देश/प्रदेश

कक्षा १२ को मौका परीक्षा भदौ २५ र २६ गते हुने

By खबरहब

August 02, 2024

काठमाडौं – कक्षा १२ ग्रेड वृद्धि (मौका परीक्षा) आगामी भदौ २५ र २६ गते सञ्चालन हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले पूरक परीक्षाको लागि आवेदन फारम भर्न आह्वान गरेको छ ।

बोर्डले शुक्रबार सार्वजनिक गरेको नतिजामा ४७.०९ प्रतिशत विद्यार्थी नन ग्रेडेड अर्थात अनुत्तीर्ण भएका छन् । भने नियमिततर्फ ५२.९१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् अर्थात ग्रेडेड भएका छन् ।

दुई विषयमा नन ग्रेडेड आएका विद्यार्थीहरूले मौका परीक्षामा सहभागिता जनाउन पाउने छन् । बोर्डका अनुसार सैद्धान्तिकतर्फ न्यूनतम डी वा सोभन्दा माथिल्लो ग्रेड आएका वा दुई विषयमा अनुपस्थित भएका विद्यार्थी पनि परीक्षामा सहभागी हुन पाउने छ ।

गत वैशाख १४ गतेबाट सञ्चालित कक्षा १२ को परीक्षामा ४ लाख ९१ हजार ४९७ विद्यार्थी सहभागी थिए । ३ लाख ९० हजार परीक्षार्थी थिए । ७७ वटै जिल्ला र जापानको एकसमेत गरी १ हजार ५२६ केन्द्रमा परीक्षा सञ्चालन भएको थियो ।