समाचार

प्रधानमन्त्री ओलीको निर्देशन- त्रिभुवन विमानस्थलसँगैको इन्धन भण्डार अन्यत्र सार्नू

By खबरहब

August 02, 2024

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विमानस्थलसँगै रहेको नेपाल आयल निगमको इन्धन भण्डार स्थानान्तरण गर्न निर्देशन दिएका छन् ।

शुक्रबार ऊर्जा, जलस्रोत तथा सिँचाई राज्यमन्त्री पूर्णबहादुर तामाङसहित तीनजना राज्य मन्त्रीहरूलाई पद तथा गोपनीयताको सपथ दिलाएपछि ओलीले यस्तो निर्देशन दिएका हुन् ।

राज्यमन्त्री तामाङले सपथ लिइसकेपछि सिंहदरबारमा उपस्थित ऊर्जामन्त्री दीपक खड्कासमेतलाई ओलीले विमानस्थलसँगकै इन्धन भण्डार सार्ने तयारी थाल्न भनेका हुन् ।

‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिक रहेको इन्धन भण्डारले खतरा हुने भएकोले अन्यत्र स्थानान्तरण गर्न पनि सम्बन्धित मन्त्री र राज्यमन्त्रीलाई प्रधानमन्त्रीले निर्देशन दिनु भएको छ’, ओलीको सचिवालयले भनेको छ ।

गत ९ साउनमा पोखराका लागि उडेको सौर्य एयरलाइन्सको जहाज पेप्सीकोलातिरको क्षेत्रमा खसेर दुर्घटना भएको थियो ।

यसअघि २० फागुन ०७१ मा टर्किस एयरलाइन्सको जहाज त्रिभुवन विमानस्थलमा दुर्घटनामा परेको थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्रै भएको टर्किसको एयरबस ३३०–३०० विमान दुर्घटनामा मानवीय क्षति भएको थिएन। तर उक्त जहाज विमानस्थलनजिकैको इन्धन भण्डार क्षेत्रमा दुर्घटनामा परेको थियो ।

लगातार जहाज दुर्घटना हुन थालेपछि विमानस्थलनजिक र सिनामंगलस्थित ठूलो बस्ती नजिकैको इन्धन भण्डार खतरा बन्दै गएको भन्दै सार्न सरकारलाई दबाब परिरहेको छ ।