तस्बिर : एपी

अन्तर्राष्ट्रिय

श्रीलङ्कामा वर्षा जारी, बाढी र डुबानको जोखिम उच्च

By खबरहब

June 02, 2024

कोलम्बो– श्रीलङ्काको विपद् व्यवस्थापन केन्द्र (डीएमसी) ले राजधानी कोलम्बोको बाहिरी क्षेत्र र टापुका अन्य केही क्षेत्रमा आइतबार भारी वर्षाका कारण ठूलो बाढीको चेतावनी जारी गरेको छ ।

सिंचाइ विभागका अनुसार आइतबार बिहानैदेखि परेको भारी वर्षाका कारण कोलम्बोको बाहिरी इलाकामा रहेको प्रमुख केलानी नदी र श्रीलङ्काको दक्षिणमा रहेको जिन नदीमा पानीको सतह उच्च तहसम्म पुगेको छ । डीएमसीले तल्लो क्षेत्रमा बसोबास गर्ने परिवारलाई उच्च स्थानमा जान सल्लाह दिएको जनाएको छ ।

मौसम विज्ञान विभागले आइतबार जारी गरेको पछिल्लो मौसम चेतावनीमा पश्चिमी र दक्षिणी प्रान्तमा १५० मिलिमिटरभन्दा बढी वर्षाको सम्भावना रहेको र सर्वसाधारणलाई घरभित्रै बस्न चेतावनी दिइएको छ ।

डीएमसीका अनुसार बाढी प्रभावित क्षेत्रमा खोजी तथा उद्धार कार्य आवश्यक परेमा सतर्क रहन पनि सुरक्षाकर्मीलाई अनुरोध गरिएको छ ।

थप वर्षाको सम्भावना रहेको भन्दै शिक्षा मन्त्रालयले सोमबार देशभरका सबै सरकारी विद्यालय बन्द हुने जनाएको छ ।