अन्तर्राष्ट्रिय

उचित अधिकार नपाएसम्म राष्ट्रिय सभा चल्न नदिने पीटीआईको चेतावनी

By खबरहब

March 02, 2024

इस्लामावाद- पाकिस्तानको सत्तारूढ गठबन्धनको कडा आलोचना गर्दै पाकिस्तान तेहरीक–ए–इन्साफ (पीटीआई) ले आफ्नो पार्टीलाई उचित अधिकार प्रदान नगरेसम्म राष्ट्रिय सभाका गतिविधि अघि बढ्न नदिने चेतावनी दिएको छ । पीटीआईका नेता जुनैद अकबरले आफ्नो पार्टीलाई उचित अधिकार दिइनुपर्ने अन्यथा राष्ट्रिय सभा चल्न नदिने चेतावनी दिएका हुन् ।

पूर्वप्रधानमन्त्री इमरान खान निकट स्वतन्त्र सांसद्हरूको समूह सुन्नी इत्तेहाद काउन्सिल (एसआइसी) का सदस्य तथा पीटीआईका नेता अकबरले संसद्को तल्लो सदनमा आफ्नो भाषणमा राष्ट्रिय सभालाई चल्न नदिने चेतावनी दिएका हुन् ।

अकबरले आफूहरूले राष्ट्रिय सभालाई मान्यता नदिएको बताउँदै कानुन बनाउने तथा अनुमति दिने कुनै पनि कार्य गर्न नदिइने उल्लेख गरे ।

इमरान खानद्वारा स्थापित पीटीआईले फेब्रुअरी ८ को आम चुनावको समयमा आफ्नो जनादेश चोरी भएको दाबी गर्दै उक्त चुनावलाई धाँधलीयुक्त चुनावको संज्ञा दिएको छ ।

निर्वाचन प्रयोजनका लागि बनेको कामचलाउ सरकारले चुनावको दौडानमा समान अवसर अस्वीकार गरेको आरोप लगाएको छ ।