देश/प्रदेश

जनकपुरधाममा एकै दिन आए १० हजार बढी पर्यटक

By खबरहब

January 02, 2024

जनकपुर– अंग्रेजी नयाँ वर्ष सन् २०२४ को पहिलो दिन जनकपुरधाममा १० हजारभन्दा बढी भारतीय पर्यटक भित्रिएका छन् । धनुषा र महोत्तरीका विभिन्न नाकाबाट एकैदिन १० हजार पर्यटक भित्रिएका छन् ।

पर्यटकको आगमन बढेसँगै जनकपुरधामको चहलपहल बढेको छ । भारतको बिहार राज्यबाट जटही नाका भएर सोमबार ५ बजेसम्म ८७६ जिप र कार, मोटरसाइकल र भिठ्ठामोड नाकाबाट ६५६ जिप र कार, मोटरसाइकल जनकपुरधाम भित्रिएको सिमा सुरक्षा बलले जनाएको छ ।

यसबाट जटही र जनकपुरधाम भन्सार कार्यालयले १७ लाख ६ हजार ५ सय २६ राजस्व उठाएको सम्बन्धित कार्यालयका कर्मचारीहरूले जानकारी दिएका छन् ।

भारतको बिहार, दक्षिण भारत, राजस्थान, गुजरात, महाराष्ट्र, हरियाणा, दिल्ली, पञ्चाब, उत्तर प्रदेश, उत्तराखण्डलगायतबाट पर्यटकहरू आएका छन् । पर्यटकलाई लक्षित गर्दै केही होटलहरूले सांस्कृतिक कार्यक्रमको आयोजना गरेका छन् ।

पर्यटकको संख्या बढेसँगै जनकपुरधाममा सवारीसाधन पार्किङको चाप बढेको छ भने जानकी मन्दिरलगायतका मठ– मन्दिरहरूमा चहलपहल बढेको छ । पर्यटकको आगमनसँगै होटल व्यवसायको चाप २५ प्रतिशतले बढेको व्यवसायीहरूको भनाइ छ ।