध्यान दिन आवश्यक छ ?

सर्जरीपछि कति दिनमा के गर्ने भन्ने हाम्रो एउटा प्रोटोकल हुन्छ । जस्तै एसीएल इञ्जुरी मात्रै भएको बिरामीलाई ५२ घण्टापछि अलि अलि खुट्टा टेकाउँछौं । टाँका काटिसकेपछि हिँडाइन्छ । त्यस्तै फुटबल, बास्केटबल खेल्ने खेलाडीहरू छन् भने उनीहरुलाई ९ महिनादेखि १ वर्षपछि मात्रै गर्न सल्लाह दिन्छौँ ।

त्यो भन्दा अगाडि नै खेल्न थाल्यो भने जोखिम हुन्छ । त्यसैले खेलाडीहरूलाई म के भन्छु भने खेल खेल्न पनि महत्त्वपूर्ण छ । तर आफ्नो स्वास्थ्य पनि त्यतिकै महत्त्वपूर्ण छ किनकि एकदमै ठूलो चोटपटक लाग्यो भने फेरि खेल्न सम्भव छैन । केही गरी इञ्जुरी भइहाल्यो भने पनि राम्रोसंग निको भएपछि मात्रै खेल जीवनमा फर्किनुपर्छ ।

खेलकुदका क्रममा या कुनै काम गर्दागर्दै अकस्मात् इञ्जुरी हुँदा तत्काल कस्तो प्राथमिक उपचार गर्न सकिन्छ ?

खेलकुदकै क्रममा इञ्जुरी भयो भने तत्काल एउटा स्प्लिन्ट लाउने, रेष्टको लागि आइसले सेक्ने काम तत्काल गर्नुपर्छ । इञ्जुरीमा तातोले सेक्ने हामी कतिपयको बानी हुन्छ । स्पोर्टस इञ्जुरीमा तातोले सेक्नु राम्रो होइन । चिसोले सेक्दा सुनिएको सन्चो हुन्छ भने तातोले झन बढाउँछ ।

त्यसपछि स्पोर्टस सर्जनलाई तत्काल भेट्नु पर्छ । किनकि उसले हेर्ने तरिका फरक हुन्छ । सिधै गएर एमआरआई गर्यो, एक्सरे गर्यो भने के भएको हो र हामीले हेर्न खोजेको के हो भन्ने कुरा प्रस्ट हुँदैन । स्पोर्टस सर्जनलाई स्पोर्टस इञ्जुरीबारे सबै कुरा थाहा हुन्छ । सबै इञ्जुरी एकदमै खतरा अप्रेसन नै गर्ने खालको हुँदैन । कुनै इञ्जुरीहरु आराम गरेर फिजियो थेरापी गरेरै निको हुने खालका पनि हुन्छन् ।

स्पोर्टस इञ्जुरीबाट बच्न के के कुरामा ध्यान दिन जरुरी छ ?

यसबाट बच्न सर्वप्रथम त खेलाडी शिक्षित हुनुपर्‍यो । मैले कस्तो खेल खेलिरहेको छु ? यो खेल कसरी खेल्ने हो भन्ने कुराहरूको सम्पूर्ण ज्ञान हुनुपर्छ । जस्तै उदाहरणका लागि हामी कुनै अफिसमा  बिहानदेखि बेलुकासम्म बसेर काम गर्छौँ । कार्यालयको कार्यव्यस्तताले हामीलाई एक्सरसाईज गर्ने समय हुँदैन । तर जब शनिबार आउँछ अनि हामी कसिएर खेलको बारेमा कुनै जानकारी नै नभएर खेल्न जान्छौँ । त्यस्तो बेलामा इञ्जुरी एकदम कमन हुन्छ ।

त्यसैले खेलकुदको बारेमा अलिकति रिसर्च गरी खेल्दा मैले के के गर्नुपर्छ भन्ने कुराको जानकारी राख्नुपर्छ । जस्तै बास्केटबल खेल्दा जम्प गरेर ल्याण्डिङ गर्छौँ नि, त्यो ल्याण्डिङ गर्ने पनि तरिका हुन्छ । त्यो तरिका मिलेन भने एसीएल च्यापिन पनि सक्छ । त्यसैले स्पोर्टस इञ्जुरीबाट बच्न कुनै पनि खेल खेल्दा त्यो खेलको बारेमा पूर्ण जानकारी हुन आवश्यक छ ।