राजनीति

मधेस प्रदेश : सरकार टिकाउने र ढाल्ने कसरतमा दलहरू, सजिलो छैन दुवै पक्षलाई

By खबरहब

June 02, 2024

जनकपुरधाम– मधेश प्रदेशमा सरकार टिकाउन र ढाल्न राजनीतिक कसरत तीव्र भएको छ ।

मधेसका मुख्यमन्त्री सरोजकुमार यादव उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालका नेता हुन् । वैशाख २३ मा जसपा नेपाल फुटेपछि केन्द्र सरकारबाट उपेन्द्र यादव बाहिरिएर प्रतिपक्षमा पुगिसकेका छन् ।

अशोक राईको नेतृत्वमा जसपा नेपाल विभाजन भएसँगै मधेसमा नयाँ सरकार बनाउने कसरत सुरु भएको थियो ।

नेकपा माओवादी केन्द्र र नेकपा एमालेले वैशाख ३० गते सरकार छोडेसँगै मुख्यमन्त्री यादव नेतृत्वको सरकार यतिबेला अल्पमतमा परेको छ ।

सरकारबाट यी दुई ठूला दलले समर्थन फिर्ता लिएपछि संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्री यादवले ३० दिनभित्र विश्वासको मत लिनु पर्छ ।

मुख्यमन्त्री यादवले यही जेठ २३ गते विश्वासको मत लिने बताइसकेका छन् । उनले आगामी जेठ २९ भित्र विश्वासको मत लिइसक्नुपर्छ ।  विश्वासको मतको समय आएसँगै सरकार टिकाउने र ढाल्ने राजनीतिक खेल तीव्र भएको हो ।

जसपा नेपाल नेतृत्वको सरकार जोगाउन केन्द्रको प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस लगायतका दलहरू लागि परेका छन् । अर्कातिर यो सरकार ढालेर जनमत पार्टीको नेतृत्वमा नयाँ सरकार बनाउन एमाले, जनमत पार्टी र माओवादीले सबै तागतसहित खटिएका छन् ।

१०७ सदस्यीय मधेस प्रदेश सभामा २५ प्रदेश सांसदसहित एमाले पहिलो दलका रुपमा छ । प्रदेश सभामा कांग्रेसका २२, जसपा नेपालका १९, जनमतका १३, लोकतान्त्रिक समाजवादीका ८, माओवादीका ९ र एकीकृत समाजवादीका ७ सदस्य छन् ।

लोसपाका ९ मध्ये १ जना सांसद अभिराम शर्मा निलम्बित छन् । उनी संसदीय दलको नेता हुँदै असई थमन विक हत्या प्रकरणमा अदालतबाट दोषी पाइएपछि निलम्बित भएका हुन्।

राष्ट्रिय प्रजातन्त्र पार्टी, नागरिक उन्मुक्ति र नेपाल संघीय समाजवादीका पनि मधेस प्रदेश सभामा १–१ जना सांसद छन् ।

१०७ सदस्यीय मधेस प्रदेश सभामा सरकार बनाउन ५४ सांसदको समर्थन चाहिन्छ । त्यसमध्ये एमालेका रामचन्द्र मण्डल अहिले सभामुख छन् । त्यसबाहेक ४६ सांसद रहेको तीन दलीय गठबन्धनलाई सरकार बनाउन थप ८ जना चाहिन्छ ।

यस्तोमा माधवकुमार  नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीका ७ जना सांसद छन् । एकीकृत समाजवादीले केन्द्रीय गठबन्धन अनुसार तीन दलला समर्थन गरे यो संख्या ५३ पुग्नेछ । अझै सरकारका लागि १ सांसद अपुग हुन्छ ।

राप्रपाले एमालेसहितको गठबन्धन सरकारलाई मधेश प्रदेशमा पनि समर्थन नगर्ने बताइसकेको छ ।

तर नागरिक उन्मुक्ति पार्टी र नेपाल संघीय समाजवादी पार्टीका सांसदहरूले गठबन्धनलाई समर्थन गर्ने दाबी एमालेका नेताहरूले गरिरहेका छन् ।

नेकपा एकीकृत समाजवादीले समर्थन गरे पनि तीन दलीय गठबन्धनलाई आवश्यक बहुमत संख्या नपुग्दा थप संख्या पुर्‍याउन एमाले, माओवादी र जनमतका नेताहरू एकजुट भएर काठमाडौंमा बालुवाटार, बालकोटदेखि माधव नेपालको निवास कोटेश्वरसम्म धाइरहेका छन् । उता सत्ता टिकाउन संघर्षरत जसपा नेपाल एकीकृत समाजवादीको साथ पाउने आशमा देखिन्छ ।

मुख्यमन्त्री यादव नेतृत्वको सरकारमा अहिले एकीकृत समाजवादीका २ जना मन्त्री छन् । समाजवादी संसदीय दलका नेता गोविन्द न्यौपाने भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री छन् । अर्का सांसद बेची लुंगेली श्रम तथा यातायात मन्त्री छिन् ।

दलका नेता न्यौपानेले अझैसम्म कुनै निर्णयमा नपुगेको बताएका छन् । उनले खबरहबसँग भने, ‘हामी अझै केन्द्र र मधेस सरकार दुवैमा रहेकोले मुख्यमन्त्री यादवलाई समर्थन गर्ने-नगर्ने पेचिलो विषय हो । यो राजनीतिक कुरा हो, १-२ घण्टामा परिस्थिति फेरबदल हुन सक्छ ।’

यद्यपि नेकपा एकीकृत समाजवादीको मनसाय भने जता–जता सत्ता जान्छ उतैतिर ढल्किने देखिएको छ ।

लोसपाले भने जसपा नेतृत्वको सरकारलाई कुनै हालतमा समर्थन नगर्ने बताइसकेको छ । तर उनीहरूले जनमत नेतृत्वलाई पनि समर्थन गर्ने-नगर्ने प्रस्ट छैन ।

प्रदेश सभामा लोसपाको ९ सिट रहे पनि संसदीय दलका नेता शर्मा निलम्बित छन् । प्रदेश सभामा मतदान भए लोसपाका ८ जना मात्रै सहभागी हुनेछन् । उता मधेश प्रदेशमा कांग्रेसका २२ जना छन् ।

कांग्रेसले जसपा नेपाललाई समर्थन गर्ने धारणा सार्वजनिक गरिसकेको छ । यादव नेतृत्वको सरकार जोगाउन कांग्रेसले सक्रिय भूमिका निर्वाह गरिरहेको छ ।

कांग्रेसको २२, जसपा नेपालको १९ र लोसपाको ८ जना सांसद एकजुट भए ४९ जना पुग्ने छन् । एकीकृत समाजवादीले हालको अवस्था रहिरहे मुख्यमन्त्री यादवले सहजै बहुमत पाउने छन् । एकीकृत समाजवादीले समर्थन जारी राखे ३ पार्टीका १-१ जना ससदले पनि सत्तापक्षलाई समर्थन गर्ने निश्चित छ ।

साना दलको समर्थन सत्ता गठबन्धनले पाए पनि संख्या ५२ भन्दा माथि जाने छैन । सरकार जोगाउने र गिराउने खेल चलिरहँदा एमाले संसदीय दलका नेता सरोजकुमार यादवले सरकार गठनका लागि आवश्यक बहुमत आफूहरूसँग रहेको दाबी गरेका छन् ।

‘शीर्ष तहमा सहमति भइसकेकाले बहुमतसहित सरकारका लागि दाबी गरिनेछ’, उनले भने, ‘हामीलाई लोसपाले पनि साथ दिनेछ ।’

मुख्यमन्त्री जनमतको हुने टुङ्गो लागिसकेकाले अन्य मन्त्रालय बाँडफाँट गठबन्धनका दलहरूबीच हुने उनले बताए । तर एकीकृत समाजवादीले समर्थन गरे पनि सरकारलाई चाहिने आवश्यक बहुमत नपुग्ने भएकाले अन्य सांसदहरूबाट समर्थन लिने प्रयास भइरहेको जनमतका प्रवक्ता शरद यादवले बताए ।

‘मधेश प्रदेशमा लामो समयदेखि भ्रष्टाचार चलेकोले अब अन्त्यका लागि जसपा नेपालविरुद्ध दलहरू एकजुट भएका छन्’, प्रवक्ता यादवले भने ।

उनले जनमत पार्टीको नेतृत्वमा बन्न लागेको सरकारलाई जसपा नेपालले समर्थन गरेर उदारता देखाउँदा सकारात्मक सन्देश जानेसमेत बताएका छन् ।