समाचार

वायुसेवा निगमको व्यवस्थापन करार भनेको बिक्री हैन : पर्यटनमन्त्री

By खबरहब

April 02, 2024

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङ्ले नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को व्यवस्थापन करार गर्ने भन्ने विषय निजीकरण नभएको स्पष्ट पारे । 

प्रतिनिधिसभाको आजको बैठकको प्रश्नोत्तरमा सांसद प्रेम सुवालले सोधेको प्रश्नको जवाफ दिँदै मन्त्री तामाङले भने ,’व्यवस्थापन करार भनेको बिक्री होइन, मन्त्रालय निगमको सारभूत परिवर्तनको लागि नागरिक उड्डयनको क्षेत्रमा प्रचलित असल अभ्यास प्रयोग गरेर अघि बढ्न चाहेको र निर्णय हुनुभन्दा अघि ब्यापक छलफल हुनेनैछ ।’

मन्त्री तामाङले निगम सार्वजनिक संस्था र सबै नेपाली जनताको सरोकारको विषय भएकाले यस सम्बन्धमा मन्त्रालयबाट चालिने कदम राष्ट्रिय हितमा केन्द्रित हुने विश्वास व्यक्त गरे । 

सांसद सुवालले पर्यटनमन्त्रीसमक्ष निगमभित्रको आर्थिक अनियमितता, भ्रष्टाचार र पक्षपातलाई अन्त्य नगरी निगमलाई व्यवस्थापन करार दिने प्रक्रिया किन सुरु गरियो भनी  प्रश्न सोधेका थिए । 

मन्त्री तामाङले हवाई टिकटमा कालोबजारी हुनुहुन्न भन्ने मन्त्रालयको स्पष्ट निर्देशन रहेको र कुनै कमजोरी भएको पाइए कानुनी दायरामा ल्याइने बताए ।