राजनीति

अब गिरीबन्धुको टी-स्टेट प्रकरणको फाइल खोल्छौँ : मनीष झा

By खबरहब

June 02, 2024

काठमाडौं- सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनीष झाले झापास्थित गिरीबन्धुको टी-स्टेट प्रकरणको फाइल खोल्ने तयारी भइरहेको बताएका छन् ।

आइतबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्ने क्रममा सांसद झाले  रास्वपा सरकारमा गएपछि कैलालीको टीकापुर जग्गा र बाँसबारीस्थित छालाजुत्ता उद्योगको जग्गा प्रकरणको छानबिन गरेको दाबी गरे ।

सांसद झाले भुटानी शरणार्थी प्रकरणको पुनः छानबिन गर्ने बताउँदै गिरीबन्धुको पनि फाइल खोल्ने तयारी भइरहेको दाबी गरेका छन् ।

उनले सहकारी प्रकरणमा सशर्त छानबिन समिति बनाउन आफूहरूले तयार भएपछि त्यही आधारमा अहिले संसदीय छानबिन समिति बनेको धारणा राखे।

आफूहरू प्रशस्तै विकल्प छाडेर देशका लागि केही गर्न राजनीतिमा होमिएको उनले जिकिर गरे ।

सांसद झाले संसदमा बोल्ने क्रममा केही नेताहरूले परिवर्तनको क्रेडिट लिन खोजेको भन्दै राजनीतिमा सबै परिवर्तनको क्रेडिट लिने कुरा उचित नभएको बताए ।

लामो समय संसद् अवरुद्ध हुँदा जनताका समस्या उठान गर्न नपाइएको उल्लेख गर्दै उनले संसद् खुलेपछि निरन्तर जनताको पक्षमा आवाज उठाइरहने पनि बताए ।