ब्रेकिङ स्टोरी

वायु प्रदूषणले जनस्वास्थ्यमा ठुलो असर : बच्न के गर्ने ?

By खबरहब

May 02, 2024

काठमाडौं उपत्यकामा वायु प्रदूषणको असर नराम्रो अवस्थामा पुगेको छ। गर्मी महिनामा जंगलमा डढेलो लगाउने, नेपाल र भारतमा किसानले धान गहुँ लगायतका बाली भित्र्याइसकेपछि आगो लगाउने, फाहोर र प्लास्टिक जलाउने परम्पराले यो मौसममा हरेक वर्ष वायु प्रदूषण बढ्ने गरेको विज्ञ बताउँछन्।

एयर क्यालिटी इण्डेक्स (आईक्यू) सकभर ५० भन्दा कम भएको धेरै राम्रो नभए सय भन्दा कम हुनुपर्छ। तर काठमाडौंको अहिलेको एयर क्वालिटी हेर्ने हो भने सरदरमा २५० देखि ३५० को हाराहारीमा रहेको पाइन्छ। यो अत्यन्तै अस्वस्थकर हो। यो अवस्था विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को मापदण्डभन्दा १० गुणा बढी खराब हो।

वायु प्रदूषणको मुख्य कारण वायु प्रदूषणमा नेपाल कहिले विश्वको पहिलो देशमा पर्छ भने कहिले दोस्रो र तेस्रोमा पर्छ। त्यस्तै भारतको राजधानी दिल्ली पनि कहिले पहिलो र कहिले दोस्रोमा परिरहेकै हुन्छ। तर दिल्ली र काठमाडौंको अवस्था फरक छ। दिल्लीमा धेरै उद्योग कलकारखाना छन्। जसका कारण प्रदूषण बढ्छ। आकाशमा प्रदूषण देखिए पनि सडकमा प्रदूषण देखिँदैन।

 

यसका धेरै कारण छन्। दिल्ली सहरमा हरियाली छ। त्यहाँ सरसफाइको प्रबन्ध पनि राम्रो छ। नेपालमा कलकारखाना उद्योग त्यति नहुँदा पनि वायु प्रदूषण किन बढ्छ भन्दा यसको पहिलो कारण त सरकारको नीति कार्यान्वयन गर्ने निकाय नै कमजोर छ। दोस्रो आम जनता यसबारे सचेत छैनन्। सचेत भए पनि मैले गरेर के हुन्छ भन्ने मानसिकता छ। ग्रामीण क्षेत्रमा खाना पकाउन प्रयोग हुने दाउरालगायत जैविक इन्धन, धुलोधुवा, निर्माण, पुराना र धेरै धुवा फाल्ने सवारीसाधन र कृषिजन्य वस्तु (पराल) जलाउँदा नेपाल मात्रै होइन दक्षिण एसियामै प्रदूषण बढेको पाइएको छ।

वायु प्रदूषणले जनस्वास्थ्यमा पार्ने तत्कालीन र दीर्घकालीन असर वायु प्रदूषणले मानिसका आँखा पोल्ने, चिलाउने, नाक चिलाउने, नाक पोल्ने रुघाखोकी लाग्ने, घाँटी खसखसाउने, आँखा सुख्खा हुने, कमजोर महसुस हुने लगायतका तत्कालीन असर देखिन्छन्।

प्रदूषित वातावरणमा लामो समयसम्म बस्दा दम, मुटु सम्बन्धी रोग, फोक्सोको क्यान्सर हुने खतरा हुन्छ। यस्तै दीर्घरोगका बिरामीमा समस्या झनै बढ्दै जाने र अस्पतालमै भर्ना हुनुपर्ने अवस्था समेत आउन सक्ने हुन्छ।

बालबालिका र वृद्धवृद्धामा रोगप्रतिरोधात्मक क्षमता कम हुने, प्रजनन क्षमता घटाउने र गर्भमा रहेको शिशुमा समेत असर पर्ने हुन्छ। मानसिक स्वास्थमा असर गर्ने, पक्षघात हुने, स्वस्थ हावापानीमा हुर्किएका बालबालिकाको तुलनामा प्रदूषित हावाको सम्पर्कमा लामो समयसम्म बसेका बालबालिकामा मस्तिष्कको विकासमा पनि नकारात्मक असर गर्ने विभिन्न अध्ययनबाट पुष्टि भएको डा.पाण्डेले बताए। बच्चा जन्मिदै अपाङ्ग भएर जन्मिने लगायतका समस्या देखिने उनको भनाइ छ।

सबैभन्दा बढी वायु प्रदूषणको असर फोक्सोमा हुन्छ। फोक्सोको क्यान्सरको प्रमुख कारण अहिले वायु प्रदूषणलाई मानिएको छ। धुम्रपान नगर्ने व्यक्तिमा पनि फोक्सोको क्यान्सरको जोखिम धेरै हुन्छ। घाँटी बस्ने, छाती दुख्ने, खकारबाट रगत आउने जस्ता लक्षण देखिएमा ढिलो नगरी सम्बन्धित चिकित्सकसम्म पुगेर जाँच गर्नुपर्छ। यो असर काठमाडौंमा मात्र देखिएको होइन। वायु प्रदूषणसँग सम्बन्धित रोगका कारण विश्वभर हरेक वर्ष ७० लाख मानिसको मृत्यु हुने गरेको डब्लुएचओको तथ्याङ्कमा उल्लेख छ।

फोक्सोको क्यान्सरको प्रमुख कारण अहिले वायु प्रदूषणलाई मानिएको छ। धुम्रपान नगर्ने व्यक्तिमा पनि फोक्सोको क्यान्सरको जोखिम धेरै हुन्छ।

वायु प्रदूषणलाई कम गर्न के गर्ने ? वायु प्रदूषणलाई कम गर्न तत्कालीन र दीर्घकालीन रुपमा गर्नसक्ने उपाय अपनाउनुपर्ने हुन्छ। यस्तै वायु प्रदूषण कम गराउन राज्य र नागरिकको फरक–फरक दायित्व हुन्छ।

उदाहरणका लागि सरकारले काठमाडौं उपत्यकाका हरेक बाटाहरु छेउदेखि कुनासम्म पिच गर्यो भने वायु प्रदुषण घट्छ। त्यस्तै सवारी साधनमा जसरी मापसे चेक गरिन्छ त्यसरी नै सवारी साधनको अवस्था कस्तो छ भनेर अनिवार्य हेर्नुपर्छ। यदि वायु प्रदूषण हुने खालको छ भने तत्काल कारबाही गरेर त्यसलाई धेरै वायु प्रदूषण नगर्ने कसरी बनाउन सकिन्छ भनेर सचेत गर्नुपर्छ।

पुराना सवारीसाधन विस्थापित गर्नुपर्छ। निर्माणको काम गर्दा धुलो नउड्ने गरी काम गर्ने, कलकारखाना सहरभन्दा टाढा सञ्चालन गर्ने र कलकारखानमा काम गर्दा आधुनिक प्रविधिको प्रयोग हुनुपर्छ ।

पुराना सवारीसाधन विस्थापित गर्नुपर्छ। निर्माणको काम गर्दा धुलो नउड्ने गरी काम गर्ने, कलकारखाना सहरभन्दा टाढा सञ्चालन गर्ने र कलकारखानमा काम गर्दा आधुनिक प्रविधिको प्रयोग हुनुपर्छ ।

फोहोरमैला जलाउने प्रवृत्ति निरुत्साहित गर्नुपर्छ। वन डढेलो नियन्त्रणमा अन्तरसरकारी समन्वयको अभाव छ। सरकारले जति पनि प्रदूषण कर उठाउँछ, त्यो पैसा त्यहीँ खर्च गर्नुपर्छ।

सवारीसाधनलाई विद्युतीयमा रूपान्तरण गर्ने नीति छ, तर कार्यान्वयन भएको छैन । देशभर नै प्रदूषण बढिरहेकाले प्रदूषण नियन्त्रण कार्ययोजना बनाएर अगाडि बढ्नु राम्रो हुन्छ।

काठमाडौं उपत्यकामा जनसंख्याको हिसाबले पार्कहरुको संख्या एकदमै न्युन भएकाले सरकारले पार्कहरुको संख्या बढाउनेतर्फ ध्यान दिनुपर्छ। त्यस्तै आम नागरिकले पनि आफ्नो घर वरपर अक्सिजन दिने विरुवा रोप्ने काम गर्नुपर्छ। आफ्नो तहबाट कसरी वायु प्रदूषणलाई केही हदसम्म कम गर्न सकिन्छ भनेर आम नागरिक सबैले सोच्नुपर्छ।

वायु प्रदूषणको असरबाट बच्न मास्क अनिवार्य अस्वस्थकर वायु हुँदा घरभित्रै बस्न र बाहिर निस्कनै परे मास्क, चस्मा र पूरै शरीर ढाकिने कपडा लगाउनु राम्रो हुन्छ। वायु अस्वस्थ हुँदा आँखा, फोक्सो र छालामा असर पर्दछ। स्वासप्रश्वासका बिरामी र बालबालिकाहरु जोखिममा पर्दछन्। त्यसबाट जोगिन सकेसम्म घरभित्रै बस्ने, घर बाहिर निस्किनै परे मास्क प्रयोग गर्ने, चस्मा लगाउने र पूरै शरीर ढाकिने कपडा लगाउनु राम्रो हुन्छ।

यता स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौंमा वायु प्रदूषण बढेकाले मास्क लगाउन आग्रह गरेको छ। मन्त्रालयले काठमाडौंको वायु विश्वकै अस्वस्थकरको सूचीमा अग्रस्थानमा रहेको उल्लेख गर्दै वायु प्रदूषणबाट जोगिन अनिवार्य मास्क लगाउन आग्रह गरेको हो।

मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकीले काठमाडौँमा वायु प्रदुषण अत्यधिक रहेकाले सकेसम्म घर बाहिर अनावश्यक ननिस्कन, यात्रा नगर्न र अत्यधिक प्रदूषित क्षेत्रबाट टाढा रहन अनुरोध गरेका छन्। नेपालमा रूग्णता तथा मृत्युको प्रमुख कारणमा वायु प्रदूषण प्रमुख रहेको विविध तथ्य र अनुसन्धानले देखाएको छ। गर्मी समयमा तराईमा तातो हावा बहने र लू लाग्ने उच्च सम्भावना भएको हुँदा तातो हावा लागेको समयमा अनावश्यक बाहिर हिँडडुल नगर्न तथा झोलिलो पदार्थ पर्याप्त मात्रामा सेवन गर्न गराउनसमेत मन्त्रालयले अनुरोध गरेको छ। विज्ञको सुझावसँगै सरकार र स्वास्थ्य मन्त्रालयले गरेको अनुरोधलाई मनन गरेर वायु प्रदूषणबाट बच्ने उपाय अनिवार्य रुपमा अपनाउनु राम्रो हुन्छ।

(जनस्वास्थ्यविद् डा.रवीन्द्र पाण्डेसँग खबरहबका लागि पवन मुडभरीले गरेको कुराकानीमा आधारित)