समाचार

पर्यटकको आकर्षण बन्दै गुरुङगाउँको ‘अम्बोटे होमस्टे’

By खबरहब

May 02, 2024

धादिङ – धादिङ जिल्लाको उत्तरी क्षेत्र गङ्गाजमुना गाउँपालिका–३ गुम्दीस्थित गुरुङगाउँको ‘अम्बोटे होमस्टे’ आन्तरिक र बाह्य पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ ।

विसं २०७८ चैतमा शान्ति नेपाल नामक गैरसरकारी संस्थाको सहयोगमा गङ्गाजमुना गाउँपालिकाले गुरुङगाउँलाई नमुना गाउँ घोषणा गरेसँगै ‘अम्बोटे होमस्टे’ सञ्चालनमा ल्याइएको हो ।

अम्बोटेभित्र आएका पर्यटकले सिँढी पदमार्ग, अग्र्यानिक कफी र मौसमअनुसारको फलफूलको मज्जा लिन पाउँछन् । उक्त होमस्टे (घरवास)बाट आलुपोखरा ‘भ्यू टावर’, गङ्गाजमुना मन्दिर, त्रिपुरासुन्दरी मन्दिरलगायतका ठाउँमा जान सकिन्छ ।

अम्बोटे होमस्टे सञ्चालक समितिका अध्यक्ष उत्तम गुरुङले आन्तरिक तथा बाह्य पर्यटकलाई सेवा प्रदान गर्नका लागि विगत दुई वर्षदेखि होमस्टे सञ्चालनमा ल्याइएको जानकारी दिए । “गुरुङगाउँलाई नमुना गाउँ घोषणा गरेसँगै यहाँ आउने आन्तरिक तथा बाह्य पर्यटकलाई खान बस्न सहज बनाउनका लागि होमस्टे सञ्चालनमा ल्याएका हौँ,”उनले भने ।

अम्बोटेमा हाल १६ घरधुरी गुरुङ समुदायको रहेको छ । गुरुङ सेवा समाज अम्बोटेका अध्यक्ष मनबहादुर गुरुङले खाना र बस्नबाहेक गुरुङ संस्कृतिको माध्यामबाट आन्तरिक तथा बाह्य पर्यटक प्रवद्धनमा अम्बोटे होमस्टे लागिरहेको बताए ।

गुरुङ जातिको मुख्य संस्कृति कौरा, चुड्का, रोधीलगायतका हुन् । अम्बोटे होमस्टेमा मासिक दुई सयदेखि पाँच सयसम्म आन्तरिक र बाह्य पर्यटक आउने गरेका छन् । दैनिक ३० देखि ५० जनासम्म बस्न मिल्ने क्षमता रहेको उक्त होमस्टेका सबै घरमा बसोबास गर्न मिल्ने व्यवस्था गरिएको छ । अम्बोटे होमस्टेमा एकरात खान र बस्नका लागि रु ६०० देखि रु एक हजार २०० सम्म लाग्दछ ।

होमस्टेमा आउने पाहुनालाई यही उत्पादित अग्र्यानिक खाद्यान्न खुवाउँदै आएको अध्यक्ष गुरुङले बताए। यहाँ होमस्टे सञ्चालन गरेसँगै नजिकका गाउँहरुले समेत अग्र्यानिक खाद्यान्न उत्पादनलाई जोड दिँदै आएका छन् ।

होमस्टे सञ्चालनबाट आम्दानी भएको रकम होमस्टेमा आवश्यक पर्ने सामाग्री खरीदमा लगाउँदै आएको र बाँकी रकम कोष बनाएर बचत गरिएको छ । यहाँ आउने पाहुनाको राय र सुझावलाई ध्यानमा राखेर होमस्टेलाई थप व्यवस्थित र सुविधासम्पन्न बनाउँदै लैजाने समितिले जनाएको छ । गुरुङगाउँमा होमस्टे सञ्चालनमा आएसँगै गाउँपालिकाले समेत होमस्टे कार्यक्रमलाई प्राथमिकता दिएको छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनिल श्रेष्ठले गाउँपालिकाको वडा नं ७ स्थित भैँसे र वडा नं ३ स्थिति अम्बोटे होमस्टेलाई गाउँपालिकाले विशेष रुपमा अगाडि बढाउने बताए । गाउँपालिकाले पर्यटन प्रवद्धनका लागि चालु आवमा रु ७० लाख रकम विनियोजन गरेको छ । विनियोजन गरेको रकममध्ये ‘गङ्गाजमुना तीनसुरे पदमार्ग’को प्रवद्धन, होमस्टे विकास, गङ्गाजमुनाबाट चुमभ्याली र रुविभ्याली हुँदै लाङटाङ जोड्ने ‘ग्रीन ट्रेकिङ ट्रेल’लाई पालिकाले गौरवको आयोजनाका रुपमा अगाडि बढाएको छ ।

यस्तै, गाउँपालिकाको पर्यटन प्रवद्र्धनका लागि ठाउँठाउँमा सूचना पार्टी निर्माण, पर्यटन मन्त्रालय र पर्यटन बोर्डको सहकार्यमा ‘गङ्गाजमुना पर्यटन पूर्वाधार विकास योजना’ अन्तर्गत गङ्गाजमुना मन्दिर परिसरमा मन्दिर, भजन मण्डली, पाहुना घर, गुम्बा निर्माण कार्य अगाडि बढाइएको छ ।

‘कृषि, पर्यटन र पूर्वाधारः गङ्गाजमुना विकासको आधार‘ भन्ने मूल नारा बोकेको उक्त गाउँपालिकाले अन्य गाउँपालिकाको सहकार्यमा नर्सिङ धाम–गङ्गाजमुना–सल्यानकोट माई मन्दिरलाई धार्मिक पर्यटन सर्किटका रुपमा विकास गर्न लागेको छ ।

अम्बोटेमा होमस्टे सञ्चालनमा आएसँगै उक्त गाउँपालिकाका अन्य गाउँमा समेत होमस्टे सञ्चालनका लागि जनआवाज उठ्न थालेको छ । गङ्गाजमुना वडा नं ३ का वडाअध्यक्ष राजकुमार गुरुङले अम्बोटे होमस्टेलाई नमुना होमस्टेका रुपमा विकास गर्दै लैजाने बताए । उनले आगामी दिनमा आलुपोखरासमेत होमस्टे सञ्चालन गरिने लक्ष्य लिइएको उल्लेख गरे ।