समाचार

रुसी सेनामा कार्यरत नेपालीका आफन्तको माग- सकुशल घर फिर्ताको वातावरण बनाउनुपर्‍यो

By खबरहब

February 02, 2024

काठमाडौं- रुसी सेनामा भर्ना भएका नेपालीका परिवारहरुले सकुशल घर फिर्ताको वातावरण बनाइदिन सरकारसमक्ष आग्रह गरेका छन् ।

शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनीहरुले रुसी सेनामा भर्ना भएका केही आफन्तहरु बेपता भएको र केहीको अवस्था नाजुक रहेको भन्दै सकुशल घर फिर्ताको वातावरण बनाइदिन सरकार समक्ष आग्रह गरेका हुन् । त्यस्तै, रुसी सेनाबाट भागेर आएकाहरुले पनि नेपालीहरुको अवस्था निकै नाजुक रहेको बताएका छन् ।

युद्धमा नेपालीहरुलाई अग्रपङ्तीमा पठाउने र भाषा समेत नबुझेका कारण ज्यान जाने गरेको उनीहरुको भनाइ छ । रुसी सेनामा भर्ती भएरपनि नेपाल आउन सफल युवा सुमन राईले रुसी सेनामा रहँदा तालिमबाटै नेपालीहरुमाथि अत्याचार हुने गरेको बताए ।

उनले अहिले पनि १४–१५ हजारको हाराहारीमा रुसी सेनामा रहेको र युद्धका क्रममा धेरै नेपालीले ज्यान गुमाएको हुनसक्ने बताए । युद्धमा भएको हताहतीका बारेमा पनि रुसी सेनाका अधिकारीले लुकाउने गरेको उनको भनाइ छ ।

रुसी सेनामा भर्ती भएर नेपाल फर्किएका युवाहरुले वैदेशिक रोजगारीका लाग दुबई कतारलगायतका देशमा गएका युवाहरु पनि उतैबाट रुसी सेनामा भर्ती हुन जाने गरेको बताएका छन् ।