समाचार

सवारीसाधनको जरिवानाबाट उठ्यो डेढ करोडबढी  राजस्व 

By खबरहब

April 02, 2024

वीरगञ्ज– जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले चालु आर्थिक वर्षको आठ महिनामा सवारीसाधनको जरिवाना बापत एक करोड ५० लाखभन्दा बढी राजस्व संकलन गरेको छ । कार्यालयले फागुन मसान्तसम्म ट्राफिक नियम उल्लङ्घन गरेका १५ हजार पाँच सय ९१ सवारीसाधनबाट सो राजस्व संकलन गरेको हो । 

जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख भाष्कर खतिवडाले सो अवधिमा ट्राफिक नियम उल्लङ्घन गर्ने सवारीसाधनबाट एक करोड ५७ लाख ६९ हजार छ सय छ रकम राजस्व संकलन गरेको बताए । 

कार्यालयका अनुसार ट्राफिक नियम उल्लङ्घन गर्ने ट्रकको सङ्ख्या ६४ सय २५ छ । ट्रकबाट रु ८८ लाख १९ हजार दुई राजस्व संकलन भएको छ । कार्यालयले ट्राफिक नियम उल्लङ्घन गर्ने एक सय ३२ बस कारबाहीमा परेका छन् । कारबाहीमा पर्ने बसबाट रु एक लाख  ३० हजार  पाँच सय राजस्व संकलन भएको छ । 

त्यस्तैगरी ट्राफिक नियम उल्लङ्घन गर्ने कार र जीप र भ्यानको सङ्ख्या एक हजार तीन सय २४ रहेको छ । ती सवारीसाधनबाट रु १२ लाख दुई हजार पाँच सय पाँच रकम राजस्व संकलन भएको छ । ट्राफिक नियम उल्लङ्घन गर्ने दुई पाङ्ग्रे सवारीसाधनको सङ्ख्या सात हजार १२ रहेको छ ।  ती सवारीसाधनबाट ४९ लाख ८० हजार ५९ रकम राजस्व संकलन भएको छ । 

कार्यालयले गत आर्थिक वर्षमा ट्राफिक नियम उल्लङ्घन गर्ने ३५ हजार पाँच सय ३४ सवारीसाधनलाई कारबाही गरेर तीन करोड ४२ लाख ६५ हजार रकम राजस्व संकलन गरेको थियो ।