समाचार

पोखरा उडेको बुद्धको जहाजलाई समस्या आएपछि काठमाडौं फर्काइयो

By खबरहब

August 02, 2024

काठमाडौं- काठमाडौंबाट पोखरा विमानस्थलका लागि शुक्रबार उडेको बुद्ध एयरको जहाजमा प्राविधिक समस्या आएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको उक्त विमानको इन्डिकेटरमा समस्या आएपछि पाइलटले काठमाडौंमै ल्याएर अवतरण गराएका छन् ।

बुद्ध एयरले नै शुक्रबार यो खबरको पुष्टि गर्दै सामाजिक सञ्जालमा विवरण दिएको छ । कम्पनीका अनुसार उडान नम्बर ६५५ जहाजमा प्राविधिक समस्या आएको हो ।

लगत्तै काठमाडौँ फर्काउने निर्णय गरिएको थियो । उक्त जहाज त्रिभुवन विमानस्थल छाड्नेबित्तिकै उपत्यकाबाट नबाहिरिई काठमाडौंकै आकाशमा तीन फन्का लगाएर घुमेको थियो ।

पोखरा उडेको जहाज प्राविधिक समस्याले काठमाडौं अवतरण गरेपछि अहिले मर्मतको काम भइरहेको छ ।

कम्पनीले अर्को जहाजमार्फत यात्रुलाई पोखरा विमानस्थलमा अवतरण गराएको छ । उता शक्रबार नै तीव्र गतिको हावाका कारण जनकपुरको उडान रद्द गर्नुपरेको बुद्धले जनाएको छ।