समाचार

जापानमा कामको अवसर, भाषा र सीप परीक्षण नोभेम्बरमा

By खबरहब

August 02, 2024

काठमाडौं– जापानमा भवन सरसफाइ तथा व्यवस्थापनको काममा जान चाहने नेपाली कामदारको भाषा र सीप परीक्षण नोभेम्बरको २७ देखि ८ भित्र हुने भएको छ ।

जापानको (एसएसडब्लू) प्रणालीमार्फत जान चाहने कामदारको परीक्षाका लागि तयारीको अवस्था बुझ्न नेपाल आएको टोलीले वैदेशिक रोजगार विभागका महानिर्देशक डण्डुराज घिमिरेसँग छलफल गर्दै परीक्षाबारे जानकारी गराएको हो ।

जापानमा कामदार पठाउन नेपाल सरकारसँग भएको सम्झौता र कार्यविधिका आधारमा दक्ष जनशक्तिलाई जापान पठाउन लागिएको विभागका महानिर्देशक घिमिरेले बताए ।

छलफलका क्रममा भाषा र सीप परीक्षणका लागि भइरहेको तयारीबारे कुराकानी भएको उनले बताए । उनले जापानमा एउटै कम्पनीमार्फत ३० हजार कामदार लैजान जापानी टोली इच्छुक देखिएको जानकारी दिए ।

भवन सरसफाइ तथा व्यवस्थापनको काममा पहिलो पटक जापानले नेपाली कामदार लैजान लागेको हो । परीक्षाको सम्पूर्ण काम काठमाडौंस्थित पीएनटी ट्रेनिङले व्यवस्थापन गर्ने जापानी टोलीले जनाएको छ।