समाचार

छात्रावासले चेपाङ बालबालिकाको पढाइमा सुधार

By खबरहब

February 02, 2024

भरतपुर– चितवनको इच्छाकामना गाउँपालिका–२ को वर्ल्याङस्थित राष्ट्रिय आधारभूत विद्यालयमा अधिकांश चेपाङ बालबालिका अध्ययन गर्छन् । यस विद्यालयमा अध्ययनरत ९० विद्यार्थीमध्ये २३ बालबालिका चेपाङ समुदायको अग्रसरतामा सञ्चालनमा ल्याइएको छात्रावासमा बस्छन् ।

गाउँपालिकाको आर्थिक सहयोगमा सञ्चालनमा ल्याइएको यस छात्रावासका कारण चेपाङ बालबालिकाको पढाइमा सुधार भएको छ । शतप्रतिशत चेपाङ बालबालिकाले आवासीय सुविधा लिइरहेको यो छात्रावासमा कक्षा ७ सम्म अध्ययन गर्ने २३ बालबालिका छन् । छात्रावास सञ्चालनपछि बालबालिका विद्यालयमा नियमित भएको र पढाइमा पनि सुधार आएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शेरबहादुर प्रजाले बताए। 

राष्ट्रिय आधारभूत विद्यालय वर्ल्याङले आगामी शैक्षिक सत्रमा कक्षा ८ खुलाउने तयारी गरिरहेको छ । ‘अहिलेसम्म गाउँपालिकाले संरक्षण गरिरहेको छ, व्यवस्थापनको पाटो हामीले नै हेरिरहेका छौँ’, प्रजाले भने, ‘यी नानीबाबुलाई अबको एक वर्ष चिन्ता भएन, त्यसपछि कहाँ लैजाने भन्नेमा अन्योल छ ।’

विद्यालयका प्राचार्य कमला भण्डारीले छात्रावासमा बसेर अध्ययन गरिरहेका विद्यार्थी पढाइमा पनि अब्बल बन्दै गइरहेका बताइन्। उनले यहाँ बसेका बालबालिकाले अनुशासित र सरसफाइमा समेत ध्यान दिने गरेको बताइन्। छात्रावासमा बसेर अध्ययन गरिरहेका बालबालिका पनि आवासीय सुविधासहित अध्ययन गर्न पाउँदा खुसी छन् । 

कक्षा ६ मा अध्ययनरत गीता चेपाङ छात्रावासमा बस्ने मौका पाएकै कारण आफूले पढ्न पाएको बताउँछिन्।

आमा र बुबा दुवैले दोस्रो विवाह गरेपछि अभिभावकविहीनजस्तै बनेकी सुनिता चेपाङ पनि मामाघरमा थिइन् । कक्षा ६ मा पढ्ने उनका भाइहरु पनि यही छात्रावासमा बसेर पढिरहेका छन् । आफ्नो जन्मदिने बाआमाबाट टाढा रहनु परे पनि उनले आधारभूत शिक्षाका लागि अभिभावक पाएकी छन् । छात्रावासमै घरपरिवारजस्तो वातावरण भएको भन्दै उनले ढुक्क भएर पढ्न पाएको बताइन् । 

इच्छाकामना गाउँपालिकाले भौगोलिक विकटतालाई हेरेर विगत चार वर्षदेखि यो छात्रावास सञ्चालनमा ल्याएको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रजाका अनुसार सुरूको वर्ष गाउँलेबाटै नुन, तेल, चामल र तरकारी संकलन गरेर छात्रावासको सुरुआत गरिएको हो । अहिले गाउँपालिकाले वार्षिक रु पाँच लाख बजेट छुट्याइदिएको छ ।

‘गाउँपालिकाले दिएको बजेटबाट खाना बनाउने आमालाई मासिक तलब र छात्रावासको भाडा तिर्ने काममा खर्च गर्न पाएको छ’, उनले भने, ‘बाँकी खानपान र लत्ताकपडाका लागि दाताकै भर पर्नुपरेको छ ।’ माध्यमिक तहको अध्ययन गराउनका लागि समस्या रहेको उनले बताए । 

‘कक्षा ८ पढिसकेपछि कहाँ लगेर पढाउने भन्ने चिन्ता छ’, उनले भने, ‘विद्यालयमा अध्ययनरत अन्य बालबालिका जाने काउले हो, तर छात्रावासका बालबालिकालाई कसरी पढाउने भन्ने नै सबैभन्दा ठूलो चिन्ताको विषय बनेको छ ।’ गाउँपालिकासँग पनि यस विषयमा छलफल चलाइएको उनले बताए। 

वडा नं २ का अध्यक्ष पञ्चबहादुर चेपाङकै प्रयासमा यहाँ छात्रावास सञ्चालनमा आएको हो । कक्षा ८ सम्मका बालबालिकाका लागि गाउँपालिकाले लगानी गरिदिएको उनले बताए। अभिभावक नभएका टुहुरा बालबालिकालाई आवासीयरुपमा अध्ययन गराउने उद्देश्यका साथ छात्रावास सञ्चालनमा ल्याइएको उनले जानकारी दिए । 

‘यहाँ खान बस्ने व्यवस्थासँगै बालबालिकालाई अतिरिक्त कक्षाको पनि व्यवस्था गरेका छौँ’, उनले भने, ‘सबै विपन्न परिवारका बालबालिकालाई छात्रावासमा राखेर पढाएका छौँ ।’ उनले सुरुमा जनप्रतिनिधि, शिक्षक र अभिभावकले मुठी दान गरेर छात्रावास सञ्चालन गरेको भन्दै अहिले गाउँपालिकाले वडामार्फत नियमित बजेट विनियोजन गरेर सञ्चालन गरिरहेको बताए । 

माध्यमिक तहभन्दामाथि एकै ठाउँमा विद्यालय नहुँदा अर्को विद्यालयमा छात्रावास चलाउन सक्ने सम्भावना पनि छैन’, उनले भने, ‘त्यसकारण यस विषयमा स्थानीय अभिभावक, विद्यालय परिवार र जनप्रतिनिधि तथा सामाजिक स्ङ्घसंस्थासँग पनि कुराकानी भइरहेको छ ।’

गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले छात्रावास सञ्चालनपछि चेपाङ बालबालिकाको पढाइमा सुधार आएको बताए। उनले गाउँपालिकाले छात्रावास भवन र अन्य भौतिक संरचना निर्माणका लागि सहयोग गर्ने बताए। 

उनले छात्रावासलाई सुरक्षित र व्यवस्थित बनाउन पहल गरिने बताए। चेपाङ बालबालिकालाई विद्यालयमा टिकाउन अन्य ठाउँमा पनि आवासीय सुविधासहितको विद्यालयको परिकल्पना गरिएको उनले बताए ।