खेलकुद

आहा ! रारा पोखरा गोल्डकप : इतिहास रच्ने दाउमा आर्मी र थ्रीस्टार

By खबरहब

February 02, 2024

पोखरा- मोफसलको प्रतिष्ठित फुटबल प्रतियोगितामा स्थापित छ आहा रारा पोखरा गोल्डकप ।  निरन्तरताका दृष्टिकोणले दुई दशकभन्दा बढी समयदेखि सञ्चालनमा छ । विसं २०५८ देखि सुरु प्रतियोगिता प्रतिकूल समयमा रोकिएन । नेपाली फुटबल इतिहासमा निरन्तर सञ्चालन भएकामा आहा रारा गोल्डकप पर्दछ ।

प्रतियोगिताको २३औँ संस्करणको फाइनल खेल भोलि हुँदैछ । उपाधिका लागि विभागीय टोली नेपाली सेनाको त्रिभुवन आर्मी क्लब र थ्रीस्टार क्लब पोखरा रङ्गशालामा आमनेसामने हुँदैछन् ।

त्रिभुवन आर्मी क्लबले हालसम्म चार पटक प्रतियोगिताको फाइनल पुगेर पनि उपाधि विमुख छ । प्रतियोगितामा पाँचौँ पटक उपाधि नजिक पुगको आर्मी शनिबार पोखराको मैदानमा ओर्लिँदा उसको मुख्य लक्ष्य च्याम्पियन बनेर इतिहास रच्ने हुनेछ ।

थ्रीस्टार क्बल भने पोखराको मैदानमा भाग्यमानी टोलीमा पर्दछ । मनाङ मर्स्याङ्दी क्लबपछि आहा राराको सर्वाधिक धेरै उपाधि जित्ने टोली हो थ्रीस्टार ।

थ्रीस्टारले हालसम्म पाँच पटक उपाधि जितिसकेको छ भने शनिबार भोली छैटौँ उपाधिको खोजीमा हुनेछ र इतिहास रच्नेछ । थ्रीस्टार यसअर्थमा पनि भाग्यमानी छ भने उसले फाइनलमा पुगेर एक पटक मात्र उपाधि जित्न सकेको छैन । अन्य सबैमा सफलता पाएको छ ।

आर्मी यसअघि विसं २०६५, विसं २०६६, विसं २०७२ र विसं २०७५ मा प्रतियोगिताको फाइनल पुगेको थियो । चारैपटक उसले उपाधि जित्न सकेन । पछिल्लो पटक आर्मी र थ्रीस्टार विसं २०७५ मा फाइनलमा भिडेका थिए ।

तत्कालीन समयमा टाइब्रेकरमा थ्रीस्टार च्याम्पियन बनेको थियो । उपाधि भिडन्तमा पाँच वर्षपछि थ्रीस्टारसँग बदला लिने मौका आर्मीलाई छ । थ्रीस्टारले विसं २०६३, विसं २०६७, विसं २०६९, विसं २०७१ र विसं २०७५ मा प्रतियोगिताको उपाधि चुमेको छ ।

प्रतियोगितामा हालसम्म सात पटक फाइनल पुगेको थ्रीस्टार विसं २०७४ को १६औँ संस्करणमा नेपाल पुलिस क्लबसँग पराजित भएको थियो । पोखरामा आफ्नो गौरवपूर्ण विरासतलाई निरन्तरता दिन चाहन्छ थ्रीस्टार ।

प्रतियोगितामा छैटौँ पटक उपाधि जित्दै सर्वाधिक सफल क्लबको पहिचान स्थापित गर्ने खोजीमा थ्रीस्टार हुनेछ । आर्मीका प्रशिक्षक मेघराज केसी विगतको इतिहासलाई बिर्सदै नयाँ इतिहास रच्ने टोलीको सपना रहेको बताउँछन् ।

पोखराको मैदानमा उपाधि जितेर आर्मीका समर्थकलाई खुशी दिने आफ्नो योजना रहेको उनले सुनाए । “हामी इतिहास दोहोर्‍याउदैनौँ, नयाँ इतिहास रचेर समर्थकलाई खुसी दिनेछौँ ।” प्रशिक्षक केसीले फाइनल खेल रोमाञ्चक हुने उल्लेख गरे । टोलीमा केही इन्जुरीको समस्या रहेपनि खेलाडी पर्याप्त रहेको उनले बताए ।

थ्रीस्टार क्लबका प्रशिक्षक विक्रम लामाले सेमिफाइनलका कमीकमजोरी सुधार गर्दै उपाधि जित्ने गरी फाइनल खेलमा उत्रिने बताए । उपाधि जित्ने योजना बनाएको उनले उल्लेख गरे । प्रशिक्षक लामाले भने,“आर्मीको टोली संगठित छ, फाइनल खेल पक्कै गाह्रो हुनेछ तर हामी उपाधि चुम्ने गरी खेल्नेछौँ ।”

लामाले आफू खेलाडी हुँदा जितेको उपाधिलाई प्रशिक्षक हुँदा निरन्तरता दिने उल्लेख गरे । पोखरामा जारी प्रतियोगितामा आर्मीले प्रिक्वार्टरफाइनलमा राइजिङ स्टार फुटबल क्लब, क्वाटरफाइनलमा संकटा र सेमिफाइनलमा चर्च ब्वाइज युनाइटेडलाई हराएर फाइनल पुगेको हो ।

थ्रीस्टारले भने उद्घाटन खेलमा आयोजक सहारालाई हरायो भने क्वार्टरफाइनलमा भुटानको पारो फुटबल क्लब र सेमिफाइनलमा जावलाखेल युथ क्लबमाथि जित निकाल्दै फाइनलमा स्थान बनाएको हो ।

सहारा क्लब पोखराको आयोजनामा यही माघ ९ गतेदेखि सञ्चालन भएको प्रतियोगिताको च्याम्पियन टोलीले रु १२ लाख एक हजार नगदसहित ट्रफी पुरस्कार प्राप्त गर्नेछन् । उपविजेता टोलीले रु छ लाख एक हजार नगद सहित ट्रफी प्रदान गरिने क्लबका अध्यक्ष केशवराज बरालले बताए ।

यसैगरी, विभिन्न पाँच विधामा उत्कृष्ट खेलाडीलाई जनही रु २५ हजारका दरले पुरस्कार पाउनेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक थान स्कुटर पाउनेछन् । प्रतियोगितामा एक विदेशी सहित १२ टोलीले प्रतिस्पर्धा गरेका थिए ।