एकै दिन चार स्वर्ण जितेका अमेरिकी खेलाडी । तस्बरः ओलम्पिक

खेलकुद

ओलम्पिक प्रतिस्पर्धामा अमेरिकी प्रभाव

By मनोज घिमिरे

August 02, 2024

पेरिस ओलम्पिकमा करिब एक साता बित्न लागेपछि अमेरिकी टोलीले केही प्रभाव देखाएको छ। थुप्रै स्पर्धामा स्वर्ण पदकको नजिक रहेर पनि झिनो अन्तरले रजतमा चित्त बुझाएको अमेरिका बिहीबार भने तालिकाको दोस्रो स्थानमा उक्लेको छ।

बिहीबार बिहान र साँझ समेत गरी थप दुई स्वर्ण पदक जितेको चीनले ११ स्वर्ण पदकसहित अग्रतालाई कायम राखेको छ। तर पछिल्लो समय तीन स्वर्ण थप्दै अमेरिकाले एक दिनमा चार स्वर्ण पदक जितेको हो। बिहानको सत्रमा नै अमेरिकाले एक स्वर्ण पदक जितेको थियो। अमेरिकाकाको कुल स्वर्ण पदक सङ्ख्या ९ हो।

सुटिङको ५० मिटर थ्री पोजीसन पुरुष पिस्तोलमा चीनका ली युकिनले स्वर्ण पदक जिते। सो स्पर्धामा युक्रेनका सेरिइ कुलुसले रजत तथा भारतका स्वप्निल कुसालले कास्य पदक जिते। एथलेटिक्सको २० किलोमिटर महिला हिँडाइमा चीनकी वाङ जीयाउले स्वर्ण, स्पेनकी मारिया पेरेजले रजत तथा अस्ट्रेलियाकी जेमिना मोटाजले कास्य पदक जिते।

पुरुषतर्फ इक्वेडरका ब्रायन डायिनलले स्वर्ण पदक जिते भने ब्राजिलका काइयो बाफिमले रजत तथा स्पेनका अल्भारो मार्टिनले कास्य पदक जिते।

रोइङको महिला डबल स्क्रल्समा न्युजिल्यान्डले स्वर्ण, रोमानियाले रजत तथा बेलायतले कास्य पदक जिते। रोइङ पुरुष डबल स्क्रल्समा रोमानियाले स्वर्ण, नेदरल्यान्ड्सले रजत तथा आयरल्यान्डले कास्य पदक जिते। रोइङको महिला फोर स्क्रल्समा नेदरल्यान्ड्सले स्वर्ण, बेलायतले रजत तथा न्युजिल्यान्डले कास्य पदक जिते।

पुरुषको फोर फाइनलमा अमेरिकाले स्वर्ण, न्युजिल्यान्डले रजत तथा बेलायतले कास्य पदक जिते।

जुडोको पुरुष १०० किलो तौल समूहमा अजरबैजानका जेलन कोटसयभले स्वर्ण पदक जिते। सो स्पर्धामा जर्जियाका इला सुला मानिड्जेले रजत जिते भने उज्बेकिस्तानका मुजाफारेक टुरुमोरेभ र इजरायलका पिटर पिटर पाल्टीचले कास्य पदक जिते। महिला ७८ किलोमा इटालीकी एलाइस बेलान्डीले स्वर्ण, इजरायलकी इलबार लानिरले रजत तथा पोर्चुगलकी पाटुसिया साम्पायो र चीनकी मा झेन्झोले कास्य पदक जिते।

पुरुष कायाक एकलमा इटालीका जयोभानी डे जनारियोले स्वर्ण, टाटियोन कास्ट्रारिकले रजत र स्पेनका पाउलका इचानिजले कास्य पदक जिते।

आठ वर्ष अघि रियो ओलम्पिककी स्वर्ण पदक विजेता सिमोन बाइल्सले ८ वर्षपछि फेरि जिम्न्यास्टिकको महिला अलराउण्डको स्वर्ण पदक जितिन्। विश्व जिम्न्यास्टिकको सर्वकालीन उत्कृष्ट खेलाडी बाइल्सको उदय सन् २०१३ मा भएको थियो। सन् २०२० सम्म अलराउण्ड लगायत अन्य केही इभेन्टमा एक छत्र राज गरेकी बाइल्सले टोकियो ओलम्पिकको सुरुवातमा मानसिक समस्या देखाउँदै खेल त्यागेकी थिइन्। रियोमा उनले चार स्वर्ण पदक जितेकी थिइन्।

टोकियोमा बाइल्सको अनुपस्थितिमा हनोङ समुदायको आप्रवासीकी छोरी सुनी लीले अमेरिकालाई स्वर्ण पदक दिलाएकी थिइन्। ली यस पटक कास्य पदकमा सीमित भइन्। ली पनि दुई वर्ष चोटका कारण बाहिरिएर यसै वर्ष खेलमा फर्किएकी हुन्। टोकियो ओलम्पिककी रजत पदक विजेता ब्राजिलकी रेकेबा अन्ड्राइडले लगातार दोस्रो संस्करणमा रजत पदक जितिन्।

अन इभनबार अनावश्यक गल्ती गरेपछि बाइल्स दोस्रो रुटिनमा अन्ड्राइड भन्दा पछि परेकी थिइन्। सबै भन्दा कठिन रटिन भल्टलाई बाइल्सले सुरुवातमा रोजेर अग्रता कायम गरेकी थिइन्। तेस्रो रुटिन सकिँदा उनले १४.५६६ स्कोर गर्दै अग्रता लिएकी हुन्। महिला अलराउण्डको फाइनलमा दुई पूर्व विजेता एकै पटक खेलेको यो पहिलो पटक हो। बाइल्स सन् २०१६ को च्याम्पियन हुन् भने ली गत ओलम्पिकको च्याम्पियन। उनले विश्व च्याम्पियनसिप र ओलम्पिकमा समेत गरी कुल ३९ पदक जितेकी छन्। प्रतियोगितामा बाँकी रहेका फ्लोर, बिम र भल्टमा उनले सहभागिता जनाएकी छिन्।

पौडीको २ सय मिटर बटरफ्लाईमा क्यानडाकी समर म्याकन्टसले स्वर्ण पदक जितिन्। सो स्पर्धाका अमेरिकाकी रेगन स्मिथ रजत पदकमा सीमित भइन्। चीनकी झाङ युफाइले कास्य पदक जितिन्।

पौडीको पुरुष दुई सय मिटर ब्याकस्ट्रोकमा हंगेरीका हुबर्ट कोसले स्वर्ण, ग्रिसका एपसटोलस क्रिस्चेउले रजत तथा स्विट्जरल्यान्डका रोमन मिटुयाकोभले कास्य पदक जिते।

महिलाको दुई सय मिटर ब्याकस्ट्रोकमा अमेरिकाकी केटी डगलसले स्वर्ण, दक्षिण अफ्रिकाकी टाटजना स्मिथले रजत तथा नेदरल्यान्ड्सकी टने साउथेनले कास्य पदक जिते। पौडीको महिला चार गुणा दुई सय मिटर फ्रिस्टाइलमा अस्ट्रेलियाले स्वर्ण, अमेरिकाले रजत तथा चीनले कास्य पदक जिते।

फेन्सिङको महिला फोइल टिम इभेन्टमा इटालीलाई हराउँदै अमेरिकाले स्वर्ण पदक जितेको छ। अमेरिकी फेन्सर वेल केइफरले लगातार दुई संस्करणमा एकलका साथै टिममै स्वर्ण पदक जितेर नयाँ कीर्तिमान कायम गरेकी छिन्। सो स्पर्धामा जापानले कास्य पदक जितेका छ।

अमेरिका सातौँ स्थानबाट दोस्रोमा उक्लेपछि फ्रान्स तेस्रो स्थानमा रहेको छ। समान ८ स्वर्ण जितेको फ्रान्स तेस्रो तथा अस्ट्रेलिया चौथो स्थानमा छन्। दुई दिनसम्म अग्रता कायम गरेको जापान ८ स्वर्ण पदकसहित नै पाँचौँ स्थानमा छ। ६ स्वर्ण पदक रहेको बेलायत छैटौँ तथा त्यसै बराबर स्वर्ण पदक जितेको दक्षिण कोरिया सातौँ स्थानमा छन्।

बेलायती टेनिस स्टार एन्डी मुर्रेको खेलाडी जीवन अन्त्य भएको छ। युगल तर्फको क्वाटरफाइनल खेलमा मुर्रे डान इभान्सको जोडी तेस्रो वरीयताको अमेरिकी टेलर फ्रिज र टमी पउलसँग पराजित भएको हो।

रोनाल्ड ग्यारोस टेनिस कोर्टमा उपस्थित भएका हजारौँ जनाले उनलाई अभिवादन गरेका थिए। सन् २००५ मा टिनएजकै समयमा व्यावसायिक टेनिस खेल्न थालेका मुर्रेले ३ ग्रान्डस्लाम जितेका छन्। उनी विश्व वरीयता क्रमको शीर्ष स्थानमा पुगीसकेका छन्।

टेनिसमा अर्को अप्रत्याशित नतिजा देखिएको छ । शीर्ष वरीयताकी इगा स्वातेक सेमिफाइनलमा चिनिया झेङ वेनवेनसँग पराजित भएकी छिन्। स्वेतेकको रोनाल्ड ग्यारोसमा सन् २०२१ पछि यो पहिलो हार हो। स्रोतः ओलम्पिक, बिबिसी, सिएनएन