समाचार

रुसमा हुने मानवतस्करी रोक्न एनआरएनएद्वारा श्रममन्त्री भण्डारीको ध्यानाकर्षण

By खबरहब

February 02, 2024

काठमाडौं– गैरआवासीय नेपाली संघ (एनआरएनए) ले नेपालीहरू गैरकानुनी माध्यमबाट रसिया गई रुसी सेनामा भर्ना हुने क्रम बढेको र नेपालीहरूको सोही क्रममा बेपत्ता र मृत्यु हुने क्रम पनि बढेको भन्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरदसिंह भण्डारीको ध्यानाकर्षण गराएको छ ।

संघका अध्यक्ष डा. बद्री केसीको नेतृत्वमा बिहीबार मन्त्रालयमा भएको भेटमा संघले गैरकानुनी रूपमा रसिया जाने क्रम रोक्न मन्त्री भण्डारीको ध्यानाकर्षण गराएको हो । 

संघले बिगतदेखी रसियामा काम गर्दै आएका नेपालीहरूको हकमा श्रम नवीकरण र अध्यागमनमा भएको अवरोध हटाई उहाँहरूलाई निर्वाध रुपमा आवतजावत गर्ने वातावरण निर्माण गरिदिन अनुरोध गरेको हो ।

संघले यसअघि  विभिन्न गैरकानुनी माध्यमबाट रसिया गएका नेपालीहरूको सूचना मस्कोस्थित नेपाली दुतावासलाई दिई मानव तस्करीलाई कम गर्न सहयोग गरेको जानकारी दिएको छ ।

नेपाल सरकारका विभिन्न निकायकाबीच समन्वयको कमीले गर्दा विगत लामो समय देखी रसियामा  स्थायी रुपमा बसोबास गर्ने, अध्ययन तथा व्यवसाय गर्ने नेपालीहरूको ठूलो संख्या अप्ठ्यारोमा परेको जनाएको छ । यसरी बसोबास गर्दै  आएका नेपालीहरू छुट्टिमा नेपाल आउँदा अध्यागमनबाट रुस जाने नेपालीहरूलाई रोक्ने, श्रम स्वीकृति  नगर्ने जस्ता घटनाहरू भईरहेकोप्रति समेत संघले ध्यान आकर्षण गराएको छ ।

भेटमा मन्त्री भण्डारीले एनआरएनएका प्रतिनिधिसँग नयाँ गन्तव्य र श्रम बजारको सम्भावनाका विषयमा चासो राख्दै गैरआवासीय नेपालीहरूसंग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता जनाएका छन । संघकी महिला उपाध्यक्ष रोजिना प्रधान राई, महिला सचिव टीका गुरुङलगायतका पदाधिकारीको  सहभागिता थियो ।