विचार

नर्देन रुम्बा : गीत, कविता र नाटकका त्रिवेणी

By खबरहब

March 02, 2024

ऊ मूलतः कवि हो । जसका लागि ऊ कवि होइन उसको लागि गीतकार । जसको लागि ऊ गीतकार पनि होइन, उसको लागि नाटककार । जसको लागि नाटककार पनि होइन, उसको लागि ऊ नर्देन रुम्बा ।

नर्देन अहिले बाँचेको भए ७५ वर्ष पुगिसक्थे तर नियतिले उनलाई ४३ वर्ष बाँच्न दिएन । बेजोड गीतकार नर्देन रुम्बाका धेरै सपना अधुरो नै रहे । सायद उनको सपना पूरा हुन अझै धेरै बलिदान दिनु पर्छ होला दार्जिलिङले ।

ईस्वी संवत १९४९ मे १३ तारिखका दिन पश्चिम बङ्गालको दार्जिलिङमा जन्मिएका नर्देन रुम्बा १९९० मे २८ का दिन अस्ताएका थिए । जन्म र मृत्युको हिसाबमा उनको उमेर साह्रै कम हो । तर उनले पुर्‍याएको योगदान अमूल्य र अतुलनीय छ । उनी एक कुशल गीतकार वैभव, आफ्नो शब्द प्रस्तुति अनि शैलीमा नविनता–प्रखरता भएका गीतकार हुन् । उनले नेपाली सिनेमाको क्षेत्रमा गीत लेखेर लगाएको गुन पनि अद्वितीय छ ।

गीतकार नर्देन रुम्बा जसरी नेपाली गीत आकाशमा आएका थिए, जाँदा पनि त्यस्तै ढंगले गए । भारतका प्रसिद्ध संगीतकार हेमन्त कुमारको निधन हुँदा फिल्म लेखक निर्देशक चलचित्रकर्मी सत्य जितले रवीन्द्र सङ्गीतको यो दोस्रो अवसान हो भनेर भनेका थिए ।  नर्देन रुम्बाको निधन हुँदा र अन्त्य हुँदा अर्को इश्वर वल्लभको निधन भएको हो । इश्वर वल्लभकै शैलीमा गीत लेख्न सक्ने अर्को गीतकारको निधन हो ।

नर्देन रुम्बालाई धेरै गीतकारहरूले आफ्नो आदर्श मान्छन् । तर त्यस्तै गीत लेख्न सकिँदैन । नर्देन रुम्बालाई नेपालका प्रसिद्ध गीतकार राजेन्द्र थापाले समेत प्रशंसा गरेका छन् । नर्देन रुम्बा गीतकार र कवि दुवै हो । तर कविता खोलामा कुनै ढुङ्गा हिर्काए जस्तो हो, त्यसको लहर फैलिँदै जान्छ । गीत पोखरीको बीचमा ढुङ्गा हाने जस्तै हो । जहाँ ढुङ्गा खस्यो त्यहाँ नै केन्द्रीकृत भएर त्यो लहर हराउँछ । त्यसैले गीतमा पनि मूल विषय केन्द्रित हुन्छ । त्यो शक्ति थियो नर्देन रुम्बामा ।

‘फूललाई सोधेँ कहाँ गयो, कता गयो भमरा, लजाएर फूलले भन्यो’ कर्म योञ्जनको सङ्गीतमा अरुणा लामाले गाउँदा यो गीतले नर्देन रुम्बालाई परिचय दियो । तर जब चन्दन लम्जेलको  संगीतमा नारायण गोपालले ‘मेरा सबै रातहरू’ भन्ने गीत गाउनु भयो, त्यसपछि नर्देन परिचय एउटा विशिष्ट गीतकारको रूपमा भयो ।

नारायण गोपालको यो गीत उनले आफैं पनि ठाउँठाउँमा गाउने र नारायण गोपालको स्मृतिमा हुने कार्यक्रममा पनि युवा पुस्ताका गायकले धेरै गाउने गीत हो । यही गीतमा सम्भवत ‘बारातहरु’ भन्ने शब्द पनि प्रयोग भयो ।

रेडियो नेपालले उर्दू शब्दलाई प्रवेश निषेध गरेको समयमा यो शब्दले सहज प्रवेश पयो । जब कि रेडियो नेपालको गीतमा सुनिल शर्माले ‘अलबिदा’ भन्ने गीत प्रयोग गर्दा अलबिदाको ठाउँमा नयाँ पंक्ति ल्याउनुपर्ने भएको थियो ।

‘फूललाई सोधेँ कहाँ गयो कता गयो भमरा’ देखि ‘मेरा सबै रातहरू’ सम्मका गीतको बीचमा नर्देन रुम्बाका गजब गजब गीतहरू सिर्जना भएका छन् । उनको लेखन बारे प्रशंसा गर्दा अन्य गीतकारहरू ठिक ठिकै लाग्न सक्छन् ।

नर्देन रुम्बा गीतकार मात्र नभएर नाटककार पनि हुन । उनले म मरे पछि भन्ने नाटक लेखे र त्यो नाटकमा लेखिएको गीत बद्री दुर्गा खरेलले दुई दाजुभाइले संगीत गरेर दावा ग्याल्बोले गाएका थिए । यो गीत रेकर्ड भएपछि कर्म योञ्जनले बद्री दुर्गाको यो गीत सबै गीतको बराबर लाग्छ हामीलाई भनेर भनेका थिए । ‘शुभकामना खाली खाली दिनेलाई दानी भनेर जाँदैछु, लिएर आँचलभरि मायाको निशानी’ यो गीतको अन्तरा कोमल र सार्थक छ ।’ तिम्रो विश्वास पाउन म कति शूलीमा चढें । पहिरो गएर छातीमा म मूल बाटोमा लडें, हार्नु जित्नु त केही थिएन ।’

यो गीतमा पनि रुम्बाले ‘आँचल’ शब्द प्रयोग गर्नुभएको छ । आँचल यस भन्दा अगाडि नेपाली गीतमा प्रयोग भएको पाइँदैन । तर यसमा उनले  प्रविष्टि दिएका छन् ।  अहिले त हाम्रो राष्ट्रगानमा पनि सरल शैलीमा आँचल शब्द प्रवेश भएको छ ।

रुम्बाका गीत हेर्दा उनी शब्द मेल अनमेलको रूपमा वा संगति विसङ्गतिका रूपमा खेल्छन् जस्तो लाग्छ । यही गीतमा उनले मैला पानीको प्रयोग गरेका छन् । हामी मैला पानी भन्ने बित्तिकै धमिलो पनि भनेर चिन्छौँ । तर दार्जिलिङको परिवेशमा त्यो नालीको पानी भनेर बुझिन्छ ।

नर्देन रुम्बाको बद्री दुर्गा खरेलको सङ्गीतमा ‘मेरो माया मर्स्याङ्दी झैँ सलल’ यो गीत निकै लोकप्रिय भयो । मर्स्याङ्दी खोला नै नदेखेका मान्छेले मर्स्याङदी बारेमा लेखेको यो गीतको बेला बेलामा दुर्गा खरेल चर्चा गर्छन् ।

बद्री दुर्गा खरेलको सङ्गीतमा नै कुमार सुब्बाले गाएका गीतहरू रुम्बाका चर्चित छन् । रुम्बालाई हामीले केवल आधुनिक गीतका गीतकारका रूपमा मात्र चिन्यौँ भने अन्याय हुन्छ । उनी प्रिय निर्देशक प्रताप सुब्बाद्वारा निर्देशित चलचित्र ‘बाँच्न चाहनेहरूका सफल गीतकार पनि हुन् ।  प्रताप सुब्बा जसले ‘परालको आगो’मा संगीतकारको हैसियतमा शान्ति ठटाललाई पहिलो पटक ब्रेक  दिए । त्यो  एउटा ऐतिहासिक कदम थियो । त्यसपछि पनि महिला संगीतकार आधा शताब्दीसम्म पनि फिल्ममा आउन  सकेनन् ।

सुब्बाले नै यस फिल्ममा गीतकार नर्देन रुम्बालाई ब्रेक दिए । रुम्बाले ‘बाँच्न चाहनेहरू’मा म त भाग्दिन विमला सेन्चुरी प्रधानको स्वरमा, मिठो मिठो तिम्रो श्वास मिठो पेमा लामा र विमला सेन्चुरीको स्वरमा नयाँ नयाँ घामको किरण विमला सेन्चुरी र पेमा लामाको स्वरमा र सामूहिक गीत हरबर हरबर दार्लेजिङ लेखे । यो गीत शान्ति ठटालको सङ्गीतमा पेमा लामा, ध्रुव लामा, कुन्ती सुन्दास, विमला सेन्चुरीलगायत धेरैले गाए । बाँच्न चाहनेहरूमा रुम्बाको शब्द शान्ति ठटालको संगीतमा गायिका अरुणा लामा थिइन् तर विमलाले गाइन् ।

अरुणा लामा र निर्देशक प्रताप सुब्बाका बीचमा केही मनमुटाब भएर लामाले गीत नगाउने भइन र विमला सेन्चुरीले गाएर नेपालको पार्स्व गायिकाको कुशल भूमिकामा देखा गरिन् ।

यस फिल्ममा रुम्बाले गीत गाउँदा सुब्बाले दार्जिलिङका अन्य गीतकारलाई सम्झिए पनि साथ दिएनन् । जस्तो  नन्दा हांखिम, मनबहादुर मुखिया, पी अर्जुनलगायतका धेरै गीतकारहरू थिए । तर नर्देन रुम्बालाई गीतकारको रूपमा ल्याउनु र मञ्च दिनु चलचित्रको ठूलो जित थियो ।

रुम्बाले यो चलचित्रमा गीत लेखेपछि नेपाली चलचित्रको गीत लेखन राम्रो भएको पाइन्छ । यस कारण पनि नेपाली चलचित्रमा रुम्बाको योगदान महत्वपूर्ण मानिन्छ ।  नेपाली चलचित्रलाई गहिरोसँग बुझ्ने गीतकारहरूको भीडमा रुम्बाको उपस्थिति भावशाली थियो ।

रुम्बाले अन्य धेरै गीतहरू लेखेका छन् । मित्र टासिवाङ चुले संगीत गरेका गीतहरू अरुणा लामा, पेमा लामाले पनि गाएका छन् । रुम्बा मिहिन शब्दमा गीत लेख्न सक्ने कुशल गीतकार हुन् । उनका गीतहरूको उपस्थिति वरिष्ठ गीतकारलाई पनि चुनौतीपूर्ण बनिसकेको थियो ।

अंग्रेजी साहित्यका ज्ञाता रुम्बाले लेखेका कयौँ गीतहरू पछिल्लो समयकी गायिका डेजी बराइलीले पनि गाएकी छन् । रुम्बाको चर्चा यस कारण पनि महत्वपूर्ण छ, उहाँ देवकोटा वा किरण खरेल र राममान तृषित शैलीको गीतकार हैन । उनले आफ्नै एउटा बाटो बनाए । जसलाई एउटा कठिन मार्ग मान्न सकिन्छ । तर त्यसलाई उनले शिष्ट तरिकाले परम्परा बनाए ।

रुम्बाको गीत गाउन कलाकारलाई गाह्रो जे भए पनि गाइसकेपछिको आनन्द मिठो छ । यसको उदाहरणका लागि बद्री दुर्गा खरेलको सङ्गीतमा दावा ग्याल्मोको स्वरमा शुभकामना खाली खाली दिनेलाई दानी भनेर  । यहाँ अघिल्लो खाली केवल र पछिल्लो खाली शून्य राखिएको छ । एउटा गीतकारको यो प्रयोगलाई गीतकारहरूले कति मर्मान्त रूपले बुझ्नु भएको छ भन्ने कुरा गीत सुनेपछि थाहा हुन्छ । बद्री दुर्गा खरेलले अन्य गीतहरू पनि ‘निर्मोहीका मायाहरू’ भन्ने एलबममा प्रकाशित भएका छन् । र बैनीको नामै के होला जस्ता अन्य गीतहरू पनि छन् ।

अँगालोमा आऊ भन्ने रुम्बाको लेखन रहेको गीत रेडियो नेपालले अश्लिल भन्दै त्यतिबेला प्रतिबन्ध लगायो । तर कविको सोचाइलाई गीतमा समावेश गर्दा गीत पारिवारिक रूपमा सुनिने विद्या भएकाले रेडियो नेपाल डराएको हुन सक्छ । तर अहिले गीत सुन्दा हामीलाई अँगालोमा आऊ एउटा मिठो अन्याय गर मेरी मायालु राम्रो लाग्छ ।

रेडियो नेपालको आधुनिक गीतमा विभिन्न कलाकार गायक गायिका संगीतकारको सजावटमा सजिएका नर्देन रुम्बालाई पछिल्लो पुस्ताका गायक नेपथ्यबाट अमृत गुरुङले पनि गाए । नर्देन रुम्बा एक गीतकार, कवि र अनुवादकका रूपमा सदा परिचित छन् । तर दार्जेलिङको त्यो पहाड चढ्दै गर्दा बाँच्न चाहनेहरूको हरबर हरबर दार्जेलिङको रेल झ्वास्स सम्झना आउँछ । धेरै गीतकारहरूले प्रयोग गरेको गीतको उपमा नयाँ नयाँ घामको किरण उनको पनि त्यतिकै लोकप्रिय भयो । जसरी रत्नशम्शेर थापाको अन्यायमा नयाँ नयाँ लाग्छ भन्ने गीत पनि लोकप्रिय भयो । गीतकारको आफ्नै परिचय हुन्छ गीतमा । त्यो नर्देन रुम्बा अन्तरात्मा मुखडामा वा गीतको शब्दमा बेला बेलामा दिने गर्छन् ।

नर्देन रुम्बा चन्दन लम्जेल र नारायण गोपालको त्यो त्रिकोणिक शब्दले बनेको मेरा सबै रातहरू भन्ने गीत गीति यात्राको एउटा महत्त्वपूर्ण गीत हो ।

तर रमाइलो र अनौठो दुखद कुरा के छ भने गायक नारायण गोपाल र गीतकार नर्देन रुम्बाको कहिल्यै भेट भएन, वा भेट्ने इच्छा हुँदाहुँदै पनि नर्देन रुम्बाले नारायण गोपालसँग भेट्न पाएनन् । साह्रै कम उमेरमा निधन भएका नर्देन रुम्बा नेपाली गीत आकाशमा ठूलो उचाइ बोकेका गीतकार हुन् । मे महिनामा जन्म भएको हो र मे महिना नै उनको  निधनको महिना भयो ।

हामीले उनको चर्चा गर्दा धेरै कुराहरू छन् । हिमाल पहाड फूलहरू प्राप्य दुर्लभ बन्यजन्तुहरु  धेरै कुराहरू छन् । त्यसै गरी हाम्रो गीति आकाशमा सङ्गीतको सागरमा नर्देन रुम्बाका जस्ता अमूल्य गीतहरू पनि छन् । यी सबै कुरा सम्झेर महान् गीतकार नर्देन रुम्बाप्रति हार्दिक श्रद्धाञ्जली ।