राजनीति

सांसद बस्नेत मुछिएको सहकारी प्रकरण छानबिन गर्न सरकारलाई राप्रपाको आग्रह

By खबरहब

May 02, 2024

राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रतिनिधि सभा सांसद गीता बस्नेत जोडिएको सहकारी हिनामिना प्रकरण छानबिन गर्न सरकारलाई आग्रह गरेको छ।

बिहीबार बसेको पार्टी केन्द्रीय कार्यसम्पादन समिति बैठकपछि प्रवक्ता मोहन श्रेष्ठले जारी गरेको विज्ञप्तिमा यसो भनिएको छ ।

श्रेष्ठले बस्नेतमाथि सरकारी निकायबाट निष्पक्ष छानबिन माग गर्ने निर्णय गरिएको बताएका छन् ।

बस्नेतको कम्पनीबाट सहकारीको रकम अपचलन भएको खबर सार्वजनिक भएको छ । राप्रपाले छानबिनमा सहयोग गर्न सांसद बस्नेतलाई  निर्देशन दिएको छ।

नवलपुरको कावासोतीस्थित छिपछिपे उपभोक्ता सहकारीसहितका संस्थाको बचत रकम अपचलन आरोपमा बस्नेतसहित १४ जनाविरूद्ध मंगलबार पक्राउ पुर्जी जारी भइसकेको छ ।

बस्नेतले आफन्तसँग मिलेर सहकारीको रकम हिनामिना गरेर बर्दियामा कृष्णसार रिसोर्ट खोलेको आरोप छ ।

नवलपुर र चितवनका सहकारीको ३० करोड रूपैयाँ सांसद बस्नेतकै योजना र संरक्षणमा बिनाधितो निकालेर रिसोर्टमा लगाएको खुलेको छ ।

राप्रपाले सहकारी प्रकरणमा संलग्न अन्यमाथि पनि स्वतन्त्र छानबिन गरी कारबाही चलाउन सरकारसँग माग गरेको छ ।