समाचार

डिएसपी ठगबहादुर भ्रष्टाचार मुद्दामा दोषी ठहर, २ वर्ष कैद सजाय

By खबरहब

April 02, 2024

काठमाडौं । विशेष अदालतले इलाका प्रहरी कार्यालय बुटवलका तत्कालीन प्रहरी नायब उपरीक्षक (डिएसपी) ठगबहादुर केसीलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ ।

मंगलबार विशेष अदालत काठमाडौँका न्यायाधीशहरू टेक नारायण कुँवर, तेज नारायण सिंह राई र रितेन्द्र थापाको इजलासले केसीलाई दोषी ठहर गरेको हो । अदालतले केसीलाई २ वर्ष कैद र आठ लाख ५० हजार रुपैयाँ जरिवाना हुने फैसला सुनाएको हाे ।

यस्तै ठगबहादुरलाई घुस उपलब्ध गराउने खेम भनिने खिलेन्द्र जिसीलाई पनि अदालतले भ्रष्टाचार मुद्धामा दोषी ठहर गरेको छ । जिसीले अदालतमा प्रतिकूल बकपत्र गरेपछि उनीविरुद्ध पनि मुद्दा दायर भएकोमा उनलाई एक वर्ष ६ महिना कैद र नौ लाख ५० हजार रुपैयाँ जरिवाना हुने अदालतको फैसलामा उल्लेख गरिएको छ ।

केसीलाई यसअघि नै गृह मन्त्रालयले विभागीय कारबाहीस्वरुप बर्खास्त गरिसकेको छ । रुपन्देहीको इलाका प्रहरी बुटवलमा प्रमुख भएका बेला केसीले बरामद भएको सुन फिर्ता गर्ने क्रममा घुस मागेका थिए ।

उनीविरुद्ध अख्तियारले गत भदौ १३ गते १८ लाख रुपैयाँ बिगो राखेर विशेष अदालतमा भ्रष्टाचार मुद्दा हालेको थियो ।