विराटनगर – पाको शरीर, चाउरिएको अनुहार, त्यसमाथि रोग र शोकले थलिएको बेचैन मन। यी हुन् शहिद पदम लिम्बु (लाजेहाङ)की आमा धनमाया लिम्बु।
उनले दुई वर्षयताको दिनचर्या रोएर बिताएकी छन् । नरोउन् पनि किन ? ७१ वर्षको उमेरमा ४३ वर्षे एक्लो छोरो गुमाएको २ वर्ष बित्न लागेको छ।
कोशी प्रदेश नामकरणविरुद्धको आन्दोलनमा मारिएका पदम लिम्बूकी आमा धनमायाले जीवनको उत्तरार्द्धमा सहारा गुमाएकी छिन्। छोरो गुमाएको १७ महिना भइसक्यो तर धनमाया अझै सम्हालिन सकेकी छैनन्।
सरकारले छोरालाई शहीद घोषणा गरेपछि उनले शहीदको आमाको उपनाम पाएकी छिन्। तर त्यो उपमाभन्दा पनि उनलाई एक मात्र छोरो गुमाउनुको पीडाले सधैँ पिरोल्ने गरेको छ। छोरोको निधनपछि रोग र शोकमा धनमाया थलिएको पनि एक वर्ष बढी भइसकेको छ। त्यससँगै अभावसँग पनि जुध्नुपरेको छ।
‘भन्न त सबैले ‘शहीदकी आमा’ भन्छन्, शहीद भएर के भयो त ? जाने त गइहालल्यो। गएको मान्छे अब आउँदैन।’ आँसुले डम्म भएका आँखा पुछ्दै उनले भनिन्।
कोशी प्रदेश नामकरणविरुद्ध ५ चैत ०७९ मा विराटनगरमा भएको आन्दोलनका क्रममा मोरङ बेलबारी नगरपालिका-२ लालभित्ती कबिर टोलका पदम लिम्बु (लाजेहाङ) घाइते भए।
टाउकोमा चोट लागेका कारण धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुर्याइएको थियो। उपचारकै क्रममा पाँच दिनपछि १० गते लाजेहाङको निधन भएको थियो। संघ र प्रदेश सरकारले दिएको रकममा थप गरी करिब ३० लाखमा बेलबारीस्थित ऐलानी जग्गामा पाँच कोठाको नयाँ घर बनेको छ।
घर अगाडिको प्रवेशद्वारको माथिल्लो भाग ठूला अक्षरले लेखिएको छ, ‘लिम्बुवान शहीद लाजेहाङ पदम लिम्बु निवास’। धनमाया भने त्यही घरको ढोकाकै छेउमा पल्टिरहेकी छिन्।
घरी पेट, घरी टाउको सुमसुम्याइरहेकी उनका आँखा ओभानो हुन मानेकै छैनन्। रुँदै, हत्केलाले आँसु पुछ्दै, अवरुद्ध गला सफा गर्दै उनी छोरो गुमाउनुको पीडा पोख्ने प्रयास गर्छिन्। ‘नाम कमाएर मर्यो भन्छन, तर मलाई कत्ति पनि चित्त बुझ्दैन। नाम कमाए पनि जे गरे पनि मेरो छोरो अब आउँदैन,’ उनी भक्कानिइन्।
छोराको अप्रत्यासित निधनपछि सरकार र दाताको सहयोगमा बनाएको नयाँ घरमा धनमाया (पदमको छोरा)नातिको साथमा बस्दै आएकी छन्। धनमायामा एक वर्षदेखि पेटको समस्या देखिएको छ।
नियमित उचार गराइरहेकी धनमायालाई औषधि किन्ने पैसासमेत अभाव छ। त्यसँसँगै नातिलाई पढाउने जिम्मा उनकै काँधमा आइसकेको छ। नाति विश्वहाङ (१८) १२ कक्षाको परीक्षा दिएर बसेका छन्। लाजेहाङको निधनका बेला सरकारले आफूहरूसँग गरेको सहमति कार्यान्वयन नगरेपछि धनमाया थप पीडामा छिन्।
केन्द्र सरकारले लाजेहाङलाई शहीद घोषण गरेपछि प्रदेश सरकारले लाजेहाङको समाधिस्थल बनाइदिने भनेको थियो । उनको शालिक निर्माण गर्ने सहमति पनि भएको थियो । त्यससँगै लाजेहाङको छोरा विश्वहाङको सम्पूर्ण पढाइ खर्च सरकारले व्यहोर्ने जिम्मा लिएको थियो।
तर दुई वर्ष बित्न लाग्दा पनि छोराको समाधिस्थल निर्माण हुन सकेको छैन। नत लाजेहाङको शालिक बनेको छ। सबै कुरा अधुरो हुँदा उनलाई पटक्कै चित्त बुझेको छैन।
सरकारले नातिको पढाइको व्यवस्थाको जिम्मा नलिएपछि विश्वहाङको पठाइ खर्च जुटाउने जिम्मेवारी पनि उनको काँधमा थपिएको छ।
धनमाया भन्छिन्, ‘सरकार नागरिकको अभिभावक हो भन्छन्। तर त्यस्तो होइन रहेछ, सहमति पनि बिर्सिने रोग सरकारमा हुँदो रहेछ। सरकारले प्रतिबद्धता भुलेको देख्दा पीडा महसुस हुनेरहेछ। मेरो त रोग र शोकले ज्यान खायो, अब त अभाव र छटपटी पनि थपियो।’
उनलाई आफू लामो समयदेखि रोगले थलिएकाले कुन् बेला के हुने हो भन्ने चिन्ता लागिरहन्छ। आफ्नो ज्यान सग्लो हुँदै छोराको स्माधिस्थल र शालिक बनेको हेर्ने मन भएको उनी बताउँछिन्।
धनमायालाई अहिले आफनो उपचार कसरी गराउने ? १२ परीक्षा दिएर बसेका नाति विश्वहाङलाई अब कहाँ, कसरी पढाउने ? घरको दैनिक खर्च कसरी थेग्ने ? समस्याका चाङ छन्।
जेठी छोरी पवित्राका अनुसार धनमाया आफैं रोगी छिन्। लामो समयदेखि उच्च रक्तचाप र मधुमेहको औषधि खाइरहेकी छन्। उनको कलेजोमा पनि समस्या देखिएको छ। भन्छिन्, दाइको निधनपछि आमालाई पेटको समस्या पनि थपिएको छ।’
आठ महिनाअघि टाउकोमा पानी जमेपछि एक महिना धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखेर अपरेशन गरिएको थियो। हरेक महिना उपचार गराउन अस्पताल जानुपर्ने भए पनि पछिल्लो समय तालिका बिग्रिएको पवित्राले बताइन्।
‘आमा र भदा मात्रै छन् अहिले। आमा अस्पताल जाने मन गर्नुहुन्न,’ उनले भनिन्, ‘पैसाको पनि अभाव हो। म पनि कमाउँदिनँ। घरमा कमाउने कोही नहुँदा अप्ठ्यारो छ।’
लामो समयदेखि विभिन्न रोगका कारण थलिएकी धनमायालाई समस्या पर्दा बेला बखत छिमेकीले पनि रेखदेख गर्दै आएका छन्। छोरी पनि विवाह गरेर धरानमा रहेपछि एक्लो बनेकी धनमायाको दुःखमा छिमेकीले साथ दिँदै आएका छन्।
स्थानीय शोभा श्रेष्ठका अनुसार धनमाया प्राय दिनभर घरमा एक्लै हुन्छिन्। छोराको निधनपछि बिरामी भएर निकै थलिएकी धनमाया गाँउघर हिँडडुल गर्न पनि नसक्ने अवस्थामा पुगेकी छिन्। धनमायाको दिनचर्या छोराको यादमा आँसुको भेलमा डुब्ने गरेको छ। बिरामी शरीर त्यसमाथि शोक र पीडाले उनी थप थलिएको श्रेष्ठको भनाइ छ।
छिमेकी शोभाले भनिन्, ‘एउटा शहीदको जन्मसँगै एउटी आमाको आशाको टुकी निभेको छ। धेरै ठूला सपना थिएनन्। दुःखले हुर्काएको छोराले बुढेसकालमा सहारा दिन्छ भन्ने आश मात्रै थियो। त्यो पनि उनका लागि सकियो।’
उनीसँग फगत पीडा छ। आफू बाँचेको जिन्दगीको सम्झना, गरेको संघर्ष, भोगेको भुक्तमान, पूरा नभएका अधुरा सपना छन्। २०३७ सालमा पहिलो सन्तानका रूपमा उनले पदमलाई जन्माएकी थिइन्।
तेह्रथुम मेयङलुङ नगरपालिकाका छत्रबहादुर लिम्बुसँग विवाह भएको थियो। पदम जन्मेको दुई वर्षपछि २०३९ सालमा उनीहरू धरान झरेका थिए। तर, धरान आएको वर्षदिन नहुँदै धनमाया र छत्रबहादुरको मन मिलेन। उनीहरू अलग बस्न थाले। छत्रबहादुरले विवाह गरेर काठमाडौंमा नयाँ घरजम गरेका थिए। त्यसपछिका दिन उनले छोरा हुर्काउन विराटचोकका पसलमा सामान मिलाउनेदेखि सरसफाइसम्मका काम गरेकी थिइन्।
एक्लो छोरा पदमलाई हुर्काउने, पढाउने सबै जिम्मेवारी धनमायाको काँधमा आइपर्यो । उनले निकै दुःख गरेर छोरालाई हुर्किएकी थिइन्। ती पल अहिले पनि धनमायाको मानसपटलमा ताजै छन्।
‘सिलाइबुनाइको काम, पोते, सलहरू बनाउने काम गरेर पालेकी थिएँ,’ बिगतका ती दिन स्मरण गर्दै धनमाया भन्छिन्, ‘एक्ली आमा भएर छोराछोरी हुर्काउन जति गाह्रो कसैलाई हुँदैन। मैले सक्ने जति दुःख गरेर हुर्काएँ।’
त्यसबेला अरुको पसलमा काम गरेर बचाएको पाँच हजार रुपैयाँले बेलबारी–२ लालभित्तीमा २०४६ सालमा ऐलानी जग्गामा रहेको घर किनेकी थिइन्। पहिला पानी पर्दा चुहिने जीर्ण घर थियो।
पदमको धेरैजस्तो बसाइ धरानमा हुने गरेको थियो। बेला बखत घर जाँदा आमालाई छिट्टै नयाँ घर बनाउने बाचा गरेका थिए। उनको निधनपछि त्यही स्थानमा सरकारी सहयोगमा पक्की घर बनाइएको छ ।
लाजेहाङको राजनीतिक यात्रा
२०६२/६३ सालको परिवर्तनपछि पहिचानको मुद्दा नेपाली राजनीतिमा जबर्जस्त स्थापित भयो। देशैभर पहिचानवादी मुद्दा बोकेका दलहरू खुल्न थाले।
जातीय पहिचानका निम्ति विभिन्न संगठन आए । तीमध्ये एक थियो, कुमार लिङ्देन नेतृत्वको ‘संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च।’ उनी त्यही मञ्चमार्फत पहिचानको राजनीतिमा सक्रिय थिए।
अध्यक्ष लिङ्देन अनुसार २०६३ सालमा पदमले मञ्चको युवा संगठन ‘लिम्बुवान स्वंयसेवक’ को सदस्य भएर पहिलो पटक पार्टीको सदस्यता लिएका थिए। यो उनको जीवनको राजनीतिक मोड थियो।
त्यही वर्ष उनी लिम्बुवान स्वयंसेवकको इन्चार्ज पनि भए। २०६६ सालपछि उनी पार्टीका जिल्ला कमान्डर भए। त्यसपछि संघीय लिम्बुवान मञ्च, लिम्बुवान स्वयंसेवकका सह-कमान्डर तथा अनुशासन विभाग प्रमुख भए। उनले २०७४ को चुनावमा मोरङ १ बाट प्रतिनिधि सभा सदस्यमा खुकुरी चुनाव चिह्न लिएर उम्मेदवारी दिएका थिए।
पूर्णकालीन राजनीतिमा आउने सोचका साथ पदमले सम्पूर्ण समय पार्टीलाई दिने गरेको संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष लिङ्देन बताउँछन् । ‘आन्दोलनको सबै जिम्मेवारी सम्हाल्ने र हिंसाबाट टाढै रहनुपर्छ भनेर सबैलाई सम्झाउने व्यक्ति थिए पदम,’ लिङ्देनले सुनाए ।
त्यहीक्रममा क्रममा गत फागुन १७ मा कोशी प्रदेशको नामकरण भएसँगै संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च आन्दोलनमा उत्रियो। त्यही आन्दोलनमा पदम शहीद हुन पुगे।
शालिक बनाउने सुरै छैन
कोशी नामाकरणविरुद्ध आन्दोलनरत पहिचान पक्षधरले शहीद लाजेहाङ स्मृति प्रतिष्ठान बनाउने तयारी थियो। प्रतिष्ठानमार्फत लाजेहाङको समाधिस्थल बनाउने र शालिक ठड्याउने विषयमा प्रदेश सरकारले सहयोग गर्ने मौखित सहमति भएको थियो।
पहिचान पक्षधरतर्फबाट प्रतिष्ठान बनाउने कुराले खासै अहिलेसम्म सार्थता पाउन सकेको छैन। प्रदेश नम्बर १ पुन नामाकरण संयुक्त संघर्ष समितिको सचिवालयको एक घटक ‘संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बुवान प्रान्तीय मंच नेपालका अध्यक्ष कुमार लिङ्देनले प्रतिष्ठान बनाउने विषयमा विलम्ब भएको स्वीकार्छन्। उनले सहमति कार्यान्वय गर्न सरकारलाई कुनै समस्या नरहेको बताएका छन्।
‘हामी शहीद लाजेहाङ स्मृति प्रतिष्ठान बनाउने अन्तिम चरणमा पुगेका थियौं’, लिङ्देन भन्छन्,‘प्रतिष्ठानको सदस्यका लागि पनि सरकारले हालै राष्ट्रिय परिचय पत्र अनिवार्य गरेको छ। त्यहीकारण प्रतिष्ठान गठन गर्न विलम्ब भयो। केहि दिनपछि नै प्रतिष्ठान गठन टुंगिन्छ।’
सरकारले गर्ने भनेको सहयोग प्रतिष्ठानको अभावमा नरोकिने दाबी उनलेगरे। प्रदेश नम्बर १ पुन नामाकरण संयुक्त संघर्ष समितिको तर्फबाट पनि शहीद लाजेहाङको स्मृति प्रष्ठिान गठन गरेर उनको स्मारक बनाउने योजना रहेको उनले सुनाए।