ब्रेकिङ स्टोरी

राष्ट्रियसभा निर्वाचन : प्रधानमन्त्री र देउवाबीचको भेटमा के भयो छलफल ? 

By खबरहब

January 02, 2024

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाबीच राष्ट्रियसभा निर्वाचनबारे छलफल भएको छ । 

 मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा उनीहरूबीच राष्ट्रियसभा निर्वाचनबारे भागबन्डा गर्न गठबन्धनमा पहिलो चरणको छलफल भएको हो । 

छलफलका लागि कांग्रेसका शीर्ष नेताहरू बालुवाटार पुगेका थिए । छलफलमा कुन पार्टीलाई कुन प्रदेशमा कति सिट दिने भन्ने कुरामा दुई नेताले कुराकानी गरेका थिए  । बिहान भएको भेटमा करिब २ घण्टा लामो कुराकानी भएको थियो । 

स्रोतका अनुसार कांग्रेस सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगनकुमार थापा, प्रमुख सचेतक रमेश लेखक सहभागी थिए । माओवादीका तर्फबाट प्रधानमन्त्री पुष्पकमल दाहाल मात्र सहभागी थिए । 

राष्ट्रिय सभा सदस्यको चुनाव माघ ११ गते हुँदैछ । जसमा १९ सिटका लागि निर्वाचन हुनेछ । १ सिट भने मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले नियुक्त गर्ने छन् । 

राष्ट्रिय सभा निर्वाचनमा सात दलीय गठबन्धनबीच तालमेल गर्ने सहमति भए पनि सिटका बारेमा कुनै टुंगो भएकाे छैन ।