क्रिकेट

यू १९ विश्वकप : खराब मौसमका कारण दोस्रो इनिङ सुरु हुन सकेन

By खबरहब

February 02, 2024

काठमाडौं- खराब मौसमका कारण दक्षिण अफ्रिकामा जारी आईसीसी यू १९ विश्वकप क्रिकेटमा नेपाल र भारतबीचको खेल प्रभावित भएको छ । मौसम खराब भएपछि दक्षिण अफ्रिकाको ब्लुम्फोन्टिनमा जारी सुपर सिक्सअन्तर्गत खेलको दोस्रो इनिङ सुरु हुन सकेको छैन ।

यसअघि पहिले इनिङमा दुई ब्याटरले शतकीय पारी खेलेपछि भारतले नेपालसमक्ष २ सय ९८ रनको लक्ष्य प्रस्तुत गरेको थियो । टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै २ सय ९७ रन बनायो ।

भारतका लागि सचिन दासले सर्वाधिक १ सय १६ रनको शतकीय पारी खेले । १ सय १ बलको सामना गरेका उनले ११ चौका र ३ छक्का प्रहार गरे ।

त्यसैगरी, भारतका अर्का ब्याटर उदय शरणले पनि शतकीय पारी खेल्दै १ सय रन जोडे । १ सय ७ बलको सामना गरेका उनले ९ चौका प्रहार गरे । नेपालका गुल्शन झाले ३ र आकाश चन्दले १ विकेट लिए ।