देश/प्रदेश

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू

By खबरहब

January 02, 2024

 दिनभर आजमा महिलाहरूद्वारा सञ्चालित उद्योगलाई प्राथमिकता दिन प्रधानमन्त्रीको निर्देशन, खेलकुद क्षेत्रको विकासमा तीनै तहले ध्यान दिनुपर्छ : राष्ट्रपति पौडेल, राष्ट्रियसभाका ६ सिटमा माओवादीको दाबी, १२ आकांक्षी, काठमाडौं महानगरका तीन कर्मचारी निलम्बित, हर्क साम्पाङको सर्त : प्रधानमन्त्री धरान आउनुपर्छ, रुसी सेनामा भर्ना भएका थप तीन नेपालीको मृत्युलगायतका समाचारले प्रमुख स्थान पाए । 

महिलाहरूद्वारा सञ्चालित उद्योगलाई प्राथमिकता दिन प्रधानमन्त्रीको निर्देशन  

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालको राजनीतिक परिवर्तनअनुरूप राज्यका संरचनाहरूमा परिवर्तन हुनुपर्नेमा जोड दिँदै महिलाहरूद्वारा सञ्चालित उद्योगलाई प्राथमिकता दिन निर्देशन दिएका छन् ।

खेलकुद क्षेत्रको विकासमा तीनै तहले ध्यान दिनुपर्छ : राष्ट्रपति पौडेल

राष्ट्रपति रामचन्द्र पौडेलले खेलकुद क्षेत्रको विकासका लागि मुलुकका तीनै तहले ध्यान दिनुपर्ने बताएका छन् ।

मंगलबार काठमाडौंमा तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन गर्दै राष्ट्रपति पौडेलले खेलकुदको माध्यमले युवा विद्यार्थीले आफ्नो आत्मविश्वासका साथै अन्तरनिहित प्रतिभाको विकास गर्न सक्ने भएकाले यस क्षेत्रको विकासका लागि मुलुकका तीनै तहले ध्यान दिनुपर्ने बताएका हुन् ।

राष्ट्रियसभा निर्वाचन : प्रधानमन्त्री र देउवाबीचको भेटमा के भयो छलफल ? प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाबीच राष्ट्रियसभा निर्वाचनबारे छलफल भएको छ ।

मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा उनीहरूबीच राष्ट्रियसभा निर्वाचनबारे भागबन्डा गर्न गठबन्धनमा पहिलो चरणको छलफल भएको हो ।

काठमाडौं महानगरका तीन कर्मचारी निलम्बित काठमाडौं महानगरपालिकाका तीन कर्मचारी निलम्बनमा परेका छन् । कार्यपालिकाको निर्णय प्रमाणीकरण र कार्यान्वयनमा अनियमितता गरेको भन्दै मेयर बालेन शाहको सचिवालय प्रमुख नुरनिधि न्यौपाने, स्वास्थ्य विभाग प्रमुख रामप्रसाद पौडेल, वरिष्ठ शाखा अधिकृत भगवती बिडारी निलम्बनमा परेका छन् ।

राष्ट्रियसभाका ६ सिटमा माओवादीको दाबी, १२ आकांक्षी सरकारको बागडोर सम्हालेको नेकपा माओवादी केन्द्रले राष्ट्रियसभामा गठबन्धन दलबीच भागबन्डा हुँदा कति सिट पाउँछ भन्ने अहिलेसम्म टुंगो लागिसकेको छैन । माओवादीले ६ सिट पाउनुपर्ने दाबी गरेको छ । तर, उसको दलबाट १२ जना आकांक्षी प्रकट भएका छन् ।

राष्ट्रियसभा अध्यक्ष कांग्रेसको भागमा, देउवाको मन सिटौलामाथि आगामी फागुन २१ देखि रिक्त हुने राष्ट्रियसभाको अध्यक्ष पद नेपाली कांग्रेसलाई दिन सत्ता गठबन्धनबीच सहमति जुटेको छ ।

माओवादीका एक पदाधिकारीले खबरहबलाई भने, ‘लिखित सहमति भएको छैन । तर मौखिक र आन्तरिक रुपमा ठूलो पार्टी भएकाले कांग्रेसलाई पर्नु स्वाभाविक हो ।’

हर्क साम्पाङको सर्त : प्रधानमन्त्री धरान आउनुपर्छ

धरान उमपहानगरपालिकाका प्रमुख हर्क साम्पाङ राईको कार्यकक्षमा राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिर राख्ने विषयमा राजनीतिक दलका भातृ संगठन र मेयरबीचको वार्ता निष्कर्षविहीन भएको छ ।

मेयर राईले आफ्नो कार्यकक्षमा राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाएर प्रथम किराती राजा यलम्बरको तस्बिर राखेपछि विवाद चर्कँदै आएको थियो ।

रुसी सेनामा भर्ना भएका थप तीन नेपालीको मृत्यु रुसी सेनामा भर्ना भएका थप तीन जना नेपालीको मृत्यु भएको छ ।

परराष्ट्र मन्त्रालयले थप तीन जना नेपालीको मृत्यु भएको पुष्टि गरेको हो ।

स्रोत सुनिश्चित र वस्तुगत योजना आवश्यक : शिक्षामन्त्री शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले उपलब्ध हुने स्रोतको सुनिश्चितताका आधारमा वस्तुगत योजना बनाएर मात्र शैक्षिक कार्यक्रमअघि बढाइए तोकिएको समयमा त्यसको नतिजा प्राप्त गर्न सकिने धारणा राखेका छन् ।

सरकारलाई सर्वोच्चले सोध्यो-जलवायु परिवर्तनबारे कानुन किन नबनाएको ? सर्वोच्च अदालतले जलवायु परिवर्तनसम्बन्धी कानुन बनाउन दिएको परमादेश बमोजिम हालसम्म कानुन नबनाएको जिकिर गर्दै दायर गरेको अदालतमा अवहेलनासम्बन्धी मुद्दामा सरकारसँग लिखित जवाफ माग गरेको छ ।