खेलकुद

अर्जुन कुमाललाई गर्‍याे आईसीसीले कारबाही

By खबरहब

February 02, 2024

काठमाडौं – नेपालको यू–१९ क्रिकेट टिमका ओपनर अर्जुन कुमाललाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले कारबाही गरेको छ ।

दक्षिण अफ्रिकामा जारी यू–१९ विश्वकपमा बंगलादेशविरुद्ध गरेको गल्तीको कारण उनी कारबाहीमा परेका हुन् ।

अर्जुनले आइसीसीको आचार संहिता–२ अनुसारको गल्ती गरेको आईसीसीले जनाएके छ । उनलाई १ निलम्बन (सस्पेन्सन) प्वाइन्ट र तीन डिमिरेट प्वाइन्ट दिइएको छ । उनको तीन डेमेरिट प्वाइन्ट आगामी २४ महिनासम्म लागु हुनेछ ।

सुपर सिक्सको पहिलो खेलमा नेपाल बुधबार बंगलादेशसँग ५ विकेटले पराजित भएको थियो । सोही खेलको छैटौं ओभरमा अर्जुनले रन लिनेक्रममा बंगलादेशका मरुफ मृधालाई क्रिजमा धक्का दिँदै रन जोडेका थिए । सोही गल्तीका कारण उनी कारबाहीमा परेका हुन् ।

अर्जुनले विश्वकपको पहिलो खेलमा न्युजिल्यान्डविरुद्ध ९० रन बनाएका थिए । त्यसपछिका तीन खेलमा भने उनको प्रदर्शन राम्रो हुन सकेको छैन् । विश्वकप क्रिकेटको अन्तिम खेलमा आज नेपालले भारतसँग खेल्दैछ ।